एनआरएन भवन भट्टले किने ४० करोडमा रिसोर्ट

बिजमाण्डू
२०७१ मंसिर १५ गते ००:०० | Dec 1, 2014
एनआरएन भवन भट्टले किने ४० करोडमा रिसोर्ट


सविन मिश्र/बिजमाण्डू
धुलिखेल । गैर आवासीय नेपाली संघ (एनआरएन)का उपाध्यक्ष भवन भट्टले काभ्रेको पाँचखालमा रहेको धुलिखेल माउन्टेन रिसोर्ट किनेका छन्। भट्टले ४० करोड रुपैयाँमा ३३ वर्ष पुरानो रिसोर्ट किनेका हुन्।

Tata
GBIME
NLIC

भट्टको व्यवसायिक समूह टिबिआईको स्वामित्वमा यो रिसोर्ट सञ्चालन हुनेछ । टिबिआईले नेपालमा युनाइटेड ब्रुअरी, कारोबार दैनिक, बिबी एयरवेज, बिबी ट्रस्ट, बिबी होलिडेजलगायतका व्यवसाय सञ्चालित छन्।

काभ्रेको पाँचखाल नगरपालिकामा रहेको रिसोर्टको स्वामित्व भट्टले सेप्टेम्बर २० बाट लिएका छन्। अब टिबिआई ग्रुपको नाममा यो रिसोर्ट सञ्चालन हुनेछ।

भट्टको स्वामित्वमा आएसँगै डिसेम्बर १३ तारेखमा रेष्टुरेन्टको औपचारिक उद्घाटन हुँदैछ। रेष्टुरेन्टको उद्घाटन एनआरएनका उपाध्यक्षसमेत रहेका टिबिआई ग्रुपका अध्यक्ष भट्टले गर्ने कार्यक्रम तय गरिएको छ ।

भट्टले पूर्ण रुपमा आफ्नो स्वामित्वमा रहने गरी रिसोर्ट खरीद गरेको रिसोर्टका अपरेसन म्यानेजर भरत पुडासैनीले जानकारी दिए। 'यसमा पूर्ण रुपमा टिबिआई ग्रुपको लगानी छ,' पुडासैनीले भने, 'रिसोर्टमा यो समूह बाहेक अरु कुनै समूहको सेयर स्वामित्व वा लगानी छैन।'

दुईसय २० रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्ट विष्णुबहादुर श्रेष्ठले खोलेका हुन्। सन् १९९८ मा श्रेष्ठको निधन भएपछि उनका छोरा अरुण श्रेष्ठ र छोरीहरु सरिता श्रेष्ठ तथा रीता वैद्यले सञ्चालन गर्दै आएका थिए। स्रोतका अनुसार भट्टले रिसार्ट खरिद गर्न केही नगद आफैले हालेका छन् भने बाँकी रकम सानिमा बैंकले फाइनान्स गरेको छ । टिबिआई ग्रुपले एक वर्षमा कम्तिमा पनि आठ हजार पर्यटक रिसोर्टमा भित्र्याउने लक्ष्य राखेको छ।
 

रिसोर्टको सुरुवात
काठमाडौंका विष्णुबहादुर श्रेष्ठले सन् १९८१ मा यो रिसोर्ट खोलेका हुन् । होटल व्यवसायमा तीव्र इच्छा भएका श्रेष्ठले सुरुमा थोरै लगानी गरी रिसोर्ट सुरु गरेका थिए। १९९८ मा श्रेष्ठको निधनपछि उनका पारिवारिक सदस्यले रिसोर्ट चलाउँदै अएका थिए ।

सुन्दर हिमालको सम्मुख रहेको रिसोर्ट शुभारम्भको उद्देश्य नै दीगो पर्यटनको विकास गर्नु रहेको थियो। श्रेष्ठले यो रिसोर्टको शुभारम्भ गर्दा नितान्त रुपमा वातावरण मैत्री काममार्फत पाहुनालाई सन्तुष्टी दिने उद्देश्य राखेका थिए।

टुरिस्ट गाइडबाट सुरु भएको उनको पर्यटन क्षेत्रको करियर एक सफल व्यवसायीको रुपमा स्थापित हुन पुग्यो। श्रेष्ठ आफ्नो जीवनभर नै एक सफल उद्यमीकै रुपमा परिचित रहे।
 
रिसोर्ट सुरु गर्दा उनले थोरै/थोरै गरेर जमिन जोड्दै अहिलेको अवस्थामा पुर्‍याएका हुन। अहिले रिसोर्टको सम्पत्तिको रुपमा रहेको दुई सय २० रोपनीभन्दा धेरै जमिन उनकै सपना र कडा परिश्रमको उपलब्धि हो, उनी निकटका एक व्यवसायीले बताए।

