सर्वोत्तमले बजेटपछि आइपीओ जारी गर्ने, आशय दिएकालाई मूल्य चुकाउन अर्को साता पत्राचार

बिजमाण्डू
२०८० बैशाख २७ गते १४:४७ | May 10, 2023
सर्वोत्तमले बजेटपछि आइपीओ जारी गर्ने, आशय दिएकालाई मूल्य चुकाउन अर्को साता पत्राचार

काठमाडौं। सर्वोत्तम सिमेन्टले आगामी आर्थिक वर्षको बजेट घोषणापछि मात्रै बुक बिल्डिङ प्रक्रिया अघि बढाउने भएको छ। नीतिगत परिमार्जनको पर्खाइमा रहेको कम्पनीले प्रक्रियालाई बजेटपछि धकेल्ने योजनामा छ।

Tata
GBIME
Nepal Life

स्रोतका अनुसार बजेटमा सिमेन्ट उद्योगलाई सहुलियत हुने केही बुँदा समावेश गरिँदैछ। जसले आम्दानीलाई टेवा पुर्‍याउँदा सिमेन्ट उद्योगको भ्यालुएसनमा बढोत्तरी हुने निश्चित छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार १० प्रतिशतको फरक अघिल्लो र अहिलेको मूल्यमा देखिन्छ।

‘बजेटपछि आर्थिक गतिविधि पनि चलायमान हुन्छ। सँगै पूर्वाधार खर्चलाई प्राथमिकता दिइन्छ,’ स्रोतले भन्यो, ‘अन्य केही नीतिगत सहजतामा पनि जोड दिने भनिएको छ।’

२० दिनपछि बजेट सार्वजनिक हुँदैछ। सुस्ताएको निजी क्षेत्रको मनोबल उकास्ने र पोहोर साँघुरिएको आर्थिक वृद्धिदरलाई पुनः लयमा ल्याउन अर्थमन्त्रीको दौडधुप जारी छ। सँगसँगै सरकारी वित्तको खाडललाई पनि पुर्नैपर्ने दबाब हो। जसका लागि उद्योगीहरुको भूमिकाबारे अर्थमन्त्री डा. प्रकाशशरण महत सचेत पनि छन्। मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले रियल इस्टेटप्रति लचक हुने सुनिएको छ। जसले निर्माण क्षेत्रलाई चलायमान बनाउँछ।

यसले निश्चय पनि उद्योगीलाई प्रोत्साहन हुने खालको बजेट आउने स्रोतको दाबी छ। घोराही सिमेन्टले पनि बजेटको मुखैमा प्रिमियमको आइपीओ बिक्री गर्दैछ। उनका अनुसार बजेटलाई पर्खिँदा सर्वोत्तमले बोर्डको मूल्य पुनरावलोकन बारे पत्रलाई ढिलासुस्ती गरेको हो।

बिक्री प्रबन्धकले भने पहिलाको भन्दा मूल्य फरक पर्ने भन्दै बोर्डलाई मंगलबार पत्राचार गरेको छ। ‘पुरानै विधिबाट मूल्य निकालिएको हो। तर यसपालि कम्पनीको वर्तमान वित्तीय अवस्थालाई मूल्यांकन गरी मूल्य तय गर्दा करिब १० प्रतिशत जतिको फरक छ,’ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका सीइओ पारसमणि ढकालले भने,’मूल्यमा आएको भिन्नता बारे बोर्डलाई सूचित गरिएको मात्रै हो।’

बिक्री प्रबन्धकले यसअघि ६२७ रुपैयाँ मागेको थियो। तर योग्य संस्थागत लगानीकर्ताले भने ५०१ रुपैयाँमा सबै किन्ने आशय दिएका थिए। लगभग २८ जनाले दिएको सो आशयबारे बिक्री प्रबन्धक यसपटक भने केही संशयमा छ।

पछिल्लो पटक बोर्डले कम्पनीहरुलाई मूल्य पुनरावलोकन गरेर आउन सुझाएको थियो। जसअनुसार बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यपिटलले पुनः मूल्यांकन गर्‍यो। तर, दोस्रो पटकमा कम्पनीको वित्तीय अवस्था पहिलाभन्दा निराशाजनक आएको हो। जसले गर्दा प्रक्रिया अघि बढाउन कम्पनी हच्किएको थियो।

झन् एउटै मात्रै सूचीकृत सिमेन्ट कम्पनीको मूल्य पनि अनपेक्षित रुपमा घट्दा सर्वोत्तम रणनीति बदल्न बाध्य देखिन्छ। शिवम् सिमेन्टको मूल्य ४०० रुपैयाँमा ओर्लियो। जुन कम्पनीले सर्वसाधारणलाई प्रिमियममा बेचेको हाराहारी हो। यसैबीच घोराहीको आइपीओ नबिक्ने भन्ने ठूलो संशय देखिएको छ।

जसले गर्दा सर्वोत्तम अर्थतन्त्र र सेयर बजारको अवस्थालाई मूल्यांकन गरेर योजना बनाउन पछि हटेको हो। जसलाई आगामी बजेटमा समावेश हुने केही बुँदाले भरथेग गर्नेमा कम्पनीका पदाधिकारीहरु ढुक्क छन्।

सर्वोत्तम आफैंमा सिमेन्ट उद्योगहरुका टप टायर प्लेयरमध्ये एक हो। वार्षिक १० लाख मेट्रिक टनको क्लिंकर र ग्राइन्डिङ क्षमता छ। कर्जा प्रतिको न्यून निर्भरताले कम्पनीको मूल्यांकनलाई अझ मजबुत बनाउँछ। जुन अवसर मूल्यमा थपिन्छ।

विद्यमान व्यवस्थाअनुसार योग्य संस्थागत लगानीकर्ताले प्रतिबद्धता जनाएको मूल्य र कित्ता हेरफेर गर्न मिल्दैन। तर प्रक्रिया सुरु गर्दाको बेलाभन्दा अहिले अवस्था निकै फरक रहेको ढकाल तर्क गर्छन्। आर्थिक गतिविधि सुस्ताउँदा कम्पनीको आम्दानी र नाफा दुवैमा असर गर्‍यो।

बोर्डको पछिल्लो निर्देशन अनुसार यसअघि आशय दिएका योग्य संस्थागत लगानीकर्तालाई सोही मूल्य हाल्ने कि नहाल्ने बारे रिकन्फर्म गर्नुपर्ने थियो। तर बुक बिल्डिङबाट आइपीओ निकाल्ने पहिलो कम्पनी निष्क्रिय बस्दा अवस्था पेचिलो बनेको हो। सबै ठिक रहे आगामी सातादेखि योग्य संस्थागत लगानीकर्ताहरुलाई पुनः त्यही मूल्य हाल्ने कि नहाल्ने भन्ने पत्र पठाउने तयारी बिक्री प्रबन्धकको छ।