
काठमाडौं। कथावस्तु मौलिक भए फिल्मले उल्लेख्य व्यापार गर्नसक्छ भन्ने ‘जारी’ले देखाएको छ। लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको फिल्म ‘जारी’ ले प्रदर्शनको सय दिन पूरा गरेको छ।
फिल्ममा श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमानको जारी प्रथासँग सम्बन्धित कथा छ। यसको कथा लेखन तथा निर्देशन साहित्यकर्मी उपेन्द्र सुब्बाले गरेका हुन्।
यो वर्षकै पहिलो दिन वैशाख १ गतेदेखि प्रदर्शनरत चलचित्रले शनिवार काठमाडौं उपत्यकाका तीन मल्टिप्लेक्स सिनेमा हलहरु क्युएफएक्स सिभिल मल, बिग मुभिज र एफक्युबमा प्रदर्शनको सय दिन पूरा गरेको हो।
चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो खुसी शब्दमा व्यक्त गर्न नसकिने बताए। ‘सय दिन पूरा गर्ने चलचित्र बन्यो। अहिले चलचित्र भवनको संख्या बढेको समयमा यो सफलता विरलै हो। पर्दामा समुदायको संस्कृतिलाई दर्शकले रुचाए,’ उनले भने।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार ‘जारी’ ले गत असार ३१ गतेसम्म ६ लाख १९ हजार २ सय २१ टिकट बिक्री हुँदा १७ करोड १७ लाख ९९ हजार १८ ग्रस व्यापार गरेको छ।
‘कबड्डी’का शृंखलामार्फत लेखनमा सक्रिय निर्देशक सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि यो फिल्म निर्देशन गरेका हुन्। ‘महिला आँटिला र साहसिला हुन्छन्। स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भए भन्दैमा सम्मानबिना बस्दैनन्। उनीहरुको आत्मसम्मानको कथा चलचित्रमा प्रस्तुत गरेको छु,’ उनले भने।
जारीमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङ लगायतले अभिनय गरेका छन्। रासस