महिना दिनअघि ६ रुपैयाँमा पनि नबिकेर फालिएको गोलभेँडाको मूल्य एकाएक आकासियो

बिजमाण्डू
२०८० साउन ४ गते ०९:१२ | Jul 20, 2023
महिना दिनअघि ६ रुपैयाँमा पनि नबिकेर फालिएको गोलभेँडाको मूल्य एकाएक आकासियो

काठमाडौं। पछिल्लो केही दिनमा टनेलमा उत्पादन गरिएको गोलभेँडाको मूल्य एकाएक आकासिएको छ।

Tata
GBIME
NLIC

गत असार ३ गते न्यूनतम ६ रुपैयाँमा पनि नबिकेर किसानहरुले कालीमाटी बजार परिसरमा ठूलो मात्रामा गोलभेँडा फालेका थिए।

एक महिना यता अर्थात साउन ३ गते सोही गोलभेँडाको भाउ थोक बजारमा नै ‌ओसत ७५ रुपैयाँ पुगेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य सूची अनुसार गत असारको ३० गतेसम्म गोलभेँडाको भाउमा प्रतिदिन जस्तो सामान्य दुईदेखि चार रुपैयाँसम्म घटबढ भएर ३५ रुपैयाँ पुगेको थियो। यसबीचमा एक/दुई पटक मात्रै गोलभेँडाको भाउमा एकैदिनमा ६ रुपैयाँदेखि ८ रुपैयाँसम्म वृद्धि भएको देखिन्छ।

असार ३० बाट असार ३१ गते टनेलमा उत्पादन गरिएको गोलभेँडाको मूल्य एकाएक १० रुपैयाँले बढेर ४५ रुपैयाँ पुग्यो।

त्यस्तै, साउन १ गते भाउ लगभग त्यही रेटमा बढेर ५४ रुपैयाँ २ पैसा पुग्यो।

भोलिपल्टै गोलभेँडाको भाउमा उच्च वृद्धि भएर ६९.२ रुपैयाँ पुग्यो र साउन ३ गते ७५ रुपैयाँ कायम भयो। यो मूल्य सबै कालीमाटी तरकारी बजारको थोक मूल्य हो।

स्रोत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

समितिका सूचना अधिकारी विनय श्रेष्ठले टनेलमा उत्पादित गोलभेँडाको मूल्य उलेल्खनीय रुपले बढेको बताए। उनले यसको कारण वर्षात नै रहेको बताए।

उनले भने, ‘अहिले गोलभेँडाको अफ सिजन हो। यति बेला हुने नै टनेलको गोलभेंडा हो। अघिल्लो महिना फलाफाल भयो। अब यसको उत्पादन पनि कम कम भइरहेको छ।’

उनले थपे, ‘वर्षात पनि हावी भएको छ। त्यसैले दैनिक आगमनमा पनि घटिरहेको छ। तराईतिर अहिले उत्पादन हुँदैन।’

यहाँको गोलभेँडा किसानहरुले बाहिर जिल्ला पनि पठाइरहेको उनले जानकारी दिए।

दैनिक ८० हजार किलो हाराहारीमा कालीमाटी बजार भित्रिने सानो गोलभेँडा हाल ४० हजारदेखि ५५ हजार किलो मात्रै आइरहेको छ।

हाल गोलभेँडालगायत सबै जसो तरकारीको नै मूल्य उच्च छ।