लुक्ला विमान दुर्घटनामा परेपछिको नयाँ जीवन व्यवसायमा, जसले गर्दै थेरापीको काम

बिजीशा बुढाथोकी
२०८० साउन १३ गते १३:०८ | Jul 29, 2023
लुक्ला विमान दुर्घटनामा परेपछिको नयाँ जीवन व्यवसायमा, जसले गर्दै थेरापीको काम


काठमाडौं। हरेक बिहान १० बजेसम्म प्रज्ञा महर्जन घरबाट आफ्नो पसलमा आइपुग्छिन्। ग्राहक कुर्दै सामान मिलाउँछिन्। आएका ग्राहकसँग हाँसेर बोल्छिन्। खोजेअनुसार सामान देखाउँछिन्। ग्राहक नहुँदा उनी खाली बस्दिनन्।

Tata
GBIME

बेला बेलामा आफ्नो पसल ‘लेस एण्ड लन्ज्री’को टिकटक र इन्स्टाग्राम पेज हेर्छिन्।  इन्क्वायरी आएको रहेछ भने रिप्लाई गर्छिन्। अनलाइन डेलिभरीका लागि प्याक गर्छिन्। मौका मिलेसम्म टिकटक र इन्स्टाग्रामका लागि रिल अनि बेला बेलामा फोटो पोस्ट पनि गरिहाल्छिन्। यसरी नै बेलुकाको ७/८ बज्छ।

विगत चार महिनादेखि प्रज्ञाको दिन यसरी नै बितिरहेको छ। फागुनदेखि महिलाका भित्री पहिरनको पसल सञ्चालन गर्दै आएकी उनका लागि यो केबल एउटा व्यापारमात्रै होइन। उनकै शब्दमा उपचार पो हो। प्रज्ञा भन्छिन्, ‘यो पसल मेरो लागि थेरापी जस्तै भएको छ।’

सामान लिएर गएको जहाजमा तीन जना थिए, चालक, सहचालक र परिचारिका। २०७४ जेठ १३ गते गोमा एयरको त्यो कार्गो विमान सोलुखुम्बुको लुक्लामा दुर्घटना भयो। तीनमध्ये एक जनाको मात्रै ज्यान जोगियो।

२०७४ जेठ १३ गते गोमा एयरको विमान सोलुखुम्बुको लुक्लामा दुर्घटना भयो। कार्गो लिएर गएको विमानमा तीन जना थिए, विमानचालक पारसकुमार राई, सहचालक सृजन मानन्धर र विमान परिचारिका प्रज्ञा महर्जन। अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको थियो। राई र मानन्धर बाँचेनन् तर महर्जनले भने नयाँ जीवन पाइन्।

तर, अवस्था निकै असहज थियो। दुवै हात, दाहिने खुट्टा र मेरुदण्ड भाँच्चिएका थिए। दुई कठिन शल्यक्रियापछि उनको ज्यान जोगियो। विमान उडानबाट अस्पतालको अवतरण। अस्पताल, अनि घर, फिजियोथेरापी र पेनकिलर। अनिवार्य बनिरह्यो। 

शल्यक्रियाको डेढ वर्षपछि उनी बल्ल बेडबाट बाहिरिइन्। आफ्नै खुट्टामा उभिन सकिन्। अब उडान गर्ने सपनाले पखेँटा पलाउँदै गरेको अनुभूति गर्न थालिन्। सँगै उपचार र थेरापी चलिरहेकै थियो।

स्वास्थ्यमा सुधार हुँदै गयो। दुर्घटनाको साढे दुई वर्ष बितिसकेपछि उनले पुनः कोसिस गरिन्। समिट एयरमा फेरि पनि कामका लागि तयार भइन्। आँट, इच्छा र मनोबल उही थियो। तर, शरीर ?

शरीर चाहिँ त्यस्तै थिएन जस्तो पहिले थियो। शल्यक्रिया गरेर मेरुदण्ड जोडिएको थियो जुन पहिलेजस्तै होस् कसरी?

