
काठमाडौं। सोल्टी होटल लिमिटेड अन्तर्गतको दोस्रो हाइ इण्ड होटल ‘सोल्टी वेस्टेण्ड इटहरी’ पूर्वको सहर इटहरीमा संचालनमा आएको छ। ३० वटा कोठा बिक्रीबाट बुधबार सफ्ट ओपनिङ गरिएको हो। आगामी तीन महिनाभित्र क्यासिनोसहित ग्राण्ड ओपनिङ गर्ने योजना रहेको होटलले जनाएको छ।
व्यवस्थापनले क्यासिनोका लागि सेवाप्रदायक कम्पनीसँग छलफल अघि बढाइसकेको होटलका उपाध्यक्ष सुदर्शन चापागाईले बताए। कम्पनीको आफ्नै व्यवस्थापनमा संचालन हुने चितवनको पटिहानीपछिको यो दोस्रो होटल हो।
सफ्ट ओपनिङमा होटलले प्रमोसनल अफरका रुपमा एक रातको ९ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरेको जनाएको छ।
भारतीय र आन्तरिक पर्यटकलाई मध्यनजर गर्दै यो होटल संचालनमा ल्याइएको उपाध्यक्ष चापागाईँले बताए। एक बिघा क्षेत्रफलमा रहेको होटलको डिजाइन भारतीय इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो।
होटलमा ८० वटा कोठा छ। कोठाहरुमा एउटा प्रेसिडेन्सियल सुइट, आठ सुइट, १२ एक्जेक्युटिभ, २२ वटा डिलक्स छन् भने ४७ वटा स्ट्यान्डर्ड रुम छन्।

सञ्चालक कम्पनीका अनुसार होटलमा दुई ब्यांकेट, तीनवटा सेमिनार हल, स्पा, जिम, रेष्टुरेण्ट, लाउन्जलगायत विभिन्न सुविधा छ।
होटलले बिजनेस लक्जरी र ट्रान्जिट होटलको रुपमा सेवा संचालन गर्ने जानकारी चापागाईले दिए। इटहरी आफैंमा बिजनेस हब भइसकेका कारण आन्तरिक र बाह्य पर्यटकको माग अनुसार सेवा दिइने उनको भनाइ छ।
होटलमा ४० जना अटाउने एक रुफ टप रेस्टुरेन्ट छ। एक सय जना क्षमताको फाइन डाइनिङ र ४० जनाको क्षमताको क्याफे एन्ड बेकरी छ। पार्टी/भोज तथा सभा समारोहका लागि एक हजार जना क्षमता र ७ सय क्षमताको एक/एक ब्यांकेट हल छन्।
होटलमा स्विमिङ पुल, हेल्थ क्लब, स्पा लगायतका अन्य सुविधा राखिएको जनाइएको छ।
आठ वर्षअघि निर्माण सुरु गरिएको होटल गरिमाको व्यवस्थापनको जिम्मा सोल्टीले पाएसँगै यो ‘सोल्टी वेस्टेण्ड इटहरी’ को नाममा संचालनमा आएको हो।