
हेटौंडा। हेटौंडा उपमहानगरपालिका क्षेत्रसित जोडिएको पूर्व-पश्चिम राजमार्ग विस्तार सोमबारदेखि सुरु भएको छ। सडक डिभिजन कार्यालय हेटौंडाले जारी गरेको १५ दिने सूचनाको म्याद सकिएसँगै राजमार्ग विस्तारको काम अघि बढेको हो।
राजमार्गभित्र पर्ने हेटौंडा-१५ को वडा कार्यालयको पर्खाल हटाएसँगै सडक विस्तार थालिएको वडाध्यक्ष सुनिल मोक्तानले जानकारी दिए।
‘वडा कार्यालयको २५ मिटर जग्गा सडक क्षेत्रमा पर्ने भएपछि सडक विस्तार कार्यलाई सघाउन आवश्यक नापजाँच गरेर पर्खाल भत्काउन लगायौँ,’ उनले भने।
सडक विस्तारको काम पेचिलो बन्दै गइरहेका बेला उपमहानगरले केही साताअघि बजार क्षेत्रको सडकको दायाँबायाँ राखिएका विभिन्न फलफूलका बोटबिरुवा, गमला र फलामका रेलिङ हटाएको थियो। उपमहानगर प्रमुख मीनाकुमारी लामाले सडक विस्तारबाट हेटौंडाको सुन्दरता बढ्ने उल्लेख गर्दै उनले सो कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरिन्।
सडक डिभिजन कार्यालयका प्रमुख राजेश यादवले कार्यालयले घरटहरालगायतका संरचना हटाउन दिएको म्याद सकिएकाले सोमबारदेखि अदालतमा फर्छ्योट भएर आएका ३ सय ४० घरको सडकमा पर्ने जग्गा खाली गराइने उनले जानकारी दिए।