मलेसियादेखि आइसल्याण्डसम्मका ट्‍वाइलेट पेपर र टिस्यू प्रयोग गर्छन् नेपाली, वर्ष दिनमै १६ करोड खर्च



बिजमाण्डू
२०८० साउन १४ गते १५:३१ | Jul 30, 2023
मलेसियादेखि आइसल्याण्डसम्मका ट्‍वाइलेट पेपर र टिस्यू प्रयोग गर्छन् नेपाली, वर्ष दिनमै १६ करोड खर्च

काठमाडौं। नेपालमा पछिल्ला दिनहरुमा ट्‍वाइलेट पेपर र टिस्यू पेपरको प्रयोग बढ्दै गएको छ। एक वर्षमा नेपालीहरुले १६ करोड बढीको ट्‍वाइलेट पेपर र टिस्यू पेपर प्रयोग गरेको पछिल्लो तथ्यांकले पनि यसलाई प्रष्ट्याउँछ।

Tata
GBIME
Zonsen

गत आर्थिक वर्ष २०७९/८० मा नेपालमा करिब साढे १६ करोड बराबरको टिस्यू र ट्‍वाइलेट पेपर आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। विभागको तथ्यांकअनुसार यो वर्ष १६ करोड ३८ लाख ९५ हजार रुपैयाँ बराबरको टिस्यू र ट्‍वाइलेट पेपर भित्रिएको हो।

गत आवमा ९२ हजार ८२२ किलो ट्‍वाइलेट पेपर भित्रिएको छ, जसको मूल्य २ करोड ८० लाख ८१ हजार रुपैयाँ हुन आउँछ। त्यस्तै, ५ लाख २१ हजार ९१७ किलो टिस्यू पेपर भित्रिएको छ, जसको मूल्य १३ करोड ५८ लाख १४ हजार रुपैयाँ पर्न आउँछ।

कुन देशबाट कति आयो ?

नेपालमा मलेसियादेखि आइसल्याण्डसम्मका टिस्यू र ट्‍वाइलेट पेपर भित्रिएको देखिन्छ। मलेसियाबाट १ करोड ३९ लाख ९५ हजार बराबरको ट्‍वाइलेट पेपर भित्रिँदा चीनबाट ७० लाख ९७ हजार, भारतबाट ५८ लाख ४२ हजार, थाइल्यान्डबाट १७ लाख ४५ हजार बराबरको भित्रिएको छ। इण्डोनेसिया र कोरियाबाट भने एक/एक हजार रुपैयाँकोमात्र ट्‍वाइलेट पेपर आएको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, टिस्यू पेपर भने भारतबाट सबैभन्दा धेरै आयात भएको देखिन्छ। भारतबाट ५ करोड ९७ लाख ६८ हजार रुपैयाँको टिस्यू पेपर भित्रिँदा इण्डोनेसियाबाट ३ करोड १४ लाख ९१ हजार, चीनबाट २ करोड ८९ लाख ७८ हजार, मलेसियाबाट १ करोड ८ लाख ८ हजार र आइसल्याण्ड बाट २५ लाख १५ हजार बराबरको भित्रिएको देखिन्छ।