‘त्यहाँ गएर पनि दिनभरि बस्नुपर्ने। दिनभरि बसेर काम गर्न गाह्रो। त्यसैमाथि गाडीको सुविधा पनि भएन। मैले सपनालाई भन्दा पनि आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिएँ,’ उनले सुनाइन्।

हो यिनी तिनै प्रज्ञा हुन्।

माथि-माथि उड्ने सपना धर्तीमा पछारिइसकेको थियो। सधैंका लागि ग्राउन्डेड भएको विमानजस्तै। भौतिक रुपमा आकाशमा नउडे पनि मन न हो, स्थिर हुने सम्भावना थिएन।

फेसबुकमा साथीहरूको फोटो हेर्दा उनलाई लाग्थ्यो – कति पछाडि परिसकेँ।

‘म पनि उनीहरु जस्तै जान चाहन्थेँ। तर मेरो हेल्थले दिएन। गर्न मन लागेको कुरा गर्न नसक्दा निकै गाह्रो हुन्थ्यो,’ उनले भनिन्,‘डाक्टरले पनियस्तो कुराबाट ‘मुभ अन’ हुनुपर्छ भनेर सम्झाउनु भयो।’

त्यसो त माथि-माथि उड्ने सपना धर्तीमा पछारिइसकेको थियो। सधैंका लागि ग्राउन्डेड भएको विमानजस्तै। भौतिक रुपमा आकाशमा नउडे पनि मन न हो, स्थिर हुने सम्भावना थिएन।

उनलाई लाग्यो -अब चाहिँ जे काम गर्न सजिलो हुन्छ,त्यही गर्ने। तर गर्ने के? करिअरमा ब्रेकमात्र लागेको थिएन, पुनः ठडिनका लागि मेरुदण्ड नै कमजोर भइसकेको थियो। के गरौं र कताबाट थालौं भन्दै छटपटिन थालिन् प्रज्ञा। घरमै बसेर मिल्ने काम पनि खोजिन्। पाइनन्।

जब काम हुन्न नि,ध्यान दुखाइतिरै पुग्ने। रफ्तारमा भइरहेको रिकभरी पनि धिमा भएजस्तो लाग्ने। उनको हालत देखेका फिजियो गराउने डाक्टरले मनस्थिति बुझिहाले। सुझाए – खाली नबस्नु, केही गर्नु। घरमा पनि उस्तै सुझाव। उनका श्रीमान्, आमाबुवा सबै रमाउन हौस्याइरहने।

विरुवा आफैँमा थेरापी हो। उपचार पनि। हुर्काएका बिरुवा बिक्री गर्दै नयाँ हुर्काउन थालिन्। ‘बिरुवाहरु स्याहार्दा, त्यो हुर्केको देख्दा एकछिन भएपनि मैले मेरो दुखाइ बिर्सिन्थेँ,’ उनले सुनाइन्।

लकडाउन ताका उनले घरमै बिरुवा हुर्काउन थालिन्। विरुवा आफैँमा थेरापी हो। उपचार पनि। हुर्काएका बिरुवा बिक्री गर्दै नयाँ हुर्काउन थालिन्। ‘बिरुवाहरु स्याहार्दा, त्यो हुर्केको देख्दा एकछिन भएपनि मैले मेरो दुखाइ बिर्सिन्थेँ,’ उनले सुनाइन्।

अहिले पनि उनको घरभरि र पसलमा पनि थरिथरिका विरुवा सजिएका छन्। त्यसपछि हो उनले सानो व्यवसायको थालनी गरेकी।

प्रज्ञा जीवको दोस्रो इनिङ्स ठान्छिन् अहिलेको कामलाई। एयर होस्टेसबनेर फर्कन नसके पनि उनी आफ्नै खुट्टामा उभिएकी छन् र गर्दैछिन् अर्कै उडान।

‘मेरो शरीरले दिन्छ कि दिँदैन? मैले गर्न सक्छु कि सक्दिन? आफूलाई नै प्रश्न गर्थेँ। मलाई आफ्नो बिजनेस सुरु गर्ने आँट जम्मा गर्न नै समय लाग्यो,’ उनले सुनाइन्।

सबैले आँट भेला गरिदिए उनका लागि। फाल्गुनदेखि कीर्तिपुरको युद्धपार्क नजिकैको पसल चलाउन उनी श्रीमानसँगै गाउँबाट सधैं बिहान पुग्छिन्।

