
काठमाडौं। बिहीबार एकाएक ९.९५ प्रतिशतसम्म उक्लिएको हिमालयन बैंकको सेयर मूल्य बजार बन्द हुनु अघि नै ओर्लिएको छ। २४२ रुपैयाँ पुगेको सेयर मूल्य ह्वात्तै घटेर २२१.५० रुपैयाँमा कायम छ। दिनभर उक्त सेयरमा २४ रुपैयाँको उतारचढाव आयो।
प्रमुख सूचक घटेपनि बