२० लाख खर्च गरेर केन्द्रीय कमिटीको ५ दिने बैठकमा के-के गर्दै छ माओवादी ?

बिजमाण्डू
२०८० साउन १७ गते ०८:४४ | Aug 2, 2023
२० लाख खर्च गरेर केन्द्रीय कमिटीको ५ दिने बैठकमा के-के गर्दै छ माओवादी ?
फाइल फोटो।


काठमाडौं। नेकपा (माओवादी केन्द्र) को ५ दिने केन्द्रीय कमिटीको बैठक बुधबारदेखि सुरु हुँदैछ। राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्न लागेको हो।

Tata
GBIME

एक वर्षपछि बस्न लागेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा ७ सय भन्दा बढीको सहभागिता रहने पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदनमार्फत समकालीन नेपाली राजनीतिको व्याख्या पेस गर्ने भएका छन्। नेपाली मोडलको समाजवाद कस्तो हुन्छ भन्नेबारेमा प्रचण्डको प्रतिवेदन केन्द्रित रहेको उपाध्यायले बताए।

‘नेपाली मोडलको समाजवादबारेमा अध्यक्षको प्रतिवेदन आउँछ। संगठनात्मक कुराहरु पनि बैठकमा हुन्छन्,’ उनले भने।

अब हुने विधान सम्मेलनमा संगठनात्मक संरचना कस्तो हुने भन्नेबारे पनि बैठकले तय गर्ने भएको छ। यस्तै, माओवादी केन्द्रले अब आउने आम निर्वाचनलाई केन्द्रित गरेर मिसन २०८४ बारे पनि बैठकमा छलफल गर्ने बताइएको छ।

यसअघि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २०७९ असारमा बसेको थियो। केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनेले खान बस्‍न भने आफैँ व्यवस्थापन गर्नुपर्ने भएको छ। खाजा, पानी, स्टेशनरी लगायतका सामानको व्यवस्थापन भने पार्टीले नै गर्ने भएको छ।

बैठकमा सहभागी हुने केन्द्रीय सदस्यबाट ५ सय रुपैयाँ पनि पार्टीले उठाउने भएको छ। कार्यालय सचिव उपाध्यायले बैठकमा झण्डै २० लाख खर्च हुने अनुमान गरिएको बताए। सामाजिक सञ्‍जालमार्फत बैठक लाइभ गर्ने पनि माओवादी केन्द्रको तयारी छ।