काठमाडौं। बुधबार राति १० बजे आसपास देशभरी ५/७ पटकसम्म बिजुली जाने/आउने भइरह्यो। करिब २० मिनेट जति झ्याप, झ्याप जाने/आउने भइरहेपछि सामाजिक सञ्जालदेखि चौतर्फी रुपमा बहस भयो।
किन गयो बत्ति?
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले तार चुँडिएका कारण बत्ति जाने/आउने भइरहेको बताए। उनका अनुसार हेटौंडा- मातातीर्थ १३२ केभी प्रसारणलाइन अन्तर्गतको मातातीर्थमा तार चुँडिएको हो। ‘मातातीर्थमा तार चुँडिएका कारण हाम्रो सिस्टम गयो। सिस्टम जाँदा देशभरि नै बत्ति गएको हो,’ उनले भने, ‘तत्कालै मर्मत गरेर बिजुली पठाएका थियौं। अरु कुनै कारण होइन।’
बुधबार साँझ तार चुँडिएर बिजुली गएको भएपनि पछिल्लो समय झ्याप झ्याप बत्ति जाने समस्या बढेको छ। प्रणालीमा सरप्लस बिजुली भएपनि वितरणलाइनको समस्याका कारण ट्रिपिङको समस्या बढेको हो। ‘पहिले पहिले यस्तो समस्या हुँदैन्थ्यो। अहिले एकदमै सिस्टम जाने समस्या देखिरहेको छ। माग बढेर प्रणालीले धान्न गाह्रो भएको अनुमान छ,’ प्राधिकरणका एक इन्जिनियरले भने। अहिले प्रणालीमा करिब २६०० मेगावाट बिजुली छ। कुल पीक डिमाण्ड (भारत निर्यातसहित) २०४७ मेगावाट रहेको छ। यसले पर्याप्त उत्पादन भइरहेको देखाउँछ।
उत्पादन बढेपनि त्यस अनुरुप मिल्ने गरी प्रसारण र वितरण प्रणाली विकास गर्न सकिएको छैन। वितरण र प्रसारण प्रणालीमा पर्याप्त बनाउन नसक्ने हो भने भविष्यमा उत्पादन पर्याप्त हुँदाहुँदै पनि लोडसेडिङ गर्नुपर्ने अवस्था आउने विज्ञहरुले चेतावनी दिएका छन्।
काठमाडौं उपत्यकाको मात्रै प्रणाली सुधारका लागि ५० अर्ब रुपैयाँ खर्चनुपर्ने प्राधिकरणको निष्कर्ष छ। सोही अनुरुप काम भइरहेको दाबी गरिएको छ। उपत्यकामा करिब ४०० मेगावाट पीक लोड छ। करिब ५० मेगावाटभन्दा माथि लोड बढ्दा धान्न सक्ने खालको वितरण प्रणाली प्राधिकरणले विकास गर्न सकेको छैन।