
काठमाडौं। गुगलले आफ्नो सर्च इन्जिनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल्स समावेश गर्ने भएको छ। हाल गुगलको प्रमुख प्रतिस्पर्धी माइक्रोसफ्टले फण्ड गरेको एआई कम्पनी ओपन एआईको च्याटजीपीटीले विश्वभर लोकप्रियता कमाइरहेको बेला गुगलले यो कदम चालेको हो।
गुगलले आफ्नो सर्च इन्जिनमा भिडियो क्लिपहरू तथा एआई च्याट लगायतका टुल्सहरू समावेश गरेर थप ‘दर्शनीय, प्रयोगकर्तामैत्री, निजी तथा मानवीय बनाउने योजना बनाइरहेको वाल स्ट्रीट जर्नलले शनिबार रिपोर्ट गरेको छ।
टेक जायन्टले आफ्नो सेवालाई खोजीका नतिजाहरु प्रस्तुत गर्ने परम्परागत ढाँचा ‘१० ब्लू लिङ्कहरू’ बाट टाढा लैजानेछ। र यसको सट्टामा मानव आवाजहरू समेत समावेश गर्नेछ।
आगामी हप्तामा हुने गुगलको वार्षिक आई/ओ डेभलपर कन्फरेन्समा, गुगलले आफ्नो नयाँ फिचरहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। यसमा प्रयोगकर्ताहरूलाई एआई कार्यक्रमसँग कुराकानी गर्न सक्ने प्रोजेक्ट कोड ‘मागी’ पनि समावेश रहेको वाल स्ट्रीट जर्नलमा उल्लेख छ।
हाल जेनेरेटिभ एआई ‘बजवर्ड’ नै बनेको छ। यसको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै विश्वभरका टेक कम्पनीहरू एआईयुक्त प्रोडक्टहरू बनाउन र लञ्च गर्ने होडमा देखिन्छन्। अर्कोतिर यसले मानवीयपनमा गम्भीर खतरा उत्पन्न हुने समेत औल्याइएको छ।