
काठमाडौं। म्याग्दीमा एउटा जलविद्युत आयोजना थपिने भएको छ। रघुगंगा गाउँपालिका भएर बग्ने स्यानो खोलामा ४.७५ मेगावाटको स्यानो खोला जलविद्युत आयोजना निर्माण हुन लागेको हो।
कर्णाली जलस्रोत लिमिटेडले बनाउन लागेको यो आयोजनाको सम्भाव्यता र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भएको छ। विद्युत विकास विभागले सार्वजनिक सूचना जारी गर्दै आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवालालाई आग्रह गरेको छ।
नदी प्रवाहमा आधारित यो आयोजनाको डिजाइन बहाव २.३५ घनमिटर प्रतिसेकेण्ड र कुल हेड २४५.९५ मिटर हुनेछ। वार्षिक सरदर २८.२० गिगावाट घण्टा बिजुली उत्पादन हुनेछ।
आयोजनाका मुख्य संरचनाहरु स्यानो खोलाको दायाँ किनारमा निर्माण हुनेछन्। खोलाको पानी फर्काउन बनाइने बाँधको लम्बाइ १६ मिटर हुनेछ। स्टील पाताको ३१८६ मिटर लामो हेडरेस पाइपमार्फत पानी विद्युतगृहमा पुर्याइने छ।
उत्पादित ऊर्जालाई २० किमि लामो ३३ केभी प्रसारणलाइनमार्फत नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनमा जोडिने छ।