राष्ट्र बैंकले सेयर बजार नियन्त्रण गर्न खोज्दा पुँजीगत लाभकरमा गम्भीर धक्का



बिजमाण्डू
२०८० साउन १ गते १५:३५ | Jul 17, 2023
राष्ट्र बैंकले सेयर बजार नियन्त्रण गर्न खोज्दा पुँजीगत लाभकरमा गम्भीर धक्का

काठमाडौं। सरकारले सेयर बजारबाट उठाउने पुँजीगत लाभकरमा राष्ट्र बैंकको निर्मम नीतिले गम्भीर धक्का लागेको छ। सरकारले राजस्व संकलनको लक्ष्य वृद्धि गरिरहँदा सेयर बजारप्रति केन्द्रिय बैंकको नीति भने बढी नियन्त्रणकारी बन्दा कर असुलीमा गम्भीर असर परेको हो।

Tata
GBIME
Zonsen

पछिल्लो दुई आर्थिक वर्षमै सेयर बजारबाट संकलन हुने राजस्वमा ७९.३ प्रतिशतले कमी आएको सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए। गत आर्थिक वर्ष सेयर बजारबाट जम्माजम्मी २ अर्ब ९७ करोड रुपैयाँ मात्रै पुँजीगत लाभकर सरकारको ढुकुटीमा गयो। अघिल्लो आर्थिक वर्षसँग तुलना गर्दा पनि यसपटक लाभकर ७१.३१ प्रतिशत घटेको छ।

‘म्यासिभ नै घट्यो। अघिल्ला वर्षको तुलनामा यो पटक कारोबार नै छैन,’ सीइओ आचार्यले भने,’विशेषगरी राष्ट्र बैंकका नीतिगत व्यवस्थाले सेयर बजारमा प्रत्यक्ष हस्तक्षेप भयो। पहिला अनुत्पादक क्षेत्रको व्याख्या, त्यसपछि लोनमा ४/१२ क्याप र भारी दरले वृद्धि गरेको जोखिम भारितले सेयर बजारमा धक्का पुग्यो। लघुवित्तको लाभांश वितरणमा लागेको रोक लगायतले लगानीकर्ता हतोत्साहित बने। साथै तरलताको असहज स्थिति पनि कारक रह्‍यो।’

पछिल्लो समय सरकारले चालु आर्थिक विधेयकमा उल्लेख गरेका सेयर बजार सम्बन्धि कर नीतिले पनि असर गर्‍यो। आर्थिक वर्षको अन्त्यमा करको विवादले कारोबारमा भारी प्रभाव पारेको थियो।    

अर्थमन्त्रालय र राष्ट्र बैंक सेयर बजारमा उदार नहुँदा सरकारी वित्तको खाडल पनि गहिरिएको अवस्था छ। आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा लक्ष्यको ७७ प्रतिशत मात्र राजस्व असुली गरेको छ। आन्तरिक राजस्व विभागका अनुसार ६ खर्ब २८ अर्बको लक्ष्यमा ४ खर्ब ८१ अर्ब रुपैयाँ असुली भएको छ। अघिल्लो आर्थिक वर्षमा विभागले ४ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो।

आचार्यका अनुसार अल्पकालीन र दीर्घकालीन पुँजीगत लाभकर व्याख्या गर्नुअघि यस्तो लाभकर १४ अर्ब संकलन भएको थियो। आर्थिक वर्ष २०७७/७८ मा सेयर बजारबाट सो कर असुली भएको थियो। तर अघिल्लो आर्थिक वर्षदेखि बजेटले लाभकरलाई दुई छुट्टै अवधिमा विभाजन गरेर भिन्नाभिन्नै दर निर्धारण गर्‍यो।

अल्पकालीन लागनीकर्तालाई ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ५ प्रतिशत कर तय गरेको थियो। जसले गर्दा सेयर बजारबाट हुने कर असुली केही कम थियो। यद्यपि आर्थिक वर्ष २०७८/७९ मै पनि १० अर्ब ३५ करोड उठ्यो। त्यही वर्ष राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् ४/१२ को क्याप पनि लगाएको थियो। आर्थिक वर्ष मात्रै नेप्से सूचकले ८७४ अंक गुमाएको थियो। 

बजार घट्दा अल्पकालीन लगानीकर्ताको सक्रियता पनि ह्‍वात्तै घटेको छ। नभए साधारणतया बजारमा सक्रिय देखिने अल्पकालीन लगानीकर्ताको हिस्सेदारी घटेको हो। पोहोर ७ अर्ब १२ करोड रुपैयाँ अल्पकालीन लगानीकर्ताले नै कर तिरे। कुल करमा उनीहरुको योगदान ६९ प्रतिशत थियो। 

तर यसपटक ६० प्रतिशत मात्रै छ। अल्पकालीन लागनीकर्ताले मात्रै गत आर्थिक वर्ष १ अर्ब ७६ करोड लाभकर बुझाए। दीर्घकालीन लगानीकर्ताले १ अर्ब २० करोड रुपैयाँ लाभकर तिरेका छन्।  

यस दौरान सेयर बजारमा ठूलो घटबढ पनि देखिँदैन। एक वर्षअघि असार मसान्तका दिन सेयर बजार सूचक नेप्से २००९.५ पुगेको थियो। यस पालिको असार मसान्तमा २१ सय हाराहारी छ।