अमेरिकामा फेडले लगातार दसौँ पटक बढायो ब्याजदर, १६ वर्षयताकै उच्च तहमा पुग्यो

बिजमाण्डू
२०८० बैशाख २१ गते ११:५५ | May 4, 2023
अमेरिकामा फेडले लगातार दसौँ पटक बढायो ब्याजदर, १६ वर्षयताकै उच्च तहमा पुग्यो

काठमाडौं। अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको महँगीलाई सन्तुलनमा राख्ने भन्दै ब्याजदर फेरि बढाएको छ। फेडरल रिजर्भले ०.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएको हो। 

Tata
GBIME
Nepal Life

मार्च सन् २०२२ मा शून्य आसपास रहेको ब्याजदर फेडको यो कदमले बेन्चमार्क दर ५ प्रतिशतबाट ५.२५ प्रतिशत पुगेको छ। विगत चौध महिनामा फेडले लगातार दसौँ पटक ब्याजदर बढाएको हो। यो वृद्धिसंगै अमेरिकी केन्द्रीय बैंकको ब्याजदर १६ वर्षयताकै उच्च तहमा पुगेको छ।

फेडले यो वृद्धि अहिलेको लागि अन्तिम हुनसक्ने पनि संकेत गरेको छ। उच्च ब्याजदरले गर्दा संसारको सबैभन्दा ठूलो अर्थतन्त्रमा कर्जाको लागत तीव्र रूपमा बढेको छ। हाल अमेरिकामा कर्जाको लागत सन् २००७ सेप्टेम्बर यता कै उच्च भएको छ। 

कर्जाको लागत उच्च हुँदा अमेरिकी घरजग्गा कारोबारमा मन्दी झैं छाएको छ भने दुई महिनाको अन्तरालमै अमेरिकाका तीन प्रमुख बैंक टाट पल्टिएका छन्। सिलिकन भ्याली बैंक, सिग्नेचरपछि केही दिन अघि मात्रै फर्स्ट रिपब्लिक पनि टाट पल्टिएको हो।

फेडेरल रिजर्भका प्रमुख जेरोम पावेलले यस ब्याजदर वृद्धिलाई ‘महत्वपूर्ण परिवर्तन’ भएको बताउँदै भने, ‘हामी अब ब्याज दरमा थप वृद्धि हुनेछ भनेर भनिरहेका छैनौं।’ 

उनले फेडको आगामी कदम के हुनेछ भन्ने नखुलाई आगामी कदम सबै आउने डाटामा निर्भर हुने जानकारी गराए।

बैंकले गत वर्षदेखि आक्रमक रूपमा ब्याजदर बढाउन थालेको थियो जब अमेरिकामा मूल्यवृद्धि दशकौं यता कै मूल्यवृद्धि द्रुत गतिमा बढिरहेको थियो।

फेडले ब्याजदर बढाएसंगै बेलायत र युरोप लगायत विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाएका थिए। 

उच्च ब्याजदरले घर किन्न, व्यवसाय विस्तार गर्न ऋण लिन वा अन्य ऋण लिन महँगो बनाउँछ। ती लागतहरू बढाएर, अधिकारीहरूले माग घट्ने र स्वत: मूल्यहरू घट्ने हुने अपेक्षा गर्छन्।

फेडले लगातार ब्याजदर बढाउने श्रृंखला सुरू गरेदेखि अमेरिकामा मूल्यवृद्धिले केही सुस्ताएको संकेत देखाएको छ। 

मार्चमा, मुद्रास्फीति दर लगातार नवौं पटक घटेर ५ प्रतिशत पुगेको छ। यो दर दुई वर्षयता कै सबैभन्दा कम हो भने ५.२ प्रतिशतको बजार पूर्वानुमान भन्दा पनि कम हो।

 मुद्रास्फीति दर २ प्रतिशतमा फर्काउने लक्ष्य छ। हालको मुद्रास्फीति दर फेडको लक्षित दरभन्दा अझै उच्च नै रहेको छ। त्यसैले, अधिकारीहरूले मुद्रास्फिती दर लक्ष्यको दायरामा ल्याउन ब्याजदर वृद्धि उपयुक्त रहेको तर्क गरेका छन्।

म्यानेजमेन्ट कन्सल्टिङ कम्पनी ईवाई-पार्थेननका प्रमुखअर्थशास्त्री ग्रेगरी डकोले आर्थिक गतिविधि सुस्त हुँदा अर्थव्यवस्थामा जोखिम बढ्दै गएको उल्लेख गर्दै  फेड अब ‘पज’ गर्न उपयुक्त हुने तर्क राखेका छन्। 

‘हाल अर्थतन्त्रमा मन्दीको डर धेरै नै रहिरहेको छ,’ उनले भने, ‘मुद्रास्फीतिको लडाई समाप्त भएको छ भन्ने मलाई लाग्दैन, तर अहिले को अवस्थामा हर्दा क्रमशः ‘डिस्फ्लेसन’ (मुद्रास्फीति दरमा गिरावट) देखिरहेका छौं र हामी यस्तो वातावरणमा छौं जहाँ ब्याज दर  निकै उच्च छ। जसले व्यापार गतिविधिमा थप संकुचित बनाउछ। जसकारण आगामी महिनाहरूमा थप डिस्फ्लेसन हुनेछ।’

न्युयोर्कमा रहेको फर्म बल चेन मैन्युफ्याक्चरिङका अध्यक्ष बिल टाउनरका अनुसार आर्थिक चिन्ताका कारण पछिल्ला महिनाहरूमा ग्राहकहरू खरिद गर्दा बढी सतर्क भएका छन्। घट्दो कर्जा प्रवाह र पछिल्लो समय अमेरिकी बैंकिङ क्षेत्रमा छाएको संकटका कारण अर्थव्यवस्थामा केही भार पर्ने सम्भावना रहेको पावेलले बताएका छन्।

उनले बढ्दो रोजगारीका कारण बेरोजगारी कम हुँदै जाँदा अमेरिका मन्दीतर्फ जानबाट बच्ने प्रक्षेपण पनि उनले गरेका छन्। हाल अमेरिकामा बेरोजगारी दर ३.६ प्रतिशतबाट ३.५ प्रतिशतमा झरेको छ।

बुधबार ब्याजदर  बढाउने फेडको निर्णय सर्वसम्मत थियो । वित्तीय बजारहरूले पनि यसलाई अपेक्षित नै भनेका छन्। बैंकले मुद्रास्फीतिलाई नियन्त्रणमा ल्याउन ‘केही अतिरिक्त नीति बनाउन उपयुक्त हुनेपनि उल्लेख गरेको छ। (एजेन्सीको सहयोगमा)