रेलमार्गबाट आएको कोइला एक महिनादेखि ड्राइपोर्टमै थुप्रियो, सन्दर्भ मूल्य सच्याउन व्यवसायीको माग

बिजमाण्डू
२०८० साउन १७ गते ०९:३८ | Aug 2, 2023
रेलमार्गबाट आएको कोइला एक महिनादेखि ड्राइपोर्टमै थुप्रियो, सन्दर्भ मूल्य सच्याउन व्यवसायीको माग


वीरगंज। वीरगंज-२५ स्थित सिर्सिया सुक्खा बन्दरगाह कार्यालयमा एक महिनादेखि थुप्रिएको एक र्‍याक कोइलाको जाँचपास भएको छैन ।

Tata
GBIME
NLIC

भारतको झारखण्ड, धनबादबाट नेपालको लतिका कमोडिटी सप्लायर्स प्रालिले गत असार १६ गते भित्र्याएको ३ हजार ६५० टन कोइला जाँचपास नभएर लुज कार्गो यार्डमा थन्किएको छ। सन्दर्भ मूल्यमा विवाद हुँदा आयातकर्ताले उक्त मालको जाँचपास गराएको छैन।

आर्थिक मन्दीको कारण अन्तर्राष्ट्रिय बजारमा कोइलाको भाउ घट्दै गएर अहिले प्रतिटन आठ हजार भारुको हाराहारीमा पुगेको छ। तर भन्सार विभागले जारी गरेको सन्दर्भ मूल्य पुस्तिकामा कोइलाको मूल्य प्रतिकिलो १२ भारुभन्दा घटीमा जाँचपास गर्न नमिल्ने भएकोले आयातकर्ताले जाँचपास गराउनुभन्दा सन्दर्भ मूल्यसूची संशोधनको लागि माथिल्लो निकायमा पहल गरिरहेको बुझिएको छ।

लतिका कमोडिटी सप्लायर्स प्रालिका सञ्‍चालक निश्‍चल लालवानीका अनुसार भारु ८ हजार १०० प्रतिमेट्रिक टनमा खरीद गरेको कोइला प्रतिटन भारु १२ हजारको दरमा मूल्यांकन गराइ पाँच प्रतिशत भन्सार महसूल र १३ प्रतिशत मूल्यअभिवृद्धिकर जोड्दा कम्पनीलाई एउटा र्‍याकमा करिब नेरु १ करोड ५ लाख ९० हजार (भारु ६६ लाख १८ हजार ८७०) घाटा पर्छ। त्यसैले आफूहरुले मूल्य संशोधनको लागि भन्सार विभागका अधिकारीसँग आग्रह गरेको उनले बताए।

२ करोड ९५ लाखको कोइला जाँचपासको लागि झन्डै एक करोड अधिक रकम तिर्नुपर्दा धेरै नै घाटा झेल्नुपर्ने भएपछि मूल्य संशोधनको अपिल गरेको उनको भनाइ छ।

भन्सार विभागले समय-समयमा अन्तर्राष्ट्रिय बजारमा सामानको मूल्य थपघट भइरहेको आधारमा जाँचपास गर्न भन्सार विभागका महानिर्देशकको अध्यक्षतामा मूल्यांकन समिति बनाएको छ। समितिले बैठक राखी सन्दर्भ मूल्यको विषयमा थपघट गर्न सक्छ तर केही महिनादेखि मूल्यांकन समितिको बैठक बसेको छैन। जसले गर्दा आठ महिनादेखि लगातार कोइलाको भाउ अन्तर्राष्ट्रिय बजारमा घटे तापनि पुरानै दरमा कोइला जाँचपास भइरहेको छ।

वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले सरकारको नीतिको कारण व्यवसायीहरूले दुःख र झन्झट खेप्‍नुपरेको बताए।

उनी भन्छन्, ‘आठ हजार प्रतिटनको दरमा खरीद गरेको कोइला १२ हजारको दरमा जाँचपास गराउँदा १ टनमा मोटामोटी भारु २ हजार २५१ थप कर तिर्नुपर्ने हुन्छ। थप करमा आयकर २५ प्रतिशत, थप भ्याट १३ प्रतिशत, थप आयकरमा जरिबाना गरी २ हजार २५१ पर्छ।’

अर्कोतिर भारु १२ हजार प्रतिमेट्रिक टनको दरमा जाँचपास गराउँदा नेपाली बजारमा कोइलाको भारु १४ हजार ५३४ मा बिक्री गर्नुपर्छ भने भारु ८ हजार एक सयमा जाँचपास गराउँदा भारु ९ हजार ९०७ पर्ने हुँदा कोइलाबाट उत्पादित वस्तुको मूल्य पनि कम पर्ने उनको विश्लेषण छ।

कोइला विशेषगरी सिमेन्टको कच्चा पदार्थ र इँटा पोल्नको लागि चिम्‍नीमा प्रयोग गरिन्छ । नेपालका व्यवसायीहरूले पहिले दक्षिण अफ्रिका, इन्डोनेसिया, रुसलगायतका देशबाट कोइला आयात गर्दै आएकामा हाल भारतीय कोइला सस्तो भएकोले भारतबाट आयात गरिरहेका छन्।

पहिले रक्सौल रेलवे यार्डमा मालगाडीबाट कोइला ल्याएर अनलोड गरेपछि टिप्परमा नेपाल ढुवानी गर्नुपर्ने बाध्यता थियो भने अहिले सोझै रेलमार्गबाट भारत तथा तेस्रो मुलुकबाट लुज कार्गो ल्याउन सकिने पूर्वाधार तयार भइसकेको छ। तर भन्सार नाकामा सन्दर्भ मूल्य विवादको कारण रेलमार्गबाट ड्राइपोर्ट नाकाबाट थप कोइला आयात गर्न व्यवसायीहरु ‘पर्ख र हेर’को अवस्थामा छन्। पहिलो लटको कोइला जाँचपास भएर उठेपछि अन्य आयातकर्ता माल मगाउने तयारीमा छन्।

ड्राइपोर्ट भन्सार कार्यालयका प्रमुख डा. रामप्रसाद मैनालीका अनुसार कोइला आयात गरेका व्यवसायीले घोषणा गर्न भन्सार कार्यालयमा नआएकाले जाँचपासमा ढिलाइ भएको हो। उनले व्यवसायीले खरीद गरेको बिलको आधारमा सन्दर्भ मूल्यको विषयमा निर्णय गर्न सकिने बताए।

सन्दर्भ मूल्य सच्याउन साउन महिनाको अन्तिम साता भन्सार विभागले गोष्ठी राखेको र त्यही बेला केही निर्णय आउन सक्ने उनले स्पष्ट गरे। रेलमार्गबाट कोइला नेपाल भित्र्याउँदा बाटोमा कोइला चोरी हुने र अन्य विलम्ब शुल्कको झन्झट खेप्‍नुपर्ने समस्याबाट नेपाली व्यवसायीले मुक्ति पाउने आशाका साथ लुज कार्गो ल्याउन सुरु गरिएपनि हालसम्म कोइला जाँचपास नहुनुले लुज कार्गो आयातमा अन्यौल बढेको भन्सार प्रमुख मैनालीको भनाइ छ।