
प्रकृतिमा स–साना जीवहरुले अर्गानिक खेती गर्दैछन् तर मानवले छाडे। निकुञ्जमा स्थापित प्राकृतिक वासस्थान स-साना जीवका लागि सुरक्षित भए पनि बाहिरका अन्य क्षेत्रमा अर्गानिक वासस्थान सुरक्षित पाउन मुस्किल भइसक्यो। किनभने रुखको टोड्कोमा आफूलाई सुरक्षित ठान्ने किरा फट्यांग्रादेखि, चरा, गोहरो आदि प्रजातिलाई त्यहीँ जोखिम भइसक्यो।
वनजंगलमा यिनीहरुको उपस्थित नै वन्यजन्तुको लागि स्वस्थ प्राकृतिक वातावरणको संकेत हो। प्राकृतिकरुपमा चलेको माकुराको जालो जस्तो निर्माण भएको अर्गानिक खाद्य-आहारा, खाद्यपदार्थ संरचना, सञ्जाल पनि एक आपसमा निर्भर हुन्छ। घाँसपात किराफट्यांग्राले खान्छन्, कमिलाले सूक्ष्म जीव खान्छन्, चरालगायत अन्य प्राणीहरुले कमिला खान्छन्।
गड्यौला, कमिलाहरुले वनजंगलको जमिनको सतहको माटोलाई खुकुलो पार्दछन्। त्यसैले यिनीहरुलाई प्राकृतिक हलो पनि भनिन्छ। यिनीहरु इकोसिष्टमका यन्त्रकार हुन् र पर्यावरण सूचकका धरोहर पनि हुन्, जसले धरातलमा अर्गानिक वातावरण बनाउँछन्।
दीर्घ जीवनको हितका लागि प्रकृतिको चक्र खलबल्याउने गतिविधि घटाउँदै जानुपर्नेमा हामीले बाघलाई देखिरहेका छौं पैसा कमाउने माध्यम। प्रकृतिमा बाघको उपस्थितिले कति महत्त्व राख्छ भन्ने पाटो वृहत् छ।

रुखले जमिनमा पानीका बहाव सुस्त पारेर जल संग्रहमा टेवा दिन्छ, जसको कारणले झरना, तालतलैया खोलानाला, खोल्सी, घोल एवं दलदलको विकास हुन पुग्छ र जमीनमा चिस्यानपन बढाउँछ। पानीले रुखविरुवा/जंगलको वृद्धि गराउँछ। पानीमा आश्रित स–साना जीवहरुले प्राकृतिक स्वरुप कायम राखी इकोसिष्टमलाई बचाउने भूमिका पनि खेल्छन्।
वनजंगलका चराहरुले बालीनालीमा लाग्ने किरा खान्छन्। मौरी, भमर, चरा, पुतली र चमेराहरुले बाली र बिरुवाहरुमा परागसेंचन गर्दछन्। परागसेंचन नभई कुनै पनि बिरुवामा फल लाग्दैन। जंगलले पर्यावरण सन्तुलन कायम गर्दछ र अर्गानिक वन्यजन्तुको लागि अर्गानिक वासस्थान सिर्जना हुन पुग्दछ।
यसैको सेरोफेरोको जगमा प्राकृतिकरुपमा समथर भू-भागमा बाघ, मध्य पहाडमा चितुवा र हिमालमा हिउँचितुवा बाँच्न सफल भएका छन्। यिनै वन्यजीवहरुलाई स्वच्छ पर्यावरणको सूचकको रुपमा पनि लिने गरिन्छ तर मानवीय क्रियाकलापहरुले यिनलाई टिकाउने धरहरालाई भत्काउन खोज्दै छ।
बाघ प्रजातिको संख्या धेरै भएकाले मनोरञ्जनका लागि वर्षमा १ महिना ग्लोबल टेन्डर गरेर २५ मिलियन डलर ( सवा तीन अर्ब रुपैयाँ)मा एउटा बाघ सिकार गर्न दिने कुरा वनमन्त्री वीरेन्द्र महतोले बोलेका छन्।
सन्दर्भ – अन्तर्राष्ट्रिय बाघ दिवस
उसो भए यस पृथ्वीमा मानव पनि धेरै छन्। निकुञ्ज वरपर जसरी बाँदरले किसानलाई दुःख दिएको छ त्यसैगरी मान्छेले पनि निकुञ्जलाई दुःख दिएको छ। अब सोचौं की मान्छेलाई कसैले वैज्ञानिक व्यस्थापनका लागि टेण्डर माग गर्यो भने मान्छेको मूल्य कति तोक्न सकिएला? यो पृथ्वी सवै जीवजन्तुहरुको साझा घर हो। मानवले पाइला टेक्नुभन्दा अगाडि बाघले पृथ्वीमा पाइला टेकेको हो। राजनैतिक व्यक्तित्वहरुलाई त बाघले भोट दिने भए बाघको विपक्षमा बोल्नेको सजाय तोक्ने आँट हुन्थ्यो होला? तर के गर्ने बाघले वहाँहरुलाई भोट दिँदैन।
तर बुझ्न के आवश्यक छ भने बाघ छ र जंगल छ। जंगल छ र वर्षा छ, वर्षा छ र पानी छ, पानी छ र मानिस छन् र मानिस छन् र नेताका लागि भोट बैंक सुरक्षित छ र विभिन्न पदहरु हासिल गर्ने अवसर मिलेको छ। त्यसैले स्वच्छ पर्यावरण उपभोग गर्न पाउने जनताको नैसर्गिक र संवैधनिक अधिकार हनन गर्ने कार्य कतै कसैबाट पनि हुन हुँदैन। त्यतातिर सोच बनाउन वेश होला की?
निकुञ्ज आरक्ष स्थापनाका अग्रज विश्वनाथ उप्रेती काठमाडौंबाट चितवन राष्ट्रिय निकुञ्जमा आउँदा आनन्दले लामो सास फेर्न मन लाग्छ। मलाई भनेको एउटा कुराले जहिले पनि झस्का दिइनै रहन्छ। यो अवस्था अब सबै सहरवासी नेपालीलाई हुन सक्ने सम्भावना बढ्दै गएको देखिएको छ ! भोलिका दिनमा स्वच्छ हावा लिन निकुञ्ज-आरक्ष नै धाउनुपर्ने दिन पनि आउन सक्छ। त्यसै कारणले अहिले नै भविष्यमा स्वच्छ हावा जनताले पाउने कुराको सुनिश्चिता गर्न जरुरी छ नकि बाघ मार्ने कुरा गरेर कसैलाई इतिहासको कलंक बन्न नपरोस्।
विकासको नाममा विनास हुनु भएन । विकास आवश्यक छ तर पनि संरक्षण अनिवार्य छ भन्ने कुराको हेक्का राख्न अत्यन्त आवश्यक छ। जनता र कर्मचारीको प्राथमिकतामा परेर जोगिएको प्राकृतिक सम्पदा नेताको प्रथमिकतामा कहिले पर्ने होला?
हाम्रो गतिविधिले जति ती प्रजातिलाई लोपोन्मुख बनाएको छ, त्यति नै मानवका लागि घातक रोगहरु फैलिने जोखिम बढ्दै छ। अध्ययनले भन्छ वन्यजन्तुको वासस्थान जति धेरै हस्तक्षेप, उति धेरै महामारीको जोखिम बढेर गएको, कोभिड र गत वर्षको डेंगी हामीले बिर्सिहाल्ने बेला भएको छैन।

स्वच्छ पर्यावरण र पर्यापर्यटनलाई चिनाउन निकुञ्ज-आरक्ष
नेपाल आएका करिब ९० प्रतिशतभन्दा बढी पर्यटकहरु यिनै निकुञ्ज आरक्ष क्षेत्रहरुको भ्रमण गरेर फर्कन्छन्। यिनै निकुञ्ज आरक्ष क्षेत्रहरुले देशलाई विश्वसामु चिनाएका छन्। आफ्नो भ्रमणकालमा अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर अन्त कहीं नगई राजधानी नजिकको नार्गाजुन शिवपुरी राष्ट्रिय निकुञ्जको भ्रमणमा जानु भएको थियो।
किन हामीले राजधानीबाट नजिक भए पनि वाग्मती र विष्णुमती नदीहरुलाई देखाउन सकेनौ? किनभने यी सम्पदा ढलमतीमा परिणत भइसकेकाले देशको बेइज्जती सिवाय अरु केही हुँदैन भनेर देखाउन नसकेको हो। विदेशीलाई चिनाउने वा देखाउन लायक अब मुलुकको अन्यक्षेत्रमा के नै बाँकी छ र !
अहिले देशलाई चिनाउने यिनै निकुञ्ज/आरक्ष/संरक्षण क्षेत्रलाई नीति निर्माता तहबाटै जरैबाटै सिध्याउन खोजिनु दुःखद कुरा हो। सुनिँदै छ कि अब निकुञ्जबाट पनि हरिया रुखबाहेकका सुकेका र ढलापडा काठहरु इकोसिष्टमका यन्त्रकारको बासस्थान निकुञ्जबाट निकाल्न राज्यको गिद्धेनजर पर्न सुरु भएको छ।
यदि यो नीति कार्यान्वयनमा आयो भने इकोसिष्टमका यन्त्रकारको मात्र बासस्थान विनास हुने होइन कि निकुञ्जमा स्थापित सूक्ष्मजीवदेखि बाघसम्म प्रकृतिमा बाँच्न सक्ने अर्गानिक वातावरण स्वतः ध्वस्त हुन्छ। जसले पर्यावरणीय दुःखकष्ट/आत्महत्या निम्त्याउने छ।
प्रकृतिले हामीलाई धेरै चिज दिएको छ; सूर्यले प्रकाश दिएको छ, वृक्षले फल दिएको छ, अक्सिजन दिएको छ। तर मानव उत्कृष्ट चेतनशील प्राणी भइकन पनि लिन मात्र जानेको छ, दिन केही जानेको छैन। उक्त सबै कुरा विकासलाई लक्षित गरेर बोलिएको होला, विकास आवश्यक छ, संरक्षण अनिवार्य छ।
हाम्रो गतिविधिले जति ती प्रजातिलाई लोपोन्मुख बनाएको छ, त्यति नै मानवका लागि घातक रोगहरु फैलिने जोखिम बढ्दै छ। अध्ययनले भन्छ वन्यजन्तुको वासस्थान जति धेरै हस्तक्षेप, उती धेरै महामारीको जोखिम बढेर गएको, कोभिड र गतवर्षको डेंगीको झल्को हामीले बिर्सिहाल्ने बेला भएको छैन।
हामीले पर्यावरणलाई त्यतैतिर धकेल्न बल गर्दैछौं। हिजोको दिनमा हामी यस धर्तीमा पर्यावरण सन्तुलन कायम गरेर बसेका थियौ, अबका दिनमा पर्यावरण खलबलियो भने बस्न सक्दैनौ। त्यसैले पुर्खाको परम्परा ज्ञान र आजको विज्ञानलाई जोडेर भोलिको भविष्यको चिन्तन गर्नु जरुरी छ।
(चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत खड्का वन्यजन्तु विज्ञ हुन्)