पसलले अहिलेको जस्तो आकार लिन सजिलो भने थिएन। होलसेल बजारका पसल-पसल डुलेर सामान ल्याउन प्रज्ञालाई गाह्रो हुन्थ्यो।

कीर्तिपुरमा नै जन्मेहुर्केकी प्रज्ञाले त्यहाँको बजार राम्ररी बुझेकी थिइन्। कीर्तिपुरको बजारमा महिलाहरुको भित्री पहिरनमा त्यति धेरै च्वाइस गर्न पाइने प्रकारमा नहुने। चाहेको लिन परे न्युरोड नै पुग्नुपर्ने बाध्यता। त्यहीँ उनले आफ्नो ‘स्कोप’ पहिचान गरिन्। महिलाहरुको भित्री पहिरनमात्र समेटिएको पसल तयार भयो। पसलले अहिलेको जस्तो आकार लिन सजिलो भने थिएन। होलसेल बजारका पसल-पसल डुलेर सामान ल्याउन प्रज्ञालाई गाह्रो हुन्थ्यो।

‘हिँड्नुपर्थ्यो भीडमा। दुखाइले गर्दा घर आएर कति रुन्थेँ। कतिबेला त पेनकिलर खाएर पनि जान्थेँ। यस्तो नभएको भए कति सजिले हुन्थ्यो? स्कुटी चढ्न पाए? आफैँ सामान लिन जान पाए?’ यस्तै सोच आइरहन्छ।

भीडमा सामान बोकेका मान्छेले ठक्कर देलान् भन्ने डर उत्तिकै। आमा सजग हुँदै प्रज्ञालाई च्याप्थिन् र हिँडाउथिन् सुरक्षित। सामान लिन प्रज्ञा कहिले उनका बुवाआमा र कहिले श्रीमानसँग जान्छिन्। कम्तिमा महिनाको दुईपटक बजारसम्मको यात्रा जारी रहन्छ।

‘यो मेरा लागि थेरापी जस्तै भएको छ। बलियो र आत्मनिर्भर महसुस गर्छु,’ उनले टेक अफ वा ल्यान्डिङ गर्दा विमानमा देखाउने आत्मविश्वासकै शैलीमा सुनाइन्।

छोरीले व्यवसायिक उडानबाट आमा पनि औधी खुसी छिन्।

लेस एण्ड लन्ज्रीमा प्रज्ञाले आफैँले ५० हजार रुपैयाँजति लगानी गरेकी छन्। त्यसैबाट उनको व्यवसायले टेकअफ गरेको छ। विमानमा उनको अनाउन्समेन्ट गर्ने रहर अब सोसल मिडियातिर सोझिएको छ। अनलाइन नै उनको कारोबारको आधार बन्दैछ।

‘यो मेरा लागि थेरापी जस्तै भएको छ। घरमा एक्लै बसिरहन पर्ने यहाँ म आफैँ काम पनि गरिरहेको छु। ग्राहकसँग कुराकानी पनि हुन्छ। अहिले काम गरिरहेको छु। म बलियो र आत्मनिर्भर महसुस गर्छु। आर्थिक रूपमा पनि म मेरो परिवार र मेरो लागि केही गर्दैछु भन्ने आभास हुन्छ,’ उनले टेक अफ वा ल्यान्डिङ गर्दा विमानमा देखाउने आत्मविश्वासकै शैलीमा सुनाइन्।

पसल थालेदेखि उनको स्वास्थ्यमा सुधार भइरहेको छ। फलो अपका लागि खर्च आफैँले जोहो गर्नसक्नु नै सफलता हो उनका लागि।

पसल थालेदेखि उनको स्वास्थ्यमा सुधार भइरहेको छ। उनले नै महसुस गरेकी छन्। फलोअपका लागि खर्च आफैँले जोहो गर्नसक्नु नै सफलता हो उनका लागि। सानो पुँजीकै सही, आफ्नै खुट्टामा उभिएर सुरु भएको व्यावसायिक उडानलाई हेर्दा उनी भन्छिन्, ‘आइ एम प्राउड अफ माइ सेल्फ।’