करिब दुई अर्बमा तयार भयो क्यानको नयाँ भवन, असारभित्रै बबरमहलका सबै विभाग सिनामंगल सर्ने

बिजमाण्डू
२०८० जेठ २१ गते ११:५१ | Jun 4, 2023
करिब दुई अर्बमा तयार भयो क्यानको नयाँ भवन, असारभित्रै बबरमहलका सबै विभाग सिनामंगल सर्ने


काठमाडौं। आठ वर्षअघि निर्माण सुरु गरेको नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित नयाँ भवन पौने दुई अर्ब रुपैयाँको लागतमा तयार भएको छ। हाल यस भवनमा एरोड्रोम र इन्जिनियरिङ विभाग सरिसकेको छ भने बाँकी विभागहरु आगामी असार महिनाभित्रै सर्ने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

Tata
GBIME
Nepal Life

‘भवन लगभग तयारी अवस्थामा आइसकेको छ। एरोड्रोम र इन्जिनियरिङ विभाग सरिसकेको छ। केही सरसफाइको काम, रङरोगन, नेटवर्किङको काम भइरहेको छ,’ प्रवक्ता निरौलाले भने,’बबरमहलमा रहेका अन्य विभागहरु असारभित्रै सिनामंगल स्थानान्तरण हुनेछ।’

यो भवनमा सेवा प्रदायकअन्तर्गतका सबै विभाग रहने उनले जानकारी दिए। एनोट आर्किटेक्चर एण्ड आर्किटेक्टले डिजाइन गरेको ११ तले नयाँ भवनमा पाँच सयभन्दा बढी कर्मचारीले काम गर्न सक्ने क्षमता रहने प्राधिकरणले जनाएको छ।

भवन परिसरमा ६६ वटा गाडी र ११५ वटा मोटरसाइकल/स्कुटरको लागि पार्किङ क्षमता छ।

२०७२ वैशाखदेखि निर्माण सुरु भएको नयाँ भवन भूकम्प, नाकाबन्दी, कोभिडलगायत विभिन्न कारणले पुरा भएर संचालनमा आउन ढिलाइ भएको उनले बताए।