
काठमाडौं। नेपालमा दूरसंचार कम्पनीहरुलाई जारी गरिएको सेसुलर स्पेक्ट्रम उच्च विन्दु (स्याचुरेसन) नजिक पुगेको छ।
नियामक नेपाल दूरसंचार प्राधिकरणले नेपालको रेडियो स्पेक्ट्रमको वर्तमान प्रयोग र भविष्यसम्बन्धी कन्सेप्ट पेपर/श्वेत पत्र सार्वजनिक गर्दै स्पेक्ट्रम स्याचुरेसनमा पुग्न लागेको भन्दै हाल संचालनमा रहेका टेलिकम अपरेटरहरुलाई थप स्पेक्ट्रम उपलब्ध गराउन सक्ने उल्लेख गरेको छ। साथै कुनै सेवा प्रदायकले नयाँ सेवा ल्याए समेत स्पेक्ट्रम उपलब्ध गराउन सक्ने जनाएको छ।
तर, त्यसरी स्पेक्ट्रम उपलब्ध गराउँदा भने गुणस्तर (क्वालिटी स्ट्यान्डर्ड) कायम गर्न प्राधिकरणले विभिन्न उपाय अपनाउने स्पष्ट पारेको छ।
नेपालको दूरसंचार क्षेत्रलाई अझै प्रतिस्पर्धात्मक बनाउन प्राधिकरणले स्पेक्ट्रम अक्सन सुरु गर्ने प्रक्रियामा रहेको स्पष्ट पार्दै अहिले कायम सेवा प्रदायकहरुलाई त्यसमा सहभागी नगराइने जनाएको छ। जसले नेपाली दूरसंचार बजारमा नयाँ टेलिकम अपरेटर आउन मद्दत पुग्ने र स्वस्थ प्रतिस्पर्धा विकास हुने अपेक्षा गरेको छ।
प्राधिकरणका अनुसार डेटाको बढ्दो प्रयोगका कारण टेलिकम अपरेटरहरुलाई थप स्पेक्ट्रम आवश्यक पर्ने जनाएको छ। सेवा प्रदायकहरुलाई अहिले छुट्याइएको भन्दा बढी नै स्पेक्ट्रमचाहिने भन्दै प्राधिकरणले अहिले जडित उपकरण त्यसपछि मात्रै पूर्ण क्षमतामा उपयोग हुने उल्लेख गरेको छ। त्यसका लागि टेलिकम अपरेटरहरुले थप पुँजी लगानी गर्न आवश्यक पर्छ। तर, पूर्ण क्षमतामा स्पेक्ट्रम उपयोग भइरहेको भए नयाँ उपकरण थप्नु आवश्यक हुने बताइएको छ।

उपभोक्ताहरुले अहिले प्रयोग गरिरहेका ह्यान्डसेटमा अझै गुणस्तरीय अनुभव (एक्सपेरियन्स) बढुल्न सक्ने सम्भावना समेत रहेको प्राधिकरणको बुझाइ छ। जसका लागि टेलिकम अपरेटरहरुबाट ८००, ९००, १८०० र २१०० मेगाहर्जमा अतिरिक्त स्पेक्ट्रम माग हुन सक्ने प्राधिकरणको भनाइ छ।
८०० र ९०० मेगाहर्ज ब्यान्ड ग्रामीण क्षेत्रका प्रयोगकर्ताहरुको गुणस्तर सुधारमा बढी माग हुने गर्छ भने १८०० र २१०० मेगाहर्ज ब्यान्ड उच्च क्षमता नेटवर्क भएका सहरी तथा घना वस्तीहरुमा। ७०० र २३००/२६०० मेगाहर्ज ब्यान्ड भने यी क्षेत्र तथा ब्यान्डको विकल्प मानिने प्राधिकरणले जनाएको छ।
नेपाल टेलिकमले २६०० मेगाहर्ज ब्यान्डको ६० मेगाहर्ज स्पेक्ट्रममा फाइभजी परीक्षण गरिरहेको छ। प्राधिकरणका अनुसार फाइभजी सेवा २६००/२१०० मेगाहर्ज ब्यान्डहरुमा लन्च गर्ने योजना छ। जसलाई कभरेजका हिसाबले ७०० मेगाहर्ज ब्यान्ड र क्षमतामा ३५०० मेगाहर्ज ब्यान्डमा विस्तार गर्न सकिने प्राधिकरणको भनाइ छ।
दूरसंचार प्राधिकरणले स्पेक्ट्रमको उपयोग बढाउन विभिन्न योजना तथा विकल्पसमेत अघि सार्ने भएको छ। जसका लागि स्पेक्ट्रम अडिट र प्रयोगविहीन स्पेक्ट्रमको व्यवस्थापन गर्ने भएको छ।

स्पेक्ट्रम अडिटमार्फत कुन टेलिकम अपरेटरले हरेक फ्रिक्वेन्सी कसरी उपयोग भइरहेको छ भन्ने यकिन विवरण आउने विश्वास प्राधिकरणको छ। विद्यमान फ्रिक्वेन्सीसम्बन्धी नियमअनुसार उपयोगविहीन स्पेक्ट्रम पुराना तथा नयाँ टेलिकम अपरेटरहरुलाई दिने योजनामा प्राधिकरण छ।
प्राधिकरणले भोइस ओभर एलटीइ (भीओएलटीइ) को प्रयोगलाई थप बढाउने र लिगेसी प्रविधिहरुलाई बन्द गर्ने योजना बनाएको छ। सीडीएमए, जीएसएम (टुजी), आइएमटी (थ्रीजी), आइएमटी एड्भान्स्ड (फोरजी), आइएमटी (फाइभजी) सेवा प्रदायकहरुले संचालन गरिरहेका छन्। तर, लगानी धेरै लाग्ने, कम गुणस्तर हुने, प्रतिफल नदिने प्रविधिहरुलाई बन्द गर्दै लग्नुपर्ने धारणा प्राधिकरणको छ।
प्राधिकरणले स्पष्टरुपमा नेपाली दूरसंचार बजारमा तेस्रो बलियो मोबाइल अपरेटर आवश्यक रहेको भन्दै नयाँ खेलाडी आउनुपर्ने उल्लेख गरेको छ।
यस्तै, प्राधिकरणले पुराना सक्रिय टेलिकम अपरेटरका साथै नयाँ आउने अपरेटरले समेत समान रुपमा प्रतिस्पर्धा गर्नुपर्ने भन्दै त्यसलाई प्रोत्साहन गर्दै स्पेक्ट्रम क्यापिङमा पुनरावलोकन हुनुपर्ने जनाएको छ।

प्राधिकरणले कभरेज र क्षमतालाई आधार बनाएर स्पेक्ट्रम ब्यान्ड वितरण हुनुपर्ने, नयाँ स्पेक्ट्रम ब्यान्डको पहिचान, अन्य प्रविधिलाई समेत स्पेक्ट्रम उपलब्ध गराउनुपर्ने र स्पेक्ट्रम वितरणको टाइमलाइन बनाउँदै स्पेक्ट्रम प्रयोगलाई व्यापक बनाउनुपर्ने योजना अघि सारेको छ।