ट्‍वीटरको रिब्रान्डिङ गर्दै इलन मस्क : ब्राण्ड लोगोबाट चरा हटाउने, ‘एक्स’ राख्ने

बिजमाण्डू
२०८० साउन ८ गते १०:२६ | Jul 24, 2023
ट्‍वीटरको रिब्रान्डिङ गर्दै इलन मस्क : ब्राण्ड लोगोबाट चरा हटाउने, ‘एक्स’ राख्ने


गत अप्रिल महिनामा ट्‍वीटरका मालिक इलन मस्कले ट्‍वीटरको लोगो परिवर्तन गरिदिएका थिए। निलो ब्याकग्राउन्डमा चराको तस्विरको सट्टा मस्कले डजक्वाइन सिबा इनु कुकुरको तस्विर राख्न लगाए। पछि फेरि चरा लोगोमा फर्कियो।

Tata
GBIME
NLIC

अहिले फेरि मस्क ट्‍वीटरको लोगो परिवर्तन गर्ने घोषणा गरेका छन्। मस्कले ट्‍वीटरको लोगोबाट चरा हटाएर ‘एक्स’ लोगो राख्न चाहेको बताएका छन्। उनले ट्‍वीटरकै ‘रिब्रान्डिङ’ गर्ने बताएका छन्।।

सन् २०२२ को अक्टोबरमा ट्‍वीटर खरिद गरेपछि मस्कले कम्पनीको नाम ‘एक्स कर्प’ राखेका थिए। संस्था चलाइराखेका उनले लोगो परिवर्तनको काम धेरै पहिला नै गरिनुपर्ने तर्कसमेत गरेका छन्।

अन्तर्राष्ट्रिय मिडियाहरुको रिपोर्टलाई आधार मान्ने हो भने मस्क ‘एक्स’ नाम गरेको ‘सुपर एप’ बनाउन चाहन्छन्। सो एप चीनको ह्वीच्याट जस्तै हुने जनाइएको छ।

‘अब छिट्टै हामी ट्‍वीटरको ब्रान्ड र सबै चराहरुलाई बिदा गर्नेछौं,’ मस्कले भनेका छन्।

यो घोषणापछि मस्कले आफ्नो ट्‍वीटरको प्रोइफाइल तस्विरमा ‘एक्स’ लोगो राखेका थिए। त्यसलाई उनले अन्तरिम लोगो भनेका छन्।

ट्‍वीटरका सीइओ लिन्डा याकारिनोले ट्‍वीटरको ‘रिब्रान्डिङ’ले नयाँ अवसरहरु सिर्जना गर्ने बताएकी छिन्। उनले अब ‘एक्स’ ले विश्वमा नयाँ तरंग ल्याउने बताइन्।

मस्कले ट्‍वीटर खरिद गरेपछि प्लेटफर्ममा गरेका परिवर्तनहरुबाट लगानीकर्ता र सामाजिक संजाल प्रयोगकर्ताहरु खुसी छैनन्। यस्तो अवस्थामा ट्वीटरलाई टक्कर दिन मेटाले ‘थेड्रस्’ सार्वजनिक गरिसकेको छ।