श्रेष्ठले आफ्नो रिसोर्टलाई 'टिपिकल नेपाली' बनाउनकै लागि यसका छानाहरुमा छ्वालीले छाएका थिए। रिसोर्टका भित्तामा गोबर र माटोले लिपपोत गरिएको छ। उनका यिनै परम्परा जोडिएका नयाँ कामले रिसोर्टलाई विश्वभरका पर्यटक माझ धुलिखेल माउन्ट रिसोर्ट (डिएमआर)को रुपमा स्थापित गराएको थियो।
 

मनमोहक रिसोर्ट
काठमाडौंबाट ३४ किलोमिटरको दूरीमा रहेको यो रिसोर्टबाट लामटाङलगायतका हिमाल प्रत्यक्ष रुपमा देख्न सकिन्छ। सनराइज र सनसेटका मनमोहक दृश्यहरु हेर्न सकिने भएकाले रिसोर्ट पर्यटकको पहिलो गन्तब्य बन्ने गरेको छ।

पछिल्लो सयममा गैरआवासीय नेपालीहरु नेपालको होटल व्यवसायमा आकर्षित भइरहेका बेला भट्टले पनि आफ्नो समूहको लागि नेपालमा 'भर्जिन सेक्टर'मा हात हालेका हुन्। भट्टले जापानमा थुप्रै रेष्टुरेन्ट चलाए पनि नेपालको होटल व्यवसायमा भने उनको नाममा ठुलो लगानी पहिलो पटक भित्रिएको हो। यद्यपि टिबिआई ग्रुपले काठमाडौंको थापाथलीमा न्यूयोर्क क्याफे स्थापना गरेको थियो ।

लामो समयदेखि जापान बस्दै आएका भट्टले त्यहाँ सयभन्दा धेरै रेष्टुरेन्ट तथा एउटा ठूलो रिसोर्टमा लगानी गरेका छन्। जापानमा होटल क्षेत्रमा लगानी गर्दै आएको यो समूह नेपालमा पनि पर्यटन क्षेत्रमा नै लगानी गर्न इच्छुक भएकाले रिसोर्टमा लगानी गरेको बताउँछन् रिसोर्टका अपरेसन म्यानेजर पुडासैनी।

'मैले थाहा पाएसम्म भवन सरको बेस होटल व्यवसाय हो,' पुडासैनीले धुलिखेलमै बिजमाण्डुसँग भने, 'नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने उहाँको तीव्र इच्छा भएकाले नै यो रिसोर्टमा लगानी गर्नुभएको हो।' धुलिखेल माउन्ट रिसोर्टलाई भविष्यमा नेपालकै नम्बर १ रिसोर्ट बनाउने उद्देश्यले लगानी गरेको पुडासैनीले बताए।

 
सुविधा थप्ने तयारी
टिबिआई समूहले खरीद गरेपछि रिसोर्टमा धेरै सुविधा थप्ने तयारी भइरहेको पुडासैनीले जानकारी दिए। 'हामी ग्राहकका लागि 'एक्स्ट्रा फन एक्टिभिटी' बढाउने सोचमा छौं,' पुडासैनीले भने, '१० देखि १५ लाख रुपैयाँ लगानी गरेर स्पा पनि ल्याउँदै छौं।' उनले काठमाडौंको ट्रान्कुलिटी स्पासँग सहकार्य गरेर अघि बढ्ने तयारी भइरहेको जानकारी दिए ।

ग्राहकको मनोरञ्जनका लागि एड्भेन्चर स्पोर्टस् पनि राख्ने तयारी भइरहेको उनले बताए। 'हाम्रा ग्राहकलाई समय अनुसारको सुविधा दिन्छौं,' पुडासैनी भन्छन्, 'ग्राहकलाई अन्यत्रभन्दा नितान्त फरक सुविधा दिनेछौं।' यसको सुविधा नयाँ छ भन्ने विश्वास ग्राहकलाई दिने गरी काम भइरहेको उनले जानकारी दिए ।

यस्तै पर्यटकलाई हिमाल अवलोकनका लागि सहज बनाउने उद्देश्यले रिसोर्टमा बाइनाकुलरको व्यवस्था गर्ने जानकारी पनि उनले दिए। पुडासैनीले रिसोर्टमा बनाइएको जस्तो  गार्डेन अन्त कतै पनि नरहेको दावी समेत गरे।
 


नेपालकै नमुना बनाउने सोच
भट्टले यो रिसोर्टलाई नेपालकै नमुना रिसोर्टका रुपमा संचालन गर्न चाहेको बताउँछन् पुडासैनी। उनका अनुसार कम्तिमा अवको पाँच वर्षमा धुलिखेल माउण्ट रिसोर्टलाई नेपालकै 'टप' रिसोर्ट बनाउने योजना टिबिआई ग्रुपका अध्यक्ष भट्टको छ। 'यो रिसोर्टलाई कम्तिमा पनि अबको पाँच वर्षमा नेपालकै टप रिसोर्ट बनाउने सपना हाम्रो चेयरम्यानको छ,' पुडासैनी भन्छन्, 'नेपालमा अन्यत्र कतै नभएको सुविधा यहाँ दिन चाहन्छौं।'
 

जापानी पर्यटक 'टार्गेट'
भट्टले रिसोर्टमा लगानी गरेसँगै अब जापानी पर्यटकलाई लक्षित गरेर काम अघि बढाउने भएका छन् । जापानमा लामो समय बसेका भट्टको त्यहाँ व्यवसायिक सञ्जाल पनि छ । त्यसैले उनले जापानी पर्यटक भित्र्याउने प्रयास थालेका हुन । अहिलेसम्म अमेरिकन र युरोपेली पर्यटक भित्रिँदै आएको रिसोर्टमा अब जापानी पर्यटक भित्रिने उनको विश्वास छ।

'अहिलेसम्म अमेरिकन, क्यानेडिएन र युरोपेली पर्यटक धेरै आउने गरेका छन्,' पुडासैनी भन्छन्, 'अब हामी एसियाली पर्यटक पनि भित्र्याउछौं, त्यसमा पनि जापानी पर्यटक भित्र्याउने लक्ष्य छ।' जापानमा टिबिआई समूहले चलाएका होटल र रेष्टुरेन्टको छवि राम्रो रहेकाले पनि यो समूहले चलाएको नेपाली रिसोर्टमा जापानी पर्यटक भित्रिने विश्वास उनको छ।
 

पुरानालाई 'कन्टिन्यु', नयाँलाई स्वागत
३३ वर्ष पुरानो रिसोर्टको स्वामित्व लिएको टिबिआई समूहलाई व्यवसाय अघि बढाएसँगै ग्राहक र पुराना संरचना कायम राख्ने चुनौति पनि छ। नयाँ व्यवस्थापनमा गएसँगै रिसोर्टले तत्काल यही रणनीति अपनाएर अघिब बढ्ने सोच बनाएको बताउँछन् पुडासैनी।

'३३ वर्ष पुरानो रिसोर्टका आफ्नै छुट्टै पहिचान र विशेषता छन्,' पुडासैनी भन्छन्, 'हामी ती मूल्य मान्यतालाई कायम राख्दै ग्राहकलाई अझै सन्तुष्ट राख्ने प्रयास गर्नेछौं।' ग्राहकलाई पुराना प्याकेज पनि उपलब्ध गराउने बताए।


छुटको प्याकेज
४२ कोठा भएको यो रिसोर्टले सिंगल र डबल रुम गरी एकसय जना मान्छे अटाउने क्षमता राख्छ। रिसोर्ट र काठमाडौंको सिटी अफिसमा समेत ७२ जना कर्मचारी कार्यरत छन् । रिसोर्टमा नयाँ व्यवस्थापनको प्रवेशसँगै ग्राहकलाई छुट अफरको घोषणा पनि गरेको छ ।

रिसोर्टमा नेपालीका लागि अहिले विशेष प्याकेजको व्यवस्था रहेको पनि पुडासैनीले जानकारी दिए। अहिले रिसोर्ट पुग्ने एक जोडी (दुई जना) नेपालीका लागि एक रात बसाई र विहानको ब्रेकफास्ट चारहजार पाँचसय रुपैयाँमा उपलब्ध गराउने उनले बताए। डिनरसहितको प्याकेज भने छुट्टै बनाइएको छ।

यस्तै सोमबारसम्म सार्क स्पेशल छुट अफर अन्तर्गत २० प्रतिशत छुट र रिसोर्टको उदघाटन भएपछि मंसिरभर नै हरेक दिन पहिलो २० जनालाई १० प्रतिशत छुट दिने तयारी पनि रिसोर्टको छ।

रिसोर्टमा विभिन्न सभा तथा सेमिनारका लागि अलग अलग क्षमताका तीनवटा हल छन्। ती हलको क्षमता ४०, ६० र सय सिट छ ।