नागढुंगा-नौबिसे सुरुङमार्गमा ५ महिनामा ‘ब्रेक थ्रु’, एक वर्षभित्र गाडी गुडाउन मिल्ने



बिजमाण्डू
२०८० साउन २ गते १४:३२ | Jul 18, 2023
नागढुंगा-नौबिसे सुरुङमार्गमा ५ महिनामा ‘ब्रेक थ्रु’, एक वर्षभित्र गाडी गुडाउन मिल्ने

काठमाडौं। नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्गमा ५ महिनामा ‘ब्रेक थ्रु’ हुने भएको छ। त्यसका लागि नागढुंगा-नौबिसे सुरुङमार्गमा काठमाडौं र धादिङ दुवैतिरबाट अहिले एकसाथ ६०० जनालाई  दुई सिफ्टमा काम लगाइएको छ। डिसेम्बरसम्म सुरुङमार्गमा ‘ब्रेक थ्रु’ गर्ने लक्ष्यका साथ निर्माण कम्पनी, परामर्शदाता र आयोजनाले कामलाई तीव्रता दिएका छन्।

Tata
GBIME
Zonsen

आयोजनाका अनुसार मुख्य सुरुङमार्गमा ८०.५ प्रतिशत खन्ने काम पूरा भएको छ। २ हजार ६८८ मिटरमध्ये पूर्वबाट ९६९.८० मिटर र पश्चिमबाट १ हजार १९३.२० मिटर गरी कुल २ हजार १६३ मिटर खन्ने काम पूरा भएको हो। अब ५२५ मिटर खन्न बाँकी छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मंगलबार आयोजनास्थल पुगेर छिटोभन्दा छिटो निर्माण सक्न निर्देशन दिएका छन्। उनले सुरुङमार्ग निर्माणमा देखिएका समस्या स्थानीय जनप्रतिनिधिसँग मिलेर समाधान गरेको दाबी गरे । ‘धेरैजसो समस्या सुल्झाएका छौं,’ उनले भने,’मुख्य सुरुङमार्गमा ५ महिनामा ‘ब्रेक थ्रु’ हुन्छ।’

आयोजनाको अहिलेसम्मको भौतिक प्रगति ५५.१३ र वित्तीय प्रगति ५८.७० प्रतिशत छ। आकस्मिक प्रयोजनका लागि इभाकुएसन टनेल खन्ने काम ९७.८ प्रतिशत पूरा भएको छ। २ हजार ५५७ मिटरमध्ये पूर्वबाट १ हजार ३०१.७० मिटर र पश्चिमबाट १ हजार २००.१० मिटरसहित कुल २ हजार ५०१.८० मिटर खन्ने काम पूरा भएको हो। १५ दिनमा इभाकुएसन सुरुङमार्ग खन्ने काम सकिनेछ।

यस्तै सुरुङमार्गबाट इभाकुएसन टनेलमा जानका लागि निर्माण भइरहेको क्रस प्यासेजको ९०.६ प्रतिशत काम सकिएको छ। कुल १२८ मिटरमध्ये पूर्वबाट ६०.५ मिटर र पश्चिमबाट ५५.४५ मिटर खन्ने काम सकिएको छ। प्रत्येक ३७५ मिटरमा क्रस प्यासेज निर्माण भइरहेको छ।

आयोजनाका इन्जिनियर गोविन्द डुमरुका अनुसार सुरुङमार्गमा ‘ब्रेक थ्रु’ भएपछि पनि गर्नुपर्ने काम धेरै छन्। खन्ने काम सकिएपछि फिनिसिङ, लाइटिङ र फेसिलिटिज राख्ने काम हुनेछ। उनका अनुसार एक वर्षभित्र सवारीसाधन सञ्चालन गर्ने लक्ष्य भएपनि थप ५/६ महिना समय लाग्न सक्छ।

करिब २.६८ किलोमिटरको यो सुरुङमार्गमा ३.५ मिटरका दुईवटा लेन छन्। बीचमा १.५ मिटरको लेन मेडियन छ। दुवैतर्फ पानी बगाउन नाली निर्माण गरिएको छ। पूर्वको पोर्टलसम्म जानका लागि पृथ्वी राजमार्गबाट फ्लाइओभर निर्माणको काम समेत भइरहेको छ।

आयोजनाका अनुसार सुरुङमार्गमा जानका लागि काठमाडौंतर्फ फ्लाइओभर निर्माण, सुरुङमार्ग सञ्चालनका लागि अपरेसनल भवन, पहुँचमार्ग निर्माण, रोड साइट सर्भिस सेन्टर लगायतका काम पनि धमाधम भइरहेको छ।

सुरुङमार्ग जापान सरकारको सहुलियत ऋण सहयोगमा निर्माण भइरहेको हो। नेपाल र जापान सरकारबीच २०१६ डिसेम्बर २२ मा ऋण सम्झौता भएको थियो। आयोजनामा करिब २० अर्ब ६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएकामा दातृ संस्था जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले करिब १५ अर्ब ८ करोड रुपैयाँ बेहोर्ने छ। बाँकी रकम नेपालले बेहोर्ने छ।

एक वर्ष म्याद थप

निर्माण कम्पनी हाजमा एन्दो कर्पोरेसन (जापान)सँग २०१९ सेप्टेम्बर २३ मा निर्माण सम्झौता भएको हो। उसले नोभेम्बर १४ बाट काम सुरु गरेको थियो। ४२ महिना अर्थात २०२३ अप्रिल २६ मा काम सक्ने गरी सम्झौता भएको थियो। सम्झौता अनुसार काम नभएपछि ३ महिना म्याद थपियो। सो समयमा पनि पूरा नहुने भएपछि २०२४ अप्रिल २५ सम्मका लागि दोस्रो पटक ९ महिना म्याद थपिएको छ।