घोराही सिमेन्टको आइपीओ भरेकाहरुले सेयर थपघट गर्नेदेखि आवेदन फिर्ता लिन सक्ने

बिजमाण्डू
२०८० असार २० गते १६:३४ | Jul 5, 2023

काठमाडौं। विवादका कारण अलपत्र परेको घोराही सिमेन्टको आइपीओ भरेकाहरुले पैसा फिर्ता लिन तीन दिनको समय पाउने भएका छन्। यो अवधिमा आवेदकहरुले दिएको पुरानो आवेदन पनि परिमार्जन गर्ने सुविधा दिने धितोपत्र बोर्डले जनाएको छ।

Tata
GBIME

बुधबार विज्ञप्ति जारी गर्दै बोर्डले सेयरमा आवदेन दिएका लगानीकर्ताहरुले सेयर थपघट गर्नेदेखि आवेदन फिर्ता वा खारेज गर्न मिल्ने भएको हो। घोराही सिमेन्टको आइपीओमा सर्वसाधारणको कुल ३ अर्ब ६१ करोड रुपैयाँ रकम होल्ड भइरहेको छ।

बोर्डका अनुसार बिक्री प्रबन्धकले पुन: यस बारे सूचना प्रकाशित गर्नेछ। सूचना प्रकाशित भएको तीन दिन भित्र पैसा फिर्ता दिने अथवा रद्द गर्न निवेदन दिनुपर्नेछ। नभए पहिलाभन्दा धेरै अथवा कम आवेदन पनि दिन मिल्छ।

उक्त तीन दिनमा पर्याप्त आवेदन नआए बोर्डले आइपीओ आवेदनको म्याद थप ७ दिनसम्म लम्ब्याउने अनुमति दिएको छ। यस अवस्थामा भने यसअघि घोराही सिमेन्टको आइपीओमा आवेदन नदिएकाहरुले समेत आवेदन दिन पाउने छन्।

यस्तै, बोर्डले फर्जी आवेदनको अनुसन्धान गर्न नेपाल प्रहरीलाई जिम्मा लगाउने भएको छ। कुल १२ जनाले खातामा पैसा नहुँदा नहुँदै समेत १०/१० लाख कित्ताका लागि आवेदन दिएका थिए।

बोर्डको अनुसन्धानमा एनआइसी एशिया बैंक पनि मुछिएको छ। पैसा नभएको खाताबाट बुझाएको आवेदन बैंकले स्वीकृत गरेको भन्दै बोर्डले कैफियत देखाएको हो। रकम नहुँदा पनि कसरी स्वीकृत भयो भनेर स्पष्टीकरण सोध्ने जनाएको छ।

बोर्डले पर्याप्त आवेदन पर्दापर्दै पनि आइपीओ आवेदनको म्याद लम्ब्याउने कम्पनी र बिक्री प्रबन्धहरुको निर्णयलाई पनि छानबिन गर्ने जनाएको हो। जस लगत्तै बोर्डले आइपीओ प्रक्रिया स्थगन गरेर आनुसन्धान अघि बढाएको थियो। जस कारण पछिल्लो १६ दिन देखि सर्वसाधरणको पैसा होल्ड भएको अवस्था थियो।

त्यहि वैदेशिक रोजगारी र आयोजना प्रभावित स्थानीयहरुलाई बिक्री गरेको सेयर बाँडफाँट भएर २९ करोड ४६ लाख रुपैयाँ कम्पनीको खातामा रकममान्तर भइसकेको थियो। आरक्षितअन्तर्गत कम्पनीका कर्मचारी र म्युचुअल फन्डलाई पनि सेयर बाँडफाँट भइसकेको छ।