कारोबार र आम्दानीले रिलायन्स स्पिनिङको मूल्यांकन बढ्यो, लगानीकर्ता पैसा हाल्न तयार

बिजमाण्डू
२०८० बैशाख १४ गते १५:२३ | Apr 27, 2023
कारोबार र आम्दानीले रिलायन्स स्पिनिङको मूल्यांकन बढ्यो, लगानीकर्ता पैसा हाल्न तयार

काठमाडौं। मूल्यांकन बढेर आएपछि रिलायन्स स्पिनिङ मिल्स बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्ने पहिलो कम्पनी हुने देखिएको छ। निवेदन भने सर्वोत्तम सिमेन्टले अगाडि दिएको थियो।

Tata
GBIME
Nepal Life

मूल्यांकन पुनरावलोकन गर्दा रिलायन्सको वित्तीय अवस्था झनै सुधार भएपछि कम्पनीले बुक बिल्डिङको लागि प्रक्रिया अघि बढाउन थालेको हो। स्रोतका अनुसार, कम्पनीको सेयर पुरानै दरभाउमा किन्न संस्थागत लगानीकर्ता उत्साहित देखिएका छन्।

यसअघि ६०८ रुपैयाँको न्युनतम मूल्यमा रिलायन्सको प्राथमिक सेयर किन्न इच्छा जाहेर गरेका थिए। बिक्री प्रबन्धकले भने ७३० रुपैयाँसम्म मागेको थियो।

२८ वटा संस्थागत लगानीकर्ताले ६०८ रुपैयाँको न्युनतम मूल्यमा सबै सेयर किन्ने आसय प्रकट गरेका थिए। सोही मुल्यमा पुन: खरिद गर्न आव्हान पत्र पठाउँदा संस्थाहरुबाट ‘पोजिटिभ रेस्पोन्स’ आएको हो। क्यूआइआइ (योग्य संस्थागत लगानीकर्ता)बाट निष्कर्ष आएपछि प्रक्रिया थप नलम्बिने स्रोतको दाबी छ।

गोल्याण समूह र एमएस ग्रुपको संयुक्त लगानीको उद्योगलाई सरकारको ८ प्रतिशत निर्यात अनुदानले प्रोत्साहन गरेको छ।

चालु आर्थिक वर्षको बजेटदेखि सरकारले दिँदै आएको निर्यात अनुदान बढाएको छ। ५० करोड सम्मको निर्यातलाई ४ प्रतिशत छ। त्योभन्दा माथिलाई जति बढी हुन्छ त्यसको ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्था छ। जसले उत्पादनको ७० देखि ७५ प्रतिशत निर्यात गर्ने रिलायन्स स्पिनिङ मिल्सको आम्दानीलाई टेवा पुर्‍याएको हो।

सन् २०२२ मा कम्पनीले निर्यात बापतको २१ करोड ४० लाख रुपैयाँ अनुदान पाएको थियो। अघिल्लो वर्ष १६ करोड ८० लाख रुपैयाँ पाएको थियो। जुन २०२३ थप वृद्धि हुने अनुमान लगाउन सकिन्छ।

किनभने कम्पनीले उत्पादन गरेको २५ देखि ३० प्रतिशत मात्रै आन्तरिक बजारमा खपत हुने गरेको छ। बाँकी सबै भारत, भियतनाम, बेलायत र टर्कीमा निर्यात हुन्छ।

विदेशी मुद्रा भित्र्याउन उद्योगको ठूलो योगदान छ। पवन गोल्याणको गोल्याण समूहअन्तर्गत रिलायन्स स्पिनिङ मिल्स पर्छ। मेरियट होटल सञ्चालक शशिकान्त अग्रवालको पनि उद्योगमा लगानी छ।

अनुदान बाहेक कम्पनीको बिक्री आम्दानी पनि बढेको छ। सन् २०२२ को अन्त्यसम्म उद्योगले १० अर्ब माथिको कारोबार गर्ने गरेको छ। जसमध्ये एक अर्ब ४ करोड रुपैयाँ खुद नाफा थियो।

आर्थिक वार्षिक २०७५/७६ देखि ७७/७८ सम्म उद्योगले वर्षेनि ७ अर्बको कारोबार गरिरहेको थियो। टेक्सटाइल उद्योगमा रहेको न्यून प्रतिस्पर्धाले गर्दा कम्पनीको आम्दानी र कारोबारमा सुधार भएको हो। अर्को मेसिनरी निरन्तर अपग्रेड गर्दै क्षमता र उत्पादन पोर्टफोलियो पनि बढाएको छ।     

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले गरेको भ्यालुएसन पहिलाको भन्दा पनि बढी आएको हो। जस लगत्तै क्यापिटलले कम्पनीको संलग्नतामा पहिल्यै प्रतिबद्धता जनाएका योग्य संस्थागत लगानीकर्तालाई त्यही मूल्यमा आवेदन दिनेनदिने भनेर प्रश्न सोधेको थियो।

बुक बिल्डिङ निर्देशिका अनुसार आशय मूल्य र संख्या पेश गरेका क्यूआइआइ ब्याक हुन पाइँदैन। आशय मूल्य पेश गर्दा मन्जुर भएको दर र धितोपत्र संख्या कुनै कम गर्न मिल्दैन।

त्यसैगरी बुक बिल्डिङ विधि रोजेको पहिलो कम्पनी सर्वोत्त्म भने सिनबाट बाहिरिएको छ। धितोपत्र बोर्डले पुन: मूल्य पुनरावलोकन गर्न पत्राचार गरेपनि कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन। स्रोतका अनुसार कम्पनीको वित्तीय अवस्था पनि पहिलेको मूल्यांकन भन्दा कम खस्किएको हो।

बजारको अवस्था परिर्वतन भएको छ। मन्दीउन्मुख अर्थतन्त्र, ब्याजदर वृद्धि, विश्वव्यापी बढेको महंँगी, निर्माण व्यवसायमा आएको सुस्तता र चर्किएको डलर भाउले कम्पनीको व्यापारमा सोझै असर गरेको हो। जसको परिणाम कम्पनीले मागेको मूल्यमा क्यूआइआइले संशय देखाएका हुन्।

यसअघि धितोपत्र बोर्डले बुक बिल्डिङका लागि प्रक्रिया चालेका कम्पनीलाई अनुमानित मूल्य पुनरावलोकन गर्न पत्राचार गरेको थियो। आइपीओ निष्कासन गर्न धेरै अलमल भएपछि मुद्दा फेरि विवादित हुन थालेको थियो। जसलाई सुल्झाउन अध्यक्ष हमालले कम्पनी र बिक्री प्रबन्धकका प्रतिनिधि सँगै राखेर छलफल डाकेका थिए।

जस लगत्तै कम्पनीका बिक्री प्रबन्धकले सम्बन्धित कम्पनीहरुको फेरी मूल्याङकन गरेका हुन्। जसमा रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरण प्रगति उन्मुख देखाएको थियो।