
काठमाडौं। पछिल्लो करिब एक वर्षयता लघुवित्त संस्थाहरु निसानामा परिरहेका छन्। लघुवित्तले ऋणीहरुलाई शोषण गरेको भन्दै कर्जा तथा ब्याज मिनाहा मागसहित संघर्ष समिति पनि बन्यो।
लघुवित्त संस्थाहरु विरुद्ध प्रदर्शन भए। कर्मचारीलाई कुटपिटका साथै कार्यालय तोडफोड समेत भए। किस्ता नै नतिर्ने घोषणा धेरैतिरबाट भए। यी सबै कारणले लघुवित्तको कारोबार प्रभावित भयो, नाफामा पनि गिरावट आयो। यो अवस्था केही महिना अघिको हो। अहिले लघुवित्तविरुद्धका अराजक गतिविधि कम भएका छन्।
विस्तारै कारोबार सहज भएको छ। ऋण असुली प्रक्रिया पनि सुधारिन थालेको छ। संघर्षका कार्यक्रम साम्य हुन थालेपछि लघुवित्तको नियमितताले लय समात्न थालेको छ।
नेपाल लघुवित्त बैंकर्स संघका महासचिव रामबहादुर यादव अराजक आन्दोलनले केही समस्या भए पनि हाल आएर संस्थाहरु कारोबार रिकभरीको चरणमा रहेको बताउँछन्। उनका अनुसार आन्दोलनका कार्यक्रम केही मत्थर भएकाले काम गर्न सहज भएको छ। अर्को त्रैमासमा लघुवित्तको वित्तीय विवरणमा सुधार आउने उनको भनाइ छ।
‘अहिले आर्थिक मन्दीका कारण तत्कालै सबै ऋण तिर्न सक्ने अवस्था छैन। त्यसैले केन्द्रीय बैंकले पुनर्संरचना र पुर्नतालिकीकरण सुविधा पुनः दिएको छ। त्यही आधारमा ऋण तिर्नेहरु पनि आएका छन्। अर्को त्रैमासमा नाफा नबढे पनि ब्याज आम्दानी बढ्छ,’ उनले बिजमाण्डूसँग भने।
सीवाइसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलेन्द्रप्रसाद शर्मा वित्तीय साक्षरताका कार्यक्रम गरेर बुझाउन थालेपछि लघुवित्तविरुद्धको आन्दोलन कम हुन थालेको बताउँछन्।
‘म पछिल्लो समय पाँचवटा प्रदेशका लघुवित्तको भ्रमण गरेर आएँ। थुप्रै ठाउँमा वित्तीय साक्षरता कार्यक्रम पनि भयो। पहिला जुन हिसाबले कर्जा तथा ब्याज नतिर्ने भनेर प्रणाली बिगारिएको थियो, अहिले घट्दै गएको छ,’ उनले भने, ‘संघर्ष समितिमा लाग्नुभएका दिदीबहिनीहरुले पनि संघर्ष समितिलाई पैसा बुझाएर अनावश्यक हिड्नुभन्दा संस्थाको ऋण तिर्नुपर्छ भनेर भन्न थाल्नुभएको छ।’
उनका अनुसार लघुवित्तप्रति ऋणीहरु सकारात्मक भएकाले कारोबारमा सकारात्मक प्रभाव पार्ने देखिन्छ। ‘लघुवित्त संस्थाले उद्यमशीलता विकासमा ठूलो योगदान गरेको छ। त्यो योगदानलाई नजरअन्दाज गरेर एकतर्फी आक्रमणको प्रयास विफल भएको छ,’ शर्माले भने, ‘एउटा ठूलो संकटबाट बाहिर निस्किन सफल भएको छ। यसले पक्कै पनि राम्रो नतिजा ल्याउनेछ।’
उनका अनुसार ऋणीहरुले विस्तारै ब्याज तिर्न थालेका छन्। ‘सबै लघुवित्त संस्थाको ब्याज असुली राम्रो हुन थालेको छ। केही महिना अघिसम्म ऋणको कुरा गर्दा गाली र कुटाई खाने अवस्थाबाट अहिले ऋणी आफैं तिर्न आउँछु भन्नु ठूलो परिवर्तन हो,’ उनले भने।
वित्तीय अवस्था निराशाजनक
लघुवित्त वित्तीय संस्थाहरुको चैत मसान्तसम्मको वित्तीय विवरण निकै निराशाजनक देखिन्छ। नेप्सेमा सूचीकृत लघुवित्तमध्ये ५० वटाको नाफा घटेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरणमा छ।
४१ वटा लघुवित्त नाफा छन् भने १० वटा नोक्सानीमा। यस्तै समयमा कर्जा असुली नहुँदा सबैजसो लघुवित्तहरुको निष्क्रिय कर्जा अनुपात बढेको छ। यो अवधिमा ३७ लघुवित्त कम्पनीहरुको नाफा घटेको देखिएको छ।