
काठमाडौं। अमेरिकी विद्यूतीय गाडी निर्माता कम्पनी टेस्लालाई भारतमा कारखाना बनाउन त्यहाँको केन्द्र सरकारले कुनै पनि सहुलियत नदिने भएको छ।
केन्द्र सरकारका अधिकारीहरुले तत्काल केन्द्र सरकार टेस्लालाई सहुलियत दिने मुडमा नरहेको बताएका छन्। तर, त्यहाँको राज्य सरकारले भने टेस्लालाई सहुलियत प्रदान गर्न स्वतन्त्र रहेको बताइएको छ।
राज्य सरकार आफ्नो तर्फबाट छुट दिन स्वतन्त्र छ। समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, टेस्लाले भारतीय बजारमा आफ्नो कारखाना बनाउन निकै चासो देखाएको छ र लामो समयदेखि आफ्नो कारखाना निर्माणको लागि संघर्ष गरिरहेको छ।
भारत अहिले तेस्रो ठूलो अटोमोबाइल बजार हो। यही कारणले गर्दा एलन मस्क टेस्लालाई भारतमा प्रवेश गर्न चाहन्छन्। भारतमा हरेक वर्ष ५० प्रतिशतले इभीको बिक्री बढिरहेको छ। त्यसै टेस्लाले भारतमा कारखाना निर्माण गरेर आफ्नो बजार हिस्सा बढाउने योजनामा छ।
अटोमेटिक कार निर्माता टेस्लाका मालिक अमेरिकी अर्बपति एलन मस्कले मे महिनामा भारतको भ्रमण गरेका थिए र विभिन्न सरकारी विभागहरूसँग वार्ता गरेका थिए।
योसँगै टेस्लाले सन् २०२१ मा भारतमा आफ्नो इलेक्ट्रिक कारको आयात शुल्क घटाउन माग गरेको थियो। भारतमा विदेशबाट पूर्ण रूपमा निर्मित कार आयात गर्दा ६० प्रतिशतदेखि शतप्रतिशतसम्म कर लाग्ने गरेको छ। यसले गर्दा टेस्लाको कार भारतमा बिक्री भएको छैन।