नबिल बैंकको दिगो घर कर्जा योजना, यस्तो घर बनाउनेले पाउनेछन् ५ करोडसम्म

बिजमाण्डू
२०८० जेठ २२ गते ०९:१० | Jun 5, 2023
नबिल बैंकको दिगो घर कर्जा योजना, यस्तो घर बनाउनेले पाउनेछन् ५ करोडसम्म

काठमाडौं। नबिल बैंकले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। विश्व वातावरण दिवसको अवसर पारेर बैंकले दिगो घर कर्जा योजना (नबिल सस्टेनेबल हाउजिङ लोन) को स्किम अघि सारेको हो।

Tata
GBIME
Nepal Life

केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले उक्त कर्जा योजनाको अनावरण गरेका छन्।

वातावरणमैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर घर निर्माण गर्न चाहने ग्राहकहरूले यसयोजना अन्तर्गत आवास कर्जा लिन सक्ने बैंकले जनाएको छ। बैंकले सुरुवात गरेको नबिल दिगो घर कर्जा ग्राहकहरुले बैंकको आधार दरमा मात्र १ प्रतिशत प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन् भने स्थिर ब्याजदर चाहने ग्राहकहरुले ७ वर्षका लागि वार्षिक १०.४९ प्रतिशतमा नै प्राप्त गर्न सक्ने बताइएको छ।

७ वर्षभन्दा बढी अवधि भएको स्थिर ब्याजदर चाहने ग्राहकहरुले ७ वर्षको लागि वार्षिक १०.४९ प्रतिशत र ७ वर्षपछि बाँकी अवधिमा ७ वर्ष पश्चातको आधार दरमा १.५ प्रतिशत जोडे हुने ब्याजदरमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

साथै यस स्किम अन्तर्गत ग्राहकले सेवा शुल्कमा पनि आकर्षक सहुलियत पाउनेछन् भने १ वर्षलाई २ लाखसम्मको नि:शुल्क क्रेडिट कार्ड पनि उपलब्ध गराइने बैंकको भनाइ छ।

यस कर्जालाई ग्राहकले सरल मासिक किस्तामा अधिकतम २० वर्षसम्ममा चुक्ता गर्न सक्नेछन्। यो कर्जा योजना बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने छ।

यो कर्जा प्राप्त गर्नका लागि ग्राहकले निर्माण हुन गइरहेको घरको हकमा घरको नक्सा पास पेस गर्नुपर्ने छ। उक्त नक्सामा वर्षाको पानी संकलन र संरक्षण गर्ने प्रविधि, फोहोर व्यवस्थापन गर्ने प्रविधि तथा किफायती ऊर्जा सामाग्रीहरू जस्तै सीएफएल, एलइडी लाइटहरूको प्रयोग, सोलार प्रविधिबाट पानी तताउने र किफायती बिजुलीको प्रयोग गरी खाना पकाउने प्रविधि जस्तै इन्डक्सन कुकिङ आदि प्रविधिहरू समावेश भएको हुनुपर्ने उल्लेख छ।

पौडेलले नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्‍याउने बताए। उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले दिगो बैंकिङ क्षेत्रमा गरेका विभिन्न कार्यहरूको बारेमा प्रकाश पारे।

बैंकका वरिष्ठ नायब कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नबिल दिगो घर कर्जा एउटा शुरुवाती प्रयास भए पनि यसले समाजमा पार्ने सकारात्मक असर तथा महत्त्वका बारेमा आफ्नो धारणा राखेका थिए।

उनले नबिलले ल्याएको यस कर्जाले सहुलियत दरमा कर्जा प्रवाह गरी यसले दिगो विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज दाहाल तथा स्मार्ट पानीका सहसंस्थापक सुमन शाक्यको उपस्थिति थियो।

नबिल दिगो घर कर्जा वातावरणमैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ। यस स्किमले देशको आवास निर्माण क्षेत्र भित्र वातावरणमैत्री र सामाजिकरूपमा जिम्मेवार अभ्यासहरू प्रवर्द्धन गर्ने विश्वास बैंकले लिएको छ।

दिगो आवासमा लगानी गर्न चाहने ग्राहकहरूलाई सस्तो ब्याजदर र सेवा शुल्कमा कर्जा प्रवाह गरी यस योजनाले समाजमा वातावरणमैत्री अभ्यासहरू अपनाउन प्रोत्साहन गर्ने अपेक्षा राखिएको छ।

यो कर्जा, वातावरणमैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर नयाँ घर निर्माण गर्न वा निर्माण भइसकेको घर खरिद गर्न, अन्य वित्तीय संस्थाबाट कर्जा लिइ वातावरणमैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी बनाएको घरको कर्जा स्वाप गर्न सकिने बैंकले जनाएको छ। यस्तै, नबिल बैंकबाटै घर कर्जा उपयोग गरिरहेका ग्राहकहरूले निर्माण भइसकेको घरमा वातावरणमैत्री तथा किफायती ऊर्जा प्रविधि जडान गरी घरको मर्मतसम्भार गर्न थप कर्जा चाहिएमा प्राप्त गर्न सक्ने बताइएको छ।

यस कर्जा उपयोग गर्ने प्रक्रिया अन्य घर कर्जाहरू जस्तै सरल हुनेछ। न्यूनतम कर्जा सीमा ७ लाख र अधिकतम सीमा ५ करोड रुपैयाँ हुने बैंकले जनाएको छ।