
काठमाडौं। गत विहीबार ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गर्न भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग सम्झौता भयो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सम्झौता भएको थियो। भारतीय कम्पनीले करिब एक वर्ष पहिलेनै आयोजना संयुक्त रुपमा बनाउने भन्दै प्रस्ताव गरेको थियो।
सोही प्रस्ताव अनुसार एनएचपीसीलाई फुकोट कर्णाली जलविद्युत आयोजना दिइएको हो। फुकोट कर्णांलीसँगै सोही मोडलमा निर्माण गर्न एनएचपीसीले पनि १९०२ मेगावाटको मुगु कर्णाली पनि मागेको थियो। दुवै आयोजनासँगै निर्मण अघि बढाउने भन्दै प्रस्ताव गरेको थियो। तर नेपाली पक्षले मुगु कर्णालीमा शर्त राखेपछि सम्झौता हुन सकेन।

विद्युत उत्पादन कम्पनीका एक उच्च अधिकारीले कम्तीमा फुकोट कर्णाली जलविद्युत आयोजना निर्माणमा गएपछि मात्रै दिन सक्ने बताएको थियो। ‘सबै आयोजना दिएर मात्रै हुँदैन। कम्तीमा फुकोट कर्णालीको काम सुरु भएपछि दिन सकिन्छ,’ उनले भने,’ केही प्रतिशत काम भएपछि मात्रै दिन्छौ भनेर हामीले शर्त राखेका छौं।’ सोही कारण फुकोट कर्णालीको सम्झौता भएपनि मुगु कर्णाली जलविद्युत आयोजनाको हुन सकेन।
ती अधिकारीका अनुसार ठूला आयोजनामा आन्तरिक स्रोत जुटाउन सकिदैन। विदेशी लगानी ल्याउनुको तत्काल विकल्प छैन्। ‘हामीले स्रोत जुटाउन नसकेपछि उसैलाई दिने हो। हामीलाई चाहि विदेशी कम्पनीले होल्ड गरेर थुप्रै आयोजना छोडेकाले कार्यान्वयनमा शंका हो,’ उनले भने,’ राजनीतिक निर्णय भयो भने त हाम्रो केहि लाग्दैन।’ यो आयोजना हात पार्नका लागि एनएचपीसी लबिइङमा छ।

मुगु कर्णाली जलविद्युत आयोजनाको पूर्व सम्भाव्यता सकेर एनईए इन्जिनियरिङ कम्पनीले सम्भाव्यता अध्ययन गरिरहेको छ। करिब ६ महिनामा सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्ने लक्ष्य छ। नेपालमा हाल अध्ययन भइरहेकामध्ये सबैभन्दा ठूलो जलाशययुक्त जलविद्युत आयोजना हो।
यो आयोजना निर्माणका लागि करिब ४ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजनाले वार्षिक ५८८३.१०गिगावाट आवर उत्पादन गर्न सक्छ। कर्णाली नदीमा पहिचान भएको यो आयोजना सबैभन्दा माथि निर्माण हुनेछ। त्यसभन्दा तल्लो बेल्टमा बाँकी आयोजनाहरु निर्माण हुनेछन्।
तल्लो तटीय क्षेत्रमा फुकोट कर्णाली जलविद्युत आयोजना रहेको छ। ती आयोजनाका लागि समेत यो आयोजनाको जलाशयले फाइदा पुग्नेछ। यो आयोजनाले बाढी रोक्छ। बाजुराको पिलुवाचौरमा आयोजनाको दुई विकल्पसहित हेडवर्क्स प्रस्ताव गरिएको छ।
आयोजनाको बाँध करिब २५० मिटर उचाइको हुने अनुमान छ। यो आयोजनाले कर्णालीका कालिकोट, मुगु, हुम्ला र जुम्ला गरी चार जिल्ला र सुदुरपश्चिमको बाजुराका विभिन्न क्षेत्रहरु प्रभावित हुनेछ।
एनएचपीसी त्यहि कम्पनी हो, जसले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी-६ जलविद्युत आयोजना पाएको छ। गत साता ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना पाएको छ। यो कम्पनीले नेपालका १६८० मेगावाटका ४ वटा आयोजना हात पारिसकेको छ। यो भारत सरकार स्वामित्वको कम्पनी हो।
यो कम्पनीको जडित क्षमता ७०७९.२० मेगावाट रहेको छ। संयुक्त उपक्रममा १५४६ मेगावाटका आयोजना निर्माण गरेको छ।जलविद्युतबाट ६९७१ मेगावाट, ५० मेगावाट हावाबाट र ७६ मेगावाट सोलारबाट उत्पादन गरिरहेको छ।
यो कम्पनीले भारतमा १६ वटा आयोजनाहरु निर्माण गरिरहेको छ। जसको कुल क्षमता १०४८९ मेगावाट रहेको छ।
ठूला आयोजनामहरुमा २००० मेगावाटको सुबनश्री लोवर, २८८० मेगावाटको दिब्याङ बहुउदेश्यीय जलविद्युत आयोजना रहेका छन। यी आयोजना अरुणाचल प्रदेशमा पर्छन्।