रिलायन्स स्पिनिङको मूल्यांकन बढेर आएपछि बुक बिल्डिङमा १३ रुपैयाँ बढी हाल्न कम्पनी तयार देखिए

बिजमाण्डू
२०८० असार ११ गते १२:५५ | Jun 26, 2023
रिलायन्स स्पिनिङको मूल्यांकन बढेर आएपछि बुक बिल्डिङमा १३ रुपैयाँ बढी हाल्न कम्पनी तयार देखिए

काठमाडौं। यसअघि ५० प्रतिशत प्रतिबद्धता नआएको रिलायन्स स्पिनिङ मिल्सको सेयर किन्न (बुक बिल्डिङ) अहिले तीन कम्पनी तयार भएका छन्। तीन वटा योग्य संस्थागत लगानीकर्ता (क्यूआइआइ) ले ‘कट अफ’ मूल्यभन्दा १३ रुपैयाँसम्म महँगोमा सेयर मागेका हुन्।

Tata
GBIME
Nepal Life

यसको कट अफ मूल्य ६०८ रुपैयाँ छ। यसमा थप १३ रुपैयाँसम्म थपेर कम्पनीहरु रिलायन्स किन्न तयार भएका हुन्।

सेयरको कट अफ मूल्य ६०८ रुपैयाँ हो। कट अफ कायम हुनुअघि पहिलो मूल्यांकनमा मूल्य ७२९.९८ रुपैयाँ कायम भएको थियो। अहिले पुन: मूल्यांकन हुँदा रिलायन्सको प्रति कित्ता मूल्य बढेर ८७८ रुपैयाँ पुगेको छ। मूल्यांकन बढेका कारण कम्पनीहरु थप १३ रुपैयाँ तिर्न तयार भएका हुन्।

‘मूल्यांकन बढेर आएको भएर पनि होला किन्नेहरु थपिएका छन्,’ रिलायन्सका अध्यक्ष पवन गोल्यानले भने, ‘पछिल्ला दुई आर्थिक वर्ष त रेकर्ड प्रोफिट (ऐतिहासिक नाफा) गरेको थियो। अहिले उत्पादन पनि वृद्धि भएको छ।’ रिलायन्समा गोल्याण समूह र एमएस ग्रुपको संयुक्त लगानी छ।

उद्योगलाई सरकारको ८ प्रतिशत निर्यात अनुदानले पनि प्रोत्साहन गरेको छ, यसले गर्दा नाफा र कारोबारमा सुधार भएको हो। यही कारण बढेको मूल्यांकनका कारण नयाँले १३ रुपैयाँसम्म बढी मूल्य चुकाउन तयार भएका हुन्। कम्पनीले भने पुरानै समझदारीको मूल्य मागेको थियो।  

मनोकामना इन्भेष्टमेन्ट बिजनेस कम्पनी प्रालि, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ र स्काई टच इन्भेष्टमेन्ट एण्ड कन्सल्टेन्ट प्रालिले अहिले सेयर किन्न रुचि देखाएका हुन्। पहिलो चरणको बोलकबोलमा उनीहरुले भाग लिएका थिएनन्। 

धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको अनुमति प्रक्रियामा रहेका कारण उनीहरु सहभागी हुनबाट वञ्चित थिए। अहिले उनीहरुले अनुमति पाएका छन्।

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ ले पोहोर भदौ ८ गते र मनोकामना इन्भेष्टमेन्टले कात्तिक १५ गते स्वीकृति पाएका थिए। स्काई टचले भने २०७८ चैत २३ गते पाइसकेको भए पनि पहिलो पटकमा बोली लगाएको थिएन। 

तर, दोस्रो पटकमा किन्ने वाचा गर्नेहरु पछि हटेपछि यी तीन कम्पनीले ३ लाख २९ हजार कित्ता खरिदको प्रस्ताव गरेका हुन्। यो क्यूआइआइलाई छुट्याइएको सेयरमध्ये ४३ प्रतिशत हो। जसमध्ये मनोकामना इन्भेष्टमेन्ट ६२१ रुपैयाँसम्म मूल्य चुकाउन तयार छ।

कम्पनी एक्लैले १ लाख ५४ हजार कित्ता उठाउने प्रस्ताव गरेको हो। स्काई टचले १ लाख ५० हजार कित्ता ६०८ रुपैयाँको दरमा किन्न तयार छ। ग्लोबल आइएमई ब्यालेन्ड फण्ड-१ ले २५ हजार किन्ने मनसाय बनाएको छ। म्युचुअल फण्ड पनि ६०८ रुपैयाँमै किन्न राजी छ। 

अघिल्लो कटअफमा परेका २८ वटा क्यूआइआइमध्ये चारवटा पछि हटेका छन्। नेपाल टेलिकम, नागरिक लगानी कोष र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले प्रतिबद्धता पुरा गर्ने अझै तय छैन। कटअफमा संलग्न भेन्चर क्यापिटल प्रालिले पनि कन्फर्मेसन दिएको छैन।

कुल ५० प्रतिशतभन्दा बढी यही चारको प्रतिबद्धता थियो। तर दोस्रो पटक आशय माग्दा कम्पनीहरु निष्क्रिय देखिएका हुन्। जसलगत्तै बिक्री प्रबन्धकले उनीहरुले नभए नयाँ कम्पनीले किन्ने इच्छा जाहेर गरेको व्यहोरासहित बोर्डलाई पत्राचार गरेको थियो। तर, बोर्डबाट भने यसबारे कुनै प्रतिक्रिया आएको छैन।

विद्यमान व्यवस्था अनुसार किन्छु भनेको मूल्य र कित्ताबाट क्यूआइआइ पछि हट्न भने मिल्दैन। बोर्डले भने पुरानैले किन्न तयार भएसम्म नयाँले अवसर नपाउने अड्डी कसेर बसेको छ। अर्कोपट्टि पुराना चारले प्रतिबद्धता पुष्टि नगरिदिँदा अवस्था जेलिएको छ। बोर्डका अनुसार, पुरानाले किन्न तयार नभएको अवस्थामा मात्र बल्ल नयाँले दाबी गर्न मिल्छ। 

गोल्यानका अनुसार पुन: प्रतिबद्धता पुष्टि गरेका कतिपयले मूल्य बढाएर खरिद प्रस्ताव गरेका छन्। पहिलो चरणको बोली सस्तो लगाएको अल्का इन्भेष्टमेन्ट प्रालिले १२ रुपैयाँ बढीमा २० हजार कित्ता सेयर मागेको हो। यसअघि ५९६ रुपैयाँ मात्रै दिने मनसाय कम्पनीको थियो।

त्यस्तै ६० हजार कित्ताका लागि ६०१ रुपैयाँ बोली लगाएको गौरव नेपाल इन्भेष्टमेन्ट प्रालि बढी तिर्न तयार छ। कम्पनीले पनि ६०८ रुपैयाँको प्रस्ताव गरेको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल स्वयमंले ६०८ रुपैयाँमा २५ हजार कित्ता किन्ने भएको छ। पहिला ६०१ रुपैयाँ हाल्ने क्यापिटलको योजना थियो।