
दुई दशकभन्दा बढी युरोपेली फुटबल महासंघ (यूईएफए) को शीर्ष पाँच लिगभित्र खेलेका लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले युरोप छाडिसकेका छन्।
रोनाल्डो केही समयअघि इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर साउदी अरब पुगेका थिए भने मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर अमेरिकी लिग मेजर लिग सकर (एमएलएस)।
गोट (ग्रेटेस्ट अफ अल टाइम) बारे समर्थकहरुमाझ चर्चा सुरु हुँदा केन्द्रमा रहने यी दुई खेलाडीमध्ये युरोप छाड्दा कसलाई बढी फाइदा भयो भन्ने प्रसंग पनि उत्तिकै उपयुक्त हुन्छ।
रोनाल्डोको ‘डिल’
सन् २०२२ को अन्त्यमा कतारमा विश्वकप चलिरहँदा तत्कालिन पोर्चुगिच कप्तान र म्यानचेस्टर युनाइटेडबीचको तनाव उत्कर्षमा थियो। खासगरी प्रशिक्षक र व्यवस्थापनको आलोचनामा रोनाल्डो खुलेरै लागेका थिए।
पछि चर्चा र उपचर्चाहरुका बीच रोनाल्डो साउदीको क्लब अल नासर पुगे। त्यहाँ उनले वार्षिक कति पारिश्रमिक प्राप्त गर्छन् भन्नेमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको आ-आफ्नै दाबी छ।

फोर्ब्सको दाबीमा उनले वार्षिक १७ करोड ७० लाख पाउन्ड भन्दा बढी प्राप्त गर्नेगरी २०२५ सम्मको अनुबन्धन लिए। हालको मितिमा यो २९ अर्ब ७३ करोड ६० लाख नेपाली रुपैयाँ भन्दा बढी हुन आउँछ।
मेस्सीको ‘डिल’
कतारमा सम्पन्न विश्वकप फुटबलमा विजेता बनेसँगै अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले वाहवाही कमाए। ‘गोट’ डिबेटमा मेस्सी बलियो त देखिए नै, साथमा कोपा अमेरिका र विश्वकप जिताएर म्यारोडोनासँगको उचाइमा आफूलाई पुर्याउन पनि उनी सफल भए।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाडेर मेस्सी यसपाला अमेरिकी लिग ‘एमएलएस’ पुगेका छन्। इङ्ग्ल्याण्डका पूर्व स्टार फुटबलर डेभिड ब्याकहमको क्लब इन्टर मायमीमा उनी अनुबन्धित भएका छन्।
साउदीकै क्लबबाट आएको वार्षिक ३० करोड युरोको प्रस्ताव नकार्दै उनले अमेरिका रोजेका हुन्।
मायमीमा उनले वार्षिक ५ देखि ६ करोड अमेरिकी डलर प्राप्त गर्ने फोर्ब्सको रिपोर्टमा बताइएको छ। यसलाई औसतमा ५.५ करोड डलर मानेर हिसाब गर्दा ७ अर्ब २० करोड ५० लाख नेपाली रुपैयाँ हुन आउँछ।

त्यसबाहेक महत्वपूर्ण विषय भनेको एडिडास, एप्पल र एमएलएससँगैको सम्झौता पनि रहेको छ। रिपोर्टहरुका अनुसार उनको एडिडाससँग ‘प्रोफिट शेयरिङ’ करार रहेको छ। जसमा एमएलएससँग उनको उपस्थितिपछि लिगमा बढेको नाफामा उनको पनि हिस्सा रहनेछ।
यो डिलअनुसार उनलाई संन्यासपछि एमएलएसको एउटा क्लबनै दिने पनि सम्झौता रहेको छ। जसले तत्कालीनरुपमा रोनाल्डोको भन्दा कम मूल्यको अनुबन्धन देखिए पनि दीर्घकालीन रुपमा भने ठूलो फाइदा र खेलपछि ‘सेटलमेन्ट’ हुने देखिन्छ।
एमएलएसको टिकटमै पनि मेस्सीको प्रभाव भने पर्न थालेको देखिन्छ। उनको अनुबन्धन अघि एमएलएसमा न्यूनतम ३० डलरसम्मका टिकट मिलेकोमा हाल न्यूनतम नै ३३० डलरसम्म पुगेको छ।
‘ब्यालोन डी’ओर’ विजेतामा ब्रेक
उत्कृष्ट खेलाडीले पाउने पुरस्कार ब्यालोन डी’ओरमा पछिल्ला दशकमा मेस्सी र रोनाल्डोकै वर्चस्व रहेको थियो। सन् २००८ मा क्रिस्टियानो रोनाल्डोले पहिलो पटक ब्यालोन डी’ओर जितेका थिए।
त्यसयता रोनाल्डोले पाँच पटक ब्यालोन डी’ओर जित्दा मेस्सीले ७ पटक जिते। यसबीचमा दुई वटा वर्षमा मात्र यी दुई खेलाडी यो पुरस्कारबाट चुके। अर्थात सन् २००८ पछि उत्कृष्ट बन्दै आएका खेलाडीमध्ये हाल एक खेलाडीमात्र युरोपमा छन्।

ती हुन्- क्रोएसियाली कप्तान लुका मोड्रिच। अघिल्लो सिजन विजेता बनेका करिम बेन्जेमा पनि रियल मड्रिड छाडेर साउदी पुगिसकेका छन्।
युरोप छाड्दा आकर्षक लिग कुन?
केही वर्षअघिसम्म युरोपेली लिग खेलिरहेका खेलाडीका लागि आकर्षण थियो चिनियाँ लिग। सन् २०११ ताका चिनियाँ नेता सी चिनफिङले चीन फुटबलको महाशक्ति बन्ने भिजन लिएका थिए। त्यसका लागि उनले तीन वटा चरणमा योजना बनाएका थिए- विश्वकपमा छनोट हुने, विश्वकप आयोजना गर्ने र विश्वकप जित्ने।
फिफा वरीयतामा ७०औँ स्थानभन्दा पछि रहेको टोलीका लागि यो सपना धेरै महत्वकांक्षी थियो। यसका लागि चाइनिज सुपर लिगमा खेलाडी भित्र्याउन पैसाको खोलो बगाउने काम सुरु भयो।
सन् २०१६ मा चिनियाँ लिगले खेलाडी ट्रान्सफरमा मात्र ४५ करोड १० लाख अमेरिकी डलर खर्च गरेको थियो। युरोपमा खेलिरहेका खेलाडीको आकर्षणमा चीन परिरहेको थियो। तर, यो लामो समय टिकेन।
आर्थिक संकटबाट गुज्रिन थालेको चिनियाँ फुटबललाई कोभिड १९ले हान्यो। भएका खेलाडीसमेत टिकाउन संघर्ष गर्दा युरोपमा खेलिरहेका खेलाडीको आकर्षण फेरियो।

त्यसबाहेक फिफा आयोजनाका लागि कतारले पनि युरोपमा लगानी बढाउँदै आफ्नो पनि लिगको स्तर सुधार्यो। सँगसँगै अमेरिकी लिग (एमएलएस) पनि खेलाडीको गन्तव्यमा थियो।
युरोपमा नाम कमाएका डेभिड बेकहम, काका, गोन्जालो हिग्वुइन, डेभिड भिल्ला, वायने रुनी, ज्लाटन इब्राइमोभिच, ग्यारिथ बेल र अहिले लियोनल मेस्सी जस्ता खेलाडीलाई एमएलएसले तान्न सफल भएको छ।
पछिल्लो समय जस्तोसुकै मूल्य चुकाएर स्टार खेलाडी भित्र्याउन उद्यत लिग हो साउदी प्रो लिग। साउदी क्लब अल नासरबाट खेलिरहेका रोनाल्डोले केहीदिन अघि दाबी गरे- साउदी प्रो लिग एमएलएसभन्दा उत्कृष्ट छ।
उनले अझ अघि बढेर यो विश्वकै उत्कृष्ट लिग बन्न सक्ने दाबी समेत गरे।
रोनाल्डोले दाबी गरेजस्तो एसियाली मुलुक साउदीले लिगमा मेस्सी भित्र्याउन पनि हरसम्भव प्रयास गरेको थियो। त्यसमा असफल भए पनि युरोपमा तहल्का मच्चाइरहेका प्रभावशाली खेलाडी भित्र्याउन भने कुनै कसर बाँकी राखेको छैन। जसमा करिम बेन्जेमा, एनगोलो कान्टे, रोबर्टो फिर्मिन्हो, जोर्डन हेन्डरसन, रियाद महरेजलगायतका खेलाडी रहेका छन्।
साउदी र एमएलएसको बिजनेस मोडल
एमएलएसको स्थापना १९९३ मा भएको थियो। १९८४ मा अमेरिकालाई फिफा विश्वकपको आयोजना गर्ने मौका मिलेपछि उक्त लिग सुरु भएको हो। १९८० को दशकमा उत्तर अमेरिकी सकर लिगले सामना गर्ने समस्याहरूबाट बच्न एमएलएसको कन्सेप्टलाई अघि बढाइएको थियो।

लिग ‘लगानीकर्ता-अपरेटर मोडेल’अन्तर्गत रहेर चलेको छ। यसको मतलब उद्यमीहरूले एमएलएसमा समग्र रूपमा लगानी गर्छन् र उनीहरूलाई एउटा टोलीको स्वामित्वको साथै एमएलएसको व्यापारिक मामिलाहरू व्यवस्थापन गर्न अधिकार दिइन्छ।
अर्थात, टोलीहरूले स्थानीय प्रसारण अधिकार, प्रायोजन, व्यापारिक सामान आदिबाट राजस्व कमाउँछन्।
‘टोलीहरूले टिकट बिक्री र ट्रान्सफरहरूबाट लिगसँग आफ्नो नाफाको एक अंश शेयर गर्नुपर्छ,’ हार्वर्ड बिजनेस स्कूलको कार्यपत्र (२०२१) भनिएको छ। यद्यपि, राष्ट्रिय प्रसारण अधिकार र लिग-स्तर प्रायोजनहरूबाट राजस्व सिधै एमएलएसमा जान्छ।
यसले गर्दा एमएलएसको मोडल साउदी प्रो लिग र युरोपेली अधिकांश अन्य लिग भन्दा फरक छ।
यसमा साउदी प्रो लिगको सन्दर्भ फरक छ। एसपीएलमा टोलीहरू छुट्टै संस्था हुन्। हालसालै साउदी अरेबियाको सार्वजनिक लगानी कोषले आफ्नो खेलकुद क्लबहरूको लगानी र निजीकरण परियोजनाको घोषणा गरेको थियो। जसमा चार एसपीएल क्लबहरू- अल-इत्तिहाद, अल-अहली, अल-नासर र अल-हिलाललाई कम्पनीहरूमा रूपान्तरण गरिने घोषणा गरियो।

रिपोर्टहरूका अनुसार, साउदी सरकारले २०३० सम्ममा लिगको राजस्व चार गुणा बढाएर ४८ करोड डलर पुर्याउन चाहन्छ।
डिसेम्बरमा रोनाल्डोले अल-नासरसँग २०२५ सम्म क्लबका लागि खेल्ने सम्झौता गरेपछि मध्य-पूर्वमा युरोपमा खेलिरहेका उच्च स्तरका फुटबलरहरुको आकर्षण पनि साउदीतर्फ मोडियो। एएफपीको रिपोर्ट अनुसार, उनले खेलको इतिहासमा सबैभन्दा ठूलो पारिश्रमिक पाउने छन्: प्रतिवर्ष २१ करोड ५० लाख डलर।
उनी अल-नासरमा अनुबन्धित हुनुअघि क्लबको इन्स्टाग्राममा लगभग ८ लाख ८४ हजार फलोअरहरू थिए। हाल यसको डेढ करोड फलोअरहरू छन्।
‘रिटायरमेन्ट लिग’को आरोप
एमएलएस र एसपीएल दुवै लिगले ब्यहोर्ने साझा आरोप भनेको ‘रिटायरमेन्ट लिग’को हो। एमएलएस विश्वको शीर्ष १० लिगभित्र छ, एसपीएल पनि यसमा चाँडै अगाडि आउने नै वाला छ।
तर दुवै लिगले ‘रिटायरमेन्ट लिग’को आरोप चाहिँ खेपिरहेका छन्। मेस्सी र रोनाल्डो दुवै करियरको उत्तरार्धमा छन्। प्रष्ट छ, युरोपमा धमिलो हुँदै गरेको भविष्य छाडेर नै रिटायरमेन्ट अघि आफ्नो करियरलाई लम्ब्याउने ध्येयमा यी खेलाडी देखिन्छन्, त्यो पनि ठूलो फाइदा लिएर।
यस्तो अवस्थामा पुग्ने उनीहरु पहिलो खेलाडी भने होइन। न यस्तो आरोप ब्यहोर्ने एमएलएस या साउदी लिग नै पहिलो हुन्।