धुलिखेल माउन्टेन रिसोर्टबाट हैबुङ पुगेका अरुण, अर्गानिक खेतीसँगै पर्यापर्यटनको अर्को प्रोजेक्ट



ऋषिकेश दाहाल
२०८० बैशाख १६ गते ०८:५० | Apr 29, 2023
धुलिखेल माउन्टेन रिसोर्टबाट हैबुङ पुगेका अरुण, अर्गानिक खेतीसँगै पर्यापर्यटनको अर्को प्रोजेक्ट


काठमाडौं। काभ्रेको पाँचखालस्थित धुलिखेल माउन्टेन रिसोर्ट र हैबुङको प्रकृति रिसोर्टका सञ्चालक फरक छन्, ठाउँ फरक छ। तर, दुवै व्यवसायिक प्रतिष्ठानको नाता अभिन्न छ। काठमाडौंका विष्णुबहादुर श्रेष्ठले सन् १९८१ मा खोलेको धुलिखेल रिसोर्ट ३३ वर्षपछि २०७१ मंसिरमा बिक्री भएको थियो।

Tata
GBIME

१९९८ मा श्रेष्ठको निधनपछि उनको पारिवारले सञ्चालन गर्दै आएको उक्त रिसोर्ट टीबीआइ समूहले किनेको थियो। करिब ४० करोडमा रिसोर्ट बिक्रीपछि श्रेष्ठ परिवार पर्यटन क्षेत्रबाट पलायन भएन, बरु अझ व्यवस्थित योजनासहित नयाँ गन्तव्य तयार पार्न लागिपरेको छ। विष्णुबहादुरका छोरा अरुणले चलाएको अर्को प्रोजेक्ट हो हैबुङको प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्म।

हैबुङको उक्त रिसोर्टमा १२० रोपनी जग्गा छ। तीमध्ये ५० रोपनी कम्पनीको हो। बाँकी भाडामा खेतीका लागि। रिसोर्टमा मात्रै १२ करोड रुपैयाँ लगानी भइसकेको छ। सन् २०१३ देखि बन्न सुरु भएको प्रकृति अहिले पनि सुविधा विस्तारका क्रममा छ। यहाँ आन्तरिक त बाह्‍य पदयात्री पर्यटक धेरै पुग्छन्। अर्गानिक आतिथ्यको व्यवस्था छ यहाँ।

धाप ड्याममा २०२० जनवरी ९ मा पुग्दा सुनियो ‘तपाईँहरुले पनि भेट्नुभो भने उठाउनुस् है।’ सडक छेउ भेटिएका फोहर टिपिरहेका मध्येबाट कसैले भन्यो।

असिनपसिन हुँदै गन्तव्यमा पुगेका हामी। त्यहीँ अचानक आएको प्रस्ताव। उनीहरु भेटेसम्मका फोहर बटुल्दै कालो प्लास्टिको धोक्रो भर्दै थिए। हामी साँखुभन्दा माथितिरको झुले अर्ग्यानिक रिसोर्टमा रात बिताएर तीन घन्टाको दुरी पार गर्दै यहाँ पुगेका थियौं। हामीलाई अप्रत्यासित फोहर टिप्न भन्ने व्यक्ति रहेछन् – अरुण श्रेष्ठ। असनका रैथाने।

केही अघिमात्रै अस्ट्रेलियाबाट बिदा मनाउन आएकी उनकी छोरी र श्रीमती पनि सँगै थिए धाप ड्यामको किनारमा। सँगै उनीहरुका सहयोगी पनि। उत्तरपूर्वी काठमाडौंको शिर धाप जहाँ रहेको प्राकृतिक सीमसार यतिखेर विशाल पोखरीमा रुपान्तरित भएको छ। र, त्यसैले बढाएको छ बाक्लो भिड। भिडसँगै फोहर।

‘तपाईँले त्यतिखेर फोहर टिपेको देख्‍नुभयो। हरेक आइतवार त्यसरी नै टिपिरहेका हुन्छौं,’ अरुणले भने।

हरेक साता बोराका बोरा प्लास्टिक बटुल्छन् अरुण र उनका सहयोगी। त्यहाँबाट डेढ किलोमिटर परको हैबुङमा लगेर त्यसलाई जम्मा गर्छन्। मौका मिलेपछि काठमाडौंतिर पठाउँछन्। मान्छे जाने। फोहर मिल्काउने। र, त्यसलाई बटुल्ने। अनि काठमाडौं नै फर्काउने। यो चक्र जारी छ। अरुणको खटनपटन चल्छ यही चक्रलाई मिलाउनेमा।

त्यसदिन ‘लन्च’का लागि हाम्रो लक्ष्य थियो – प्रकृति रिसोर्ट। धापिएर पुगेका थियौं हामी काठमाडौंको धाप ड्याम। अनि सिन्धुपाल्चोकको प्रकृति रिसोर्ट। हामीलाई फोहर टिप्न आग्रह गर्ने अरुण नै प्रकृति रिसोर्टका सञ्चालक रहेछन्। ड्याम किनारामा उनले हाम्रो अर्डर लिए र रिसोर्टमा कल गरे।

धाप यात्रा टुङ्ग्याउँदै हामी रिसोर्टितर जाँदै गर्दा अरुणको टोली फोहर उठाउँदै थियो। प्लास्टिकका धोक्रा मोटाउँदै थिए।

‘जाँदै गर्नुस् हामी आउँदै गरौला।’

२०२३ अप्रिल २० अर्थात् गत साताको बिहीबार। धाप ड्याममा भेटेको चार महिनापछि लाजिम्पाटमा फेरि भेट भयो अरुणसँग। अनि सुनाए हरेक आइतवार उठाउने गरेको फोहरको कथा।

‘अस्तिको नयाँ वर्षमा मैले त्यहाँ २ हजार वटा मोटरसाइकल गनेँ हुँला,’ उनले भने।

शिवपुरी राष्ट्रिय निकुञ्जभित्र मोटरसाइकलको भिड। फोहर कति भयो होला त?

‘याद गर्नु भएको होला काठमाडौंमा मानिसले पहिलेजस्तो जथाभावी फोहर फाल्न छाडेका छन्। तर त्यस्तो प्राकृतिक ठाउँमा चाहिँ बढ्दो छ,’ उनले जवाफ दिए।

***

सन् १९७५। पर्यटक नेपाल भित्रिने क्रम ह्वात्तै बढ्यो। यो कुनाको मुलुकमा हिप्पीहरुको अलग्गै क्रेज। सम्पदाले काठमाडौंको सांस्कृतिक पहिचान दिएकै थियो। पर्यटक काठमाडौंमा आउँथे। सूर्योदयसँगै हिमालमा लाग्ने लाली हेर्ने उनीहरु रहर। बिहानै ३ बजे उठेर पुग्थे नगरकोट। कहिले धुलिखेल। हिमालबाट आकाशिँदै गरेको सूर्यको दृष्यलाई कैद गर्न पुग्नेहरु ‘ब्रेकफास्ट’ लिन फेरि काठमाडौं नै फर्किनुपर्थ्यो। त्यता ठाउँ थिएन।

सनराइज र हिमालको लोभलाग्दो दृष्य हेर्न जाँदा पर्यटकमा देखिएको धपेडी असनका विष्णुबहादुर श्रेष्ठलाई प्रीतकर लागेन। पर्यटकको त्यही सकसले उनलाई प्रकृतिक हिसाबको र सुविधायुक्त रिसोर्ट खोल्न प्रेरित गर्‍यो। ठाउँ खोजे। जग्गाको भाउ हजारमै मिल्ने। दुई लाखजति खर्च भयो – घरहरु बनाउँदा। पाँच वर्ष लगाएर तयार भयो बलियो संरचना। रिसोर्ट भित्रै जंगल। गुराँसका घारी। काफलका बोट। धुलिखेलबाट केही तलतिर झरेपछि पुगिने खावामा तयार भयो एउटा रिसोर्ट।    

विष्णुबहादुरले विदेशी पर्यटक लक्षित गरेर सुरु गरेको धुलिखेल माउन्टेन रिसोर्ट (डीएमआर)को रचनागर्भको कथा यही हो। त्यो रिसोर्ट जहाँ काठमाडौंका पाँचतारे सोल्टी र अन्नपूर्ण होटलमा बस्ने पर्यटक पनि लोभिन थाले। नेपालकै हुनेखाने घरानाहरुका लागि गतिलो गन्तव्य बन्यो।

उनै विष्णुबहादुरका छोरा हुन् अरुण, जसले हामीलाई प्लास्टिक उठाउन अह्राउँदै थिए धापमा।

‘नेपालमा रिसोर्ट कल्चर भित्र्याउने काम मेरो बुवाले नै गर्नु भएको हो,’ अरुणले सुनाए, ‘त्यसअघि होटल मात्र बनाउने चलन थियो।’

होटल र रिसोर्टबीच अन्तर के त?

‘होटलका लागि सुविधा प्राथमिकता हो। रिसोर्टका लागि नेचर र ल्यान्डस्केप,’ तत्कालै अरुणले जवाफ दिए।

सन् २०१४ मा अरुणको परिवारले ‘डीएमआर’का रुपमा बलियो पहिचान बनाएको धुलिखेल माउन्टेन रिसोर्ट बिक्री गर्‍यो। फराकिलो क्षेत्रफल र लोभलाग्दो संरचनाका कारण डीएमआर ‘प्राइम प्रपर्टी’ बनिसकेको थियो त्यतिखेरसम्म। ३० करोडभन्दा माथिको थियो त्यो ‘डिल’।

यो पनि पढ्नुस् : एनआरएन भवन भट्टले किने ४० करोडमा रिसोर्ट

सन् १९८१ मा सुरु भएको हो धुलिखेल माउन्टेन रिसोर्ट। बिक्री गर्नुमा धेरै कारण रहेको अरुणको भनाइ छ। तर, पर्यटनमा नयाँ केही गर्ने भन्नेले धेरै कुरा भएको हो।

‘त्यो नबेचेको भए सायद यो (प्रकृति) बन्दैन थियो,’ उनले भने, ‘व्यापारमात्र गरेर मात्र भएन भन्ने अनुभूति भयो। नेपालीले जताततै फोहर गरेका छन्। अनि त्यही देखेर धुलिखेलका साथी मिलेर काम गर्न थालेका थियौं।’

‘काठमाडौं भ्याली कल्चरल ट्रेकिङ ट्रेल’ सुत्रधार यसैबाट भयो। ट्रेल ७८ किलोमिटर लामो – सुन्दरीजलबाट सुरु भएर पनौतीमा पुगेर सकिन्छ। सुरुमा फिनल्यान्डले सहयोग गर्‍यो यसमा। अहिले कसैको सहयोग नहुँदा पनि उनी आफ्ना स्टाफ सहित फोहर टिप्न सक्रिय छन् त्यही ट्रेलको हैबुङ क्षेत्रमा।

‘१२ जनाका लागि लन्च व्यवस्था गर्नु है।’

फोहर उठाउँदै फुर्सद भएपछि अरुणले मोबाइलबाट निर्देशन दिए। ब्रेकफास्टपछि तीन घन्टा उकालीओराली गरेकाले थाकिसकेका थियौं हामी। बिचमा पानी र फलफूलले साथ दिए पनि राम्रैसँगै भोक लागिसकेको थियो। घुमाउरो बाटो हुँदै जानुपर्ने भएकाले हामीले रोज्यौं ‘सर्टकट’। कान्ला झर्दै केही तल पुग्यौं – कालो छानाका बस्ती पछ्याउँदै।

करेसा बारीभरी खाइलाग्दा मुला। तलतिर पक्दै गरेका स्ट्रेबरी। हुर्किँदै गरेका फूलका विरुवा। प्रकृति रिसोर्ट एन्ड अर्ग्यानिक फार्मभित्रका यिनै दृश्यले हामीलाई आकर्षित गर्‍यो। हेर्दा असाध्यै कोल्टो खाले ठाउँ। तलतिर भोटेचौरको चिया बगान। रेस्टुरेन्टभन्दा उत्तर पूर्वतिर घर र टेन्टमा आधारित भएका कटेज। सामुन्नेमा ठूलो डायनिङ/रेस्टुरेन्ट।

भित्र छिर्दा गाउँको कुनै घरभित्र पसेजस्तो। पूरै मौलिक। ढिकी, जाँतो पनि पिढींमा।

खाना तयार भइसकेको रहेछ। बफेट। प्रकृतिमा अरु पनि थिए पाहुना। हामीभन्दा पछि अरु पनि थपिए। भोक मीठो कि भोजन भने झै भयो हामीलाई। भोक त मीठै थियो भोजन उत्तिकै स्वादिलो। अर्ग्यानिक तर केही महँगो।

सलादमा चिज र ड्रयागन फ्रुट अनि चामल मात्र हो काठमाडौं यहाँ आइपुग्ने। बाँकी सबै आफ्नै करेसाबारीको उत्पादन। नभए गाउँघरमै पाइने। यहाँ पुग्न सुलभ बाटो छैन। धेरैजसो सुन्दरीजलबाट हिँड्दै पुग्छन्। बाइकिङ गर्नेहरु अफरोडका कारण यहाँ पुग्दा थाकिसक्छन्। त्यसैले ढुवानी आफैंमा महँगो।

‘कि अर्ग्यानिक हुँदैन। कि सस्तो हुँदैन,’ अरुणले ठट्यौली पारामा सुनाए, ‘दुई/तीन सय जना गेस्टलाई अर्ग्यानिक खाना खुवाउँछु भन्ने त हुनै सक्दैन।’

***

प्रकृति रिसोर्टमा थोरै झल्को मिल्छ धुलिखेल माउन्टेन रिसोर्टको। धुलिखेलको रिसोर्टभन्दा अझै बढी प्राकृतिक बनाउन जोड गरिरहेका रहेछन् उनले। हामी यहाँ पुग्दा टिनको छानामाथि कालो रङको ‘स्प्रे’ गर्दै थिए कामदार।

किन कालै दलेको? चिसो ठाउँ भएकाले घामको तातो बढी तानोस् भनेर हो?

‘होइन। रंगिन जस्तापाताले आँखा तान्छ। डिस्ट्रयाक्ट हुन्छ। कालोले प्राकृतिक देखाउँछ,’ उनले भने। गत साताको बिहीबारको भेटमा उनले हामीले देखेको प्रकृति रिसोर्टमा धेरै कुरा थपिएको पनि सुनाए – त्यतिखेर भन्दा अहिले फेरिएको पाउनुहुन्छ।

डिलक्स र टेन्ट गरेर दुईखाले लजिङको व्यवस्था छ प्रकृतिमा। डिनर, बेड र ब्रेकफास्ट गरि एक जनाको क्रमश: ६ हजार र ५ हजार रुपैयाँ। यो दुर्गम ठाउँमा महँगो सुनिन्छ मूल्य। त्यसलाई स्वीकार्छन् अरुण।  

अहिले अफरोड नै सही मोटरबाटो पुगेको छ यहाँसम्म। पहिले त मोटरसाइकलमा सिमेन्ट ओसारेर संरचना तयार गर्नुपरेको उनले भुलेका छैनन्। त्यसैले जति रुम तयार पारेका छन् त्यहीँ भेटिएका ढुंगा र रुखको प्रयोगबाट।

‘धेरै त उत्तिसकै प्रयोग भएको छ। त्यसलाई ट्रिटमेन्ट गरेर प्रकृतिक हिसाबले बनाएका छौं,’ उनले सुनाए। निकुञ्जको ‘बफरजोन’ भएकाले यहाँ सुविधाजनक यातायात मिल्नेवाला छैन। अरुण चिल्लो कालोपत्रे सडक बनोस् भन्ने पनि चाहन्नन्।

‘अरुतिरजस्तो सडक चाहिन्न। यहाँ आइपुग्न कठिन नै हुनुपर्छ,’ उनले सुनाए। त्यसले महँगो त बनाउँछ नै। प्राकृतिकपन पनि जोगाउँछ। पर्यापर्यटनसँग लामो समयदेखि जोडिएका अरुणले अन्नपूर्ण सर्किटको चमक सडकको ट्रयाक खुलेसँगै धुलैमा मिसिएको देखेका छन्। २२ दिन लगाएर घुम्नेहरु धुलोकै कारण सात दिन पनि नटिक्ने भए त्यहाँ। हैबुङको प्राकृतिक संरचना त्यसरी धुलाम्य नहोस् भन्ने ठान्छन् उनी।

आवाज र प्रकाशको पनि प्रदूषण नहोस् भन्ने लाग्छ उनलाई। शिवपुरी निकुञ्जको ‘बफरजोन’ भइदिँदा उनका चाहनाले मूर्त रुप लिन पाएको छ। यहाँसम्म पुग्न सेनाका ‘चेकपोस्ट’ पार हुनुपर्छ। निकुञ्जको शुल्क बुझाउनु पर्छ। तर, यसरी पुग्नेहरुले जथाभावी फोहर फालेको देख्दा चाहिँ उनलाई नमिठो लाग्छ। अनि थाल्छन् – फोहर उठाउन।

त्यसो त असनका अरुणको सिन्धुपाल्चोक नाता यही विश्राम लिन्न। उनले मेघ आलेसहितको लगानीमा सुकुटेमा बिच रिसोर्ट एन्ड अर्ग्यानिक फार्म पनि संचालनमा ल्याएका छन्। १० करोडको लगानी भइसकेको छ त्यसमा। पर्यटनमा स्थापित आलेले बोर्डर लाइन रिसोर्ट चलाउँदै आएका छन्। कुनै बेला वाग्मती सफाइको जागरणका लागि गोकर्णदेखि गुहेश्वरीसम्म र्‍याफ्टिङ पनि गराउँथे उनी। अहिले राजनीतिमा पनि जोडिएका छन् आले।

धुलिखेल माउन्टेन रिसोर्ट संचालनमै रहँदा हो अरुणले हैबुङमा जग्गा जोडेका। त्यतिखेर होटलका अलावा उनी ‘इको टुरिजम’का लागि साथीहरुको समूहमा सक्रिय थिए। नेपाल पर्यावरण तथा पर्यटन जागरण आधारशीलामार्फत् प्रकृति र पर्यटनलाई जोगाउने अभियान जारी थियो।

सन् २०१३ मा जतिखेर हैबुङमा प्रकृति रिसोर्टका लागि ५० रोपनी जग्गा लिएका थिए। त्यतिखेर धाप सानो सिमसारमात्रै थियो। हिउँदमा थोरै र वर्षामा पानी राम्रै भरिने ठाउँ। निकुञ्जका जनावर र पन्छीका लागि पिउने पानीको स्रोत। त्यसको केही तल रिसोर्ट।

प्रकृति रिसोर्ट उनको व्यवसायिक यात्राको अर्को क्रममात्र थिएन। त्यहाँका स्थानीयबासी पनि यसमा जोडिएका छन्। रिसोर्टसँगै होमस्टे पनि। फार्मका लागि स्थानीयको जग्गा भाडामा लिएका छन् उनीहरुले।

कतिपय आफ्नो जग्गासँगै सेयर होल्डरका रुपमा प्रकृतिसँग जोडिएका छन्। ५० प्रतिशत सेयर चाहिँ अरुणसँगै छ। दुई लाख रुपैयाँ लगानी गर्ने स्थानीय पनि छन् उनको समूहमा। माथि ड्याम बनेपछि प्रकृतिसँगको पहुँच थप सहज भएको छ। मानिसहरु कुनै बेलाको अनकन्टार ठाउँमा बसेको गाउँजस्तै लाग्ने रिसोर्ट देखेपछि तानिएका छन्।

धुलिखेल माउन्टेन रिसोर्टजस्तो सुविधा र सहज स्थान छाडेर कसरी हैबुङजस्तै पहिचान नै नभएको ठाउँमा पुगे त अरुण?

‘पहिलेदेखि नै पर्या पर्यटनमा लागिरहेकाले यो ठाउँ मेरा लागि नयाँ थिएन। प्रकृतिमा रमाउन चाहनेका लागि यो महत्वपूर्ण ठाउँ हुनसक्छ भनेर नै हो,’ उनले सुनाए।

कुनै पनि खाले प्रदूषणबाट टाढा रहन चाहनेका लागि यो ठाउँ रोजाइको ठाउँ बनेको छ। महँगो कोठा भए पनि यहाँ टेलिभिजन छैन। टेलिभिजन हेर्न किन प्रकृति नै पुग्नुपर्‍यो? यहाँ रमाउने नै प्रकृतिसँग हो, प्रविधिसँग होइन।

प्रकृतिमा बास बस्ने। ओरालो लाग्दै चिया बगान सम्मको यात्रा गर्ने। उकालो लाग्दै धाप ड्याम पुग्ने। सुन्दरीजल वा चिसापानी वा नगरकोट-साँखु हुँदै ट्रेकिङ या हाइकिङ गर्ने। त्यसैले आश्रयको अब्बल स्थान बनेको रहेछ प्रकृति।

अरुणका अनुसार प्रकृतिमा अहिलेसम्म १३ करोड रुपैयाँ लगानी भइसकेको छ। सबैभन्दा छोटो दुरी सुन्दरीजलबाट यहाँ पुग्न झन्डै ११ किलोमिटर दुरी पार गर्नुपर्छ। यहाँबाट चिसापानी वा साँखु वा नगरकोट जता जान मन लाग्छ त्यतैको रुट छ। तपाईँ पनि ‘ट्राइ’ गर्ने हो भने बनाउनुस् आफ्नै ‘आइटनरी’ वा पछि लाग्नुस् प्रकृतिको।