
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले संस्थापक सेयरधनीले सेयर बिक्रीमा भइरहेको कडाइ फुकाउन अर्थमन्त्रीसँग आग्रह गरेको छ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोलीले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई भेटेर भर्खरै भएको ब्यवस्थाका बारेमा चासो राखेको हो।
नेपाल धितोपत्र वोर्डबाट जारी भएको सूचीकृत सङ्गठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी (पहिलो संशोधन) निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा भएको ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको शेयर खरिद विक्री गर्न नपाउने’ व्यवस्थाप्रति चेम्बरले चासो राखेको हो।
कुनै व्यवसायीले आफ्नो चल सम्पति बिक्री गर्न नपाउने परिस्थितिमा उद्यमी व्यवसायीहरुको उद्योग, व्यवसायको विविधीकरण लगायत अति आवश्यक घरायसी कार्यमा समेत अवरोध आउने भएकोले व्यवसायीहरु अत्यन्त मर्कामा पर्न गएको जानकारी अर्थमन्त्रीलाई गराएका थिए।
नयाँ व्यवस्थाको सन्दर्भमा धितोपत्र वोर्डबाट जारी भएको निर्देशिकाको प्रावधानमा रहेको संचालकबाट हटेको एक वर्षसम्म बिक्री गर्न नपाउने गरी भएको व्यवस्थालाई संशोधन गरी जुनसुकै बखतमा पनि बिक्री गर्न पाउने व्यवस्था गर्न आग्रह गरेको छ।