विश्व बैंकका अध्यक्षले किन भने ‘ग्लोबल साउथ र नर्थ’ बीच बढ्दैछ अविश्वास ?

बिजमाण्डू
२०८० साउन ३ गते १८:३७ | Jul 19, 2023
विश्व बैंकका अध्यक्षले किन भने ‘ग्लोबल साउथ र नर्थ’ बीच बढ्दैछ अविश्वास ?


मंगलवार जी-२० देशका अर्थमन्त्रीहरु भारतमा भेला भए। गुजरातको गान्धिनगरमा ठूला अर्थतन्त्र भएका राष्ट्रहरुको अर्थमन्त्रीहरुको भेला बिना कुनै सहमति टुंगियो। रसिया र युक्रेन युद्धको विषयलाई लिएर उनीहरु एकैमतमा पुग्न सकेनन्।

Tata
GBIME

सोही भेलामा विश्व बैंकका अध्यक्ष अजय बांगा पनि उपस्थित थिए। उनले धनी र गरिब राष्ट्रबीच असमानता बढिरहेको भन्दै चेतावनी दिए। उनले विश्व अर्थतन्त्रलाई विभाजित हुनबाट रोक्न आवश्यक पहलको कमी भएकोले गरिब देशहरु थप खतरामा भएको बताएका हुन्।

‘ग्लोबल साउथ र नर्थहरु अहिले एकताबद्ध हुनुपर्ने बेला हो। तर, उनीहरुबीच अहिले अविश्वास उत्पन्न भइरहेको छ,’ उनले भने।

उनले ग्लोबल साउथ देशहरुको निराशा बुझ्न सकिनेसमेत बताए।  युक्रेन रुस युद्धले ग्लोबल साउथलाई थप चिन्तित बनाएको उनको दाबी छ।

‘उनीहरूले (ग्लोबल साउथ) हाम्रो समृद्धिको लागि मूल्य तिरिरहेका छन्,’ बांगाले भने, ‘समृद्ध देशहरुले वाचा गरेका स्रोतहरु युक्रेनको पुन:निर्माणमा लगाइने हो कि भनेर उनीहरु चिन्तित छन्। उनीहरुको आउन पुस्ता थप गरिबीको चपेटामा पर्ने त होइन भनेर उनीहरु भयमा छन्।’

कोरोना भाइरस महामारी र रुस युक्रेन युद्धले विश्व अर्थतन्त्रलाई प्रभावित बनाएको छ। यसबाट गरिब राष्ट्रहरुको अर्थतन्त्रमा थप गम्भीर असर परेको छ। त्यसमाथि बढ्दो जलवायु प्रदूषणको असर पनि गरिब राष्ट्रहरुमा बढी देखिएको छ।  यी लगायतका समस्या समाधान गर्न धनी राष्ट्रहरुले गरेका प्रतिबद्धता पूरा नहुँदा ग्लोबल साउथ देशहरुमा अविश्वास उत्पन्न भएको बांगाले बताएका हुन्।

के हो ग्लोबल साउथ र नर्थ?

शीत युद्ध पछि ग्लोबल साउथ र ग्लोबल नर्थको अवराधणा विकास भएको थियो। विश्वका धनी देशहरू उत्तरी गोलार्धमा र गरिब देशहरू दक्षिण गोलार्धमा रहेको भन्दै छुट्याइएको थियो।

ग्लोबल नर्थ (युरोप, उत्तरी अमेरिका र पूर्वी एसिया) लाई सामान्यतया उच्च जीवनस्तर, बलियो अर्थतन्त्र र राजनीतिक स्थिरताको भएको देशको रूपमा चित्रण गरियो। तर, ग्लोबल साउथ (अफ्रिका, दक्षिण अमेरिका र बांकी एसियाका केही भागहरू) को संसार नै फरक थियो।

उनीहरु गरिबी, राजनीतिक अस्थिरता र अल्पविकाससँग संघर्षरत् थिए। वास्तवमा ग्लोबल साउथ-नर्थ विभाजन देशको सामाजिक-आर्थिक र राजनीतिक हिसाबमा गरिएको विभाजन थियो। त्यो विभाजनको असर अहिले पनि देख्न सकिन्छ।

ग्लोबल नर्थका राष्ट्रहरुले ग्लोबल साउथका देशहरुको विकासमा जति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे पनि त्यो हुन सकेको छैन। जसकारण उनीहर थप आर्थिक संकटतर्फ अग्रसर छन्। चीन, भारत, ब्राजिल जस्ता केही ग्लोबल साउथ देशहरुले आफ्नो आर्थिकस्तर सुधार्न सकेका छन्। तर पनि अझै ग्लोबल साउथ देशहरु धनी राष्ट्रहरुको दबदबामा छ।

विश्व बैंकका अध्यक्ष बांगाले त्यसबेला देखिको असमानता अहिलेसम्म जारी रहेको इंगित गर्दै आउने दिन ग्लोबल साउथ देशहरु थप गरिबीको चपेटामा पर्न सक्ने बताएका हुन्।