ब्याज र अन्य आम्दानीले बढायो बुटवल पावरको नाफा, विद्युत बिक्री भने सुस्तायो

बिजमाण्डू
२०८० बैशाख २६ गते ०९:४२ | May 9, 2023
ब्याज र अन्य आम्दानीले बढायो बुटवल पावरको नाफा, विद्युत बिक्री भने सुस्तायो


काठमाडौं। कोर बिजनेस सुस्ताएपनि बाह्य स्रोतको आम्दानी बढ्दा बुटवल पावर कम्पनीको नाफा झन्डै १३ प्रतिशत बढेको छ।

Tata
GBIME
NLIC

चालु आवको चैतसम्म कम्पनीले २६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन पोहोर २३ करोड ७५ लाख रुपैयाँ थियो। यो भनेको १२.८८ प्रतिशतको वृद्धि हो।

विद्युत बिक्री बापतको आम्दानी भने २ प्रतिशत साँधुरिएर ५८ करोड ३१ लाख रुपैयाँमासिमित छ। पोहोर चैतसम्म ५९ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो।

विद्युत उत्पादन नै घटेपछि बिक्री गर्ने लागत पनि खुम्चिएको छ। सँगै अन्य स्रोतको आम्दानी भने बढ्दा सञ्चालन नाफामा बढोत्तरी देखिन्छ। यस्तो आम्दानी ९६ प्रतिशत बढेर ६ करोड ८० लाख रुपैयाँ पुगेको हो। जसबाट खर्चका शिर्षक बढ्दा पनि सञ्चालन मुनाफा पोहोरभन्दा ५.२८ प्रतिशत बढी छ।

यस बाहेक निक्षेप ब्याजदर बढेकाले कम्पनीको ब्याज आम्दानी १४.८२ प्रतिशत सुधार भयो। ८ करोड ४४ लाख ब्याजबाट मात्रै आर्जन गरेको छ। अर्कोपट्टि ब्याज भुक्तानी बढेर ९६ लाख रुपैयाँ नाघेको छ जुन पोहोरभन्दा ३ प्रतिशत बढी हो।

३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बुटवल पावर कम्पनीको जगेडा तथा अन्य कोष साँघुरिएर ३ अर्ब ६० रुपैयाँमा ओर्लिएको छ।

खुद नाफासँगै प्रति सेयर आम्दानी बढेर ७.८७ रुपैयाँ पुगेको छ। चैतसम्म कम्पनीको प्रति सेयर नेटवर्थ घटेर २०५.६५ रुपैयाँ कायम छ।