फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयका रूपमा विकास गरिने, एक अर्ब लाग्ने अनुमान

बिजमाण्डू
२०८० साउन १६ गते १४:०० | Aug 1, 2023
फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयका रूपमा विकास गरिने, एक अर्ब लाग्ने अनुमान


काठमाडौं। पाँच सय किलोवाट क्षमताको नेपालकै पहिलो जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयका रूपमा विकास गरिने भएको छ। नेपाल विद्युत प्राधिकरणले फर्पिङ जलविद्युत केन्द्रलाई संग्रहालय बनाउने योजना अघि बढाएको हो।

Tata
GBIME
NLIC

प्राधिकरणले जलविद्युत संग्रहालय र पर्यटकीयस्थलका रुपमा विकास गर्न एनईए इन्जिनियरिङ कम्पनीलाई परामर्शदाताको जिम्मेवारी दिएर गुरुयोजना बनाइरहेको छ। काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित फर्पिङ जलविद्युत केन्द्रमा पुराना संरचनाको जीर्णोद्धारका साथै नयाँ संरचना निर्माण गर्ने योजना छ।

प्राधिकरणका अनुसार केन्द्रको जलाशय र विद्युतगृह क्षेत्रमा हरियाली पार्क, रेस्टुरेन्ट, जिप लाइन, पुस्तकालय, बालउद्यान, लगायत संरचनाहरु निर्माण गरिने छन्। पिकनिक स्पटका लागि पनि पूर्वाधार बनाइनेछन्। यी सबै कामका लागि करीब एक अर्ब रुपैयाँ लाग्ने अनुमान छ।

केन्द्रको स्वामित्वमा फर्पिङमा ३ सय २४ रोपनी जग्गा छ। पर्यटकीय संरचना निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युतगृह क्षेत्रको करीब १ सय ४६ रोपनी जग्गा प्रयोग गरिने छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऐतिहासिक महत्त्व बोकेको विद्युत् केन्द्रलाई संरक्षण गरी जलविद्युत् क्षेत्रका अध्येता, अनुसन्धानकर्ता तथा चासो राख्‍ने सबैलाई सन्दर्भस्थान र इतिहासलाई बुझ्ने बुझाउने ठाउँका रुपमा विकास गरिनुपर्ने बताए। उनले केन्द्रबाट स्थानीय बासिन्दाको आर्थिक विकासमा टेवा पुग्ने कार्यक्रमहरु कार्यान्वयनमा ल्याइनु पर्नेमा जोड दिए ।

ऊर्जा सचिव दीनेशकुमार घिमिरेले केन्द्रलाई जलविद्युत क्षेत्रको अध्ययन स्थल र त्यहाँ भएको प्राकृतिक सौन्दर्यलाई प्रयोग गर्दै सुन्दर पर्यटकीय स्थलको रुपमा विकास गरिनु पर्ने बताए।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा संग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीय स्थलको रुपमा विकासका कार्यहरु अगाडि बढाइने बताएका छन्।

फर्पिङ जलविद्युत केन्द्र १९६८ जेठ ९ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको थियो। तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्‍घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राजपरिवार, राणापरिवार लगायतलाई विद्युत् वितरण गरिएको थियो। राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो। करिब चार वर्ष लगाएर निर्माण गरिएको आयोजनाको लागत ७ लाख १३ हजार रुपैयाँ थियो।

केन्द्र २०३८ सालसम्म सञ्चालनमा थियो । तर त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युतगृह बन्द भएको थियो। मर्मतसम्भार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा चलाउन सकिने अवस्थामा राखिएको छ ।