
काठमाडौं। ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा दिँदा शतप्रतिशत जोखिम भार राखे पुग्ने भएको छ।
शुक्रबार सर्कुलर जारी गर्दै नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जामा २५ लाखसम्म कर्जा दिँदा कायम गर्नुपर्ने १०० प्रतिशत जोखिम भारको सिमालाई बढाएर ५० लाख पुर्याएको हो।
यो नीतिले ५० लाखसम्म सेयर कर्जा दिन बैंकहरुलाई प्रोत्साहन गर्छ। उदाहरणका लागि अहिले एक सय रुपैयाँ ऋण दिनु पर्दा बैंकका सेयरधनीको पुँजीबाट १५ रुपैयाँ प्रयोग हुन्छ। राष्ट्र बैंकले जोखिम भार १०० मा झारेपछि सेयरधनीको पैसा १० रुपैयाँ मात्र प्रयोग गरे हुन्छ।
सेयर पुँजी बैंकहरुसँग सीमित हुन्छ। पहिले बढी पुँजी प्रयोग गर्नु पर्दा उनीहरु सेयरकर्जामा त्यति प्रोत्साहित थिएनन्। अब सामान्य ऋणमा जस्तै सेयर कर्जामा पनि थोरै पुँजी प्रयोग हुने हुँदा बैंकहरु लगानीका लागि प्रोत्साहन मिल्छ।
अघिल्लो पटक राष्ट्र बैंकले २५ लाखसम्मको सेयर कर्जामा १५० प्रतिशत कायम गर्नुपर्ने जोखिमभार घटाएर १०० प्रतिशतमा झारेको थियो। नभए बैंकहरुले सबै सेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार राख्नुपर्ने व्यवस्था थियो।
अहिले पनि ५० लाखभन्दा माथिको यस्तो कर्जामा १५० प्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था भने यथावत छ। राष्ट्र बैंकले मौद्रिक नीति बमोजिम शुक्रबार सर्कुलर जारी गरेको छ। मौद्रिक नीति साउन ७ गते सार्वजनिक भएको थियो।