
काठमाडौं। तीन दिनको भारी गिरावटपछि पुनरागमन भएको सेयर बजारमा नागरिक लगानी कोषको धेरै कारोबार भएको छ।
पछिल्लो तीन दिनमा १३४ अंक ओर्लिसकेको सेयर बजारले मंगलबार झन्डै १३ अंकको फड्को मार्यो। १२.२७ अंकले बढ्दा सूचक २०८८.७० अंकमा कायम छ। दिनभर ३७ अंकको उतारचढाव रह्यो।
यसबीच नागरिक लगानी कोषको सेयर किनबेच बाक्लो भएको हो। कम्पनीको मात्रै १२ करोड १७ लाखको सेयर खरिद बिक्री भयो। समग्र बजारमा जम्मा साढे २ अर्बको सेयर कारोबार भएको छ।
कम्पनीको मूल्य समायोजन भएकाले पनि सस्तोमा सेयर उठाउने थुप्रिएका हुन्। कोषको सेयर मूल्य झन्डै ४९ रुपैयाँ बढ्यो। २५ प्रतिशत बोनस सेयरका आधारमा सेयर मूल्य समायोजन भएको थियो। समायोजनपछि मूल्य २०९० रुपैयाँमा ओर्लिएको थियो। नभए कम्पनी २६१३ मा किनबेच भइरहेको थियो।
हकप्रदको स्वीकृति पाए लगत्तै एनएलजी इन्स्योरेन्सको सेयर बेच्नेहरुको पनि ओइरो लागेको छ। दोस्रो सबैभन्दा बढी कारोबार भएको एनएलजी २६ रुपैयाँ घट्यो। कम्पनीले ६६ प्रतिशत हकप्रद निष्कासन गर्दैछ।