मधेशमा खानेपानीको हाहाकार : ट्यांकरबाट पानी दिँदै महानगर, विज्ञसँग छलफलमा प्रदेश सरकार

बिजमाण्डू
२०८० साउन १४ गते ०६:३२ | Jul 30, 2023
मधेशमा खानेपानीको हाहाकार : ट्यांकरबाट पानी दिँदै महानगर, विज्ञसँग छलफलमा प्रदेश सरकार


काठमाडौं। वीरगंज महानगरपालिकासहित तराई मधेशका विभिन्न क्षेत्रमा देखिएको बढ्दो खानेपानीको समस्या समाधानका लागि मधेश प्रदेश सरकारले विज्ञहरूसँग छलफल अघि बढाएको छ।

Tata
GBIME

लामो समयदेखि वर्षा नहुँदा चापाकललगायतका खानेपानीको मुहान सुकेर पर्साको वीरगंजलगायतका विभिन्न स्थानमा खानेपानीको हाहाकार भएको हो। बढ्दै गएको खानेपानीको समस्या समाधानबारे मधेश प्रदेश सरकारले विज्ञ तथा सरोकारवालासँग छलफल अघि बढाएको हो।

साउनको तेस्रो साता बित्न लाग्दासमेत मधेश प्रदेशमा वर्षा नहुँदा पानीको सतह तल गएर चापाकललगायतका खानेपानीका स्रोत सक्दै गएर कतिपय जिल्लामा खानेपानीको समस्या बढ्दै गएकाले त्यसको दिगो समाधानबारे विज्ञहरूसँग छलफल अघि बढाएको मधेश प्रदेश सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री सिंहासन साह कलवारले जानकारी दिए।

विज्ञहरूबाट आएका सुझावका आधारमा प्रदेश सरकारले खानेपानी समस्या समाधानका योजना ल्याउने मन्त्री कलवारको भनाइ छ।

यता, खानेपानीको ठूलो समस्या भोग्दै आएका महानगरवासीलाई वीरगंज महानगरपालिकाले ट्यांकरबाट टोलटोलमा पानी वितरण गर्ने कार्यलाई निरन्तरता दिएको छ। महानगरले ट्यांकरबाट पानी वितरण गर्नुका साथै विभिन्न स्थानमा अस्थायी ट्यांकी नै राखेर पानी वितरणको व्यवस्था मिलाएको छ।

महानगरले वडामा पानी वितरणका लागि समयतालिका नै सार्वजनिक गरेको छ। नगरवासीको जनजीवन सहज बनाउन महानगरले समय नै तोकेर पानी वितरणका लागि तालिका सार्वजनिक गरेको महानगरका प्रमुख राजेशमान सिंहले बताए।

बिहान ५ देखि राति ८ बजेसम्म १९ वडामा ट्यांकरमार्फत पानी वितरण गरिरहेको र अन्य वडामा पनि समस्या देखिए पानी उपलब्ध गराउने महानगरप्रमुख सिंहले बताए।

ट्यांकरबाट अहिलेसम्म १९ वडामा दैनिक पानी उपलब्ध गराइरहेको र अहिलेसम्म सात वडाका विभिन्न स्थानमा अस्थायी ट्याङ्की राखिएको महानगरपालिकाले जनाएको छ। यसका साथै खानेपानी संस्थानको पाइप लाइन विस्तार भएका ठाउँको सार्वजनिक स्थानमा खानेपानीका धारा राख्ने कामलाई पनि महानगरले तीव्रता दिएको छ।

खानेपानीको पाइप लाइन वडा नं १ देखि १७ र १९ मा विस्तार भएकाले ती वडाका सार्वजनिक स्थानमा पानीको धारा राख्ने काम भइरहेको महानगरको खानेपानी शाखाका प्रमुख भोगेन्द्र चापागाईँले जानकारी दिए। बढ्दो गर्मीका कारण जलस्तर तल झरेपछि वीरगन्जका विभिन्न वडाका चापाकल सुकेर पानीको हाहाकार भएको छ। तत्कालै प्राकृतिकरूपमै जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले अहिले पानी ट्यांकीमार्फत अस्थायीरूपमा समस्या समाधानको प्रयास गरिरहेको छ। रासस