
काठमाडौं। कोशीमा सत्ता गठबन्धन सभामुख बाबुराम गौतमलाई पदबाट राजीनामा गराउने तयारीमा लागेको छ। गौतम माओवादीबाट सांसद बनेका हुन्। यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले गौतमलाई पदबाट राजीनामा दिन भनिसकेको माओवादीले जनाएको छ।
त्यसैगरी मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापालाई अघि बढाउने कांग्रेस कोशी संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले बताए। ‘मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता उद्धव थापाले नै पाउनुपर्छ भन्ने हाम्रो दाबी हो,’ राईले भने, ‘सभामुखले राजीनामा दिएपछि बल्ल यो प्रक्रिया शुरु हुन्छ।’
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले साँझ ५ बजेसम्ममा संविधानको धारा १६८ को उपधारा(२) बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।
सभामुख गौतमको हस्ताक्षरसहित गठबन्धनबाट मुख्यमन्त्री बनेका थापाको नियुक्ति सर्वोच्चले बदर गरिदिएपछि सरकार बनाउन नयाँ प्रक्रिया शुरु भएको हो।
९३ सदस्यीय कोशी प्रदेशमा कांग्रेसका ४०, माओवादीबाट सभामुख बाबुराम गौतमसहित १३, एकीकृत समाजवादीबाट ४, जनता समाजवादी पार्टीबाट एक गरी ४७ जना छन्। यसैगरी एमालेसँग ४० र राप्रपासँग ६ सिट गरी अर्को गठबन्धनसँग ४६ सिट छ। कांग्रेस नेतृत्वको गठबन्धनले राप्रपालाई सरकारमा ल्याउने प्रयास गरे पनि त्यो सफल नभएको बताइएको छ।
अहिलेसम्म के भयो?
साउन १२ : प्रदेश प्रमुख परशुराम खापुङद्वारा साउन १६ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
साउन ११ : सर्वोच्च अदालतको पूर्ण इजलासबाट कोशी प्रदेशमा उद्धव थापाको मुख्यमन्त्री नियुक्ति बदर गर्दै सात दिनभित्र नयाँ सरकार गठन गर्न आदेश
असार २२ : कांग्रेस नेतृत्वको कोशी सरकारविरुद्ध एमालेद्वारा सर्वोच्च अदालतमा रिट निवेदन
असार २२ : सभामुख समेतको समर्थनमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन
असार १५ : नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारले बहुमत गुमायो
जेठ २३ : माओवादी सरकारबाट फिर्ता
जेठ १७ : जसपा सरकारबाट फिर्ता
पुस २४ : एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका एक सांसदको समर्थनमा हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त