के मञ्जु खाण शरणार्थी प्रकरण छानबिनको ‘सिन’ बाट ‘आउट’ हुन लागेकी हुन्?



२०८० जेठ ३ गते ०८:५२
के मञ्जु खाण शरणार्थी प्रकरण छानबिनको ‘सिन’ बाट ‘आउट’ हुन लागेकी हुन्?


काठमाडौं। ‘मञ्जु खाणबारे पार्टीले फलो गर्दैन, कहाँ हुनुहुन्छ भनेर,’ मंगलवार कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलनमा यसै भने। सञ्चारकर्मीले मञ्जु खाणबारे प्रश्‍न गर्दा उनले दिएको यस्तो जवाफले शरणार्थी प्रकरणमा उनी ‘सिन’बाट आउट हुन लागेकी त होइनन् भन्ने प्रश्‍न उब्जिएको छ।

Tata
GBIME

मञ्जु कांग्रेसकी समानुपातिक सांसद हुन्। पति बालकृष्ण खाण पक्राउ पर्नुअघिदेखि मञ्जु कहाँ छिन् भन्ने धेरैका लागि चासोको विषय बनेको छ। कारण हो उनीमाथि लागेको आरोप र प्रहरीले सम्पर्क गर्दा भेट्न नसक्नु।

मञ्जुका पति बालकृष्ण वैशाख २७ गतेदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको नियन्त्रणमा छन्। खाण काठमाडौंको चुच्चेपाटीबाट समातिएका थिए।

त्यतिखेर घरमा खाण मात्रै थिए। उनकी श्रीमती मञ्जु भने केही समयदेखि छुटै ललितपुर घरमा बस्दै आएकी थिइन्। पक्राउ परेको सात दिन बितिसक्दा पनि मञ्जु हिरासतमा रहेका श्रीमान् भेट्न समेत पुगेकी छैनन्।

उनलाई जोडेर अडियो टेप पनि सार्वजनिक भएको छ, जसलाई उनले प्रतिवाद गरेकी छैनन्। त्यस्तै, उनी कहाँ छिन् भन्ने जानकारी धैरैलाई छैन। यतिसम्म कि पार्टीसमेत उनलाई फलो नगरिरहेको भन्दै पन्छिएको छ।

मञ्जु खाण खोजी हुनुको कारण नक्कली भुटानी शरणार्थी प्रकरण नै हो। अहिलेसम्म यस प्रकरणमा पूर्व उपप्रधानमन्त्रीदेखि सरकारका सचिव समेत गरेर १४ जना पक्राउ परिसकेका छन्।

घटना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा र चासोको विषय बनिरहेका बेलामा मञ्जु खाण र सांसद आरजु देउवाको नाम जोडिएको एउटा अडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। जसमा दुवै जनाले शरणार्थी बन्न चाहने नेपालीसँग रकम लिएको भनिएको छ। तर, अडियोबारे स्वतन्त्र प्रमाण जुटिसकेको छैन।

आरजुले अडियो फेक भएको भन्दै त्यो कसले जारी गरेको हो पत्ता लगाउन प्रहरीमा उजुरी दिएकी छन्। आरजुको उजुरीपछि साइबर ब्युरोले अडियोको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।

‘हामीले उजुरी परेपछि कसले अपलोड गर्‍यो भनेर हेरिरहेका छौं,’ साइबर ब्युरोका एसपी पशुपति रायले भने।

सांसद आरजुले अहिले विभिन्न सञ्चार माध्यमबाट उनीमाथि लागेको आरोपको डटेर खण्डन गरिरहेकी छन्। सोमवार प्रतिनिधिसभामा उभिएरै उनले आफूविरुद्धका प्रश्‍नमाथि जवाफ दिइन्।

उनीमाथि भएका कटाक्षलाई लिएर प्रतिप्रश्न गरिन्। तर, सांसद नै रहेकी मञ्जु भने सम्पर्कविहीन छिन्।

कांग्रेस प्रवक्ता महतले अडियो मार्फत मिडिया ट्रायल गर्न खोजेको आरोप लगाएका छन्।

‘अडियो प्रकरण नक्कली हो भन्ने हाम्रो विश्वास हो,’ उनले भने।

आरजु यही प्रकरणमा प्रतिरक्षामा उत्रिएको बताउँदै महतले अहिले मिडिया ट्रायल गरेर फसाउने काम भइरहेको बताए।

‘मिडिया ट्रायल गरेर दोषी हो त भन्नुभएन नि! सामाजिक सञ्जालले दोषी हो भन्दैमा कोही दोषी हुन्न,’ महतले भने।

जसरी महतले यसमा प्रतिक्रिया दिएका छन् त्यसरी किन अगाडि आउन सकेकी छैनन् त मञ्जु? उनी गायव हुनुले नै प्रश्नमाथि प्रश्न जन्माएको छ- ‘आखिर किन भूमिगत भइन् त मञ्जु?’

शरणार्थी प्रकरणमाथि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान गरिरहेको छ। प्रहरीले मञ्जु खाणको बारेमा पनि अनुसन्धान गर्ने बताएको छ।

‘प्रमाणले देखिए अनुसन्धान हुन्छ। पहिले अडियो कस्तो हो भन्ने खुलोस्,’ प्रहरी स्रोतले भन्यो।

मञ्जु खाणले बोक्दै आएको मोबाइल पछिल्लो केही दिनदेखि अफ छ। उनी कुनै पनि सार्वजनिक कार्यक्रमा देखिएकी छैनन्।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार उनी नेपालमा नहुने सम्भावना बढी भएको देखिएको छ। तर उनी कहाँ गइन् भन्ने चाहिँ खुलेको छैन।

यता, नक्कली शरणार्थी प्रकरणको अनुसन्धानको समय घर्किँदै गएको छ। अबको २/४ दिनमा प्रहरीले अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा बुझाउनुपर्ने छ।

यसैबिच, आइतवार र सोमवार दुई हाइ प्रोफाइल व्यक्ति समातिएका छन्। जसमा नेकपा (एमाले)का निलम्बित सचिव टोपबहादुर रायमाझी र पूर्व सभासद् आङटावा शेर्पा छन्।

रायमाझीको सोमवार नै बयान सकिएको छ। बाँकीको बयान र अनुसन्धान बाँकी नै छ। समय घर्किँदा प्रहरीको अनुसन्धानमा प्रभावित हुने त होइन भन्ने आशंका पनि उत्तिकै बढ्दो छ।

त्यस्तै, प्रहरीले यस घटनामा जोडिएका अन्य व्यक्तिको पनि खोजी गरिरहेको छ। पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा र पक्राउ भएका बादलका सल्लाकार डाक्टर इन्द्रजीत राईका छोरा निरज पनि फरार छन्।

उनीहरु समातिएपछि घटनाको अन्य पाटो खुल्ने प्रतीक्षामा प्रहरी छ। अनुसन्धान सकिँदा पनि उनीहरु सम्पर्कमा नआए प्रहरीले फरार प्रतिवादीका रुपमा उनीहरुविरुद्ध केस अगाडि बढाउने छ।

तर फरार रहेकी मञ्जु अहिलेसम्म अनुसन्धानको पात्र भएपनि प्रतिवादी नै बनाएर लैजाने ठोस प्रमाण प्रहरीसँग छैन। त्यसैले उनी यस प्रकरणमा सिनबाट नै आउट हुनसक्ने प्रहरीको आँकलन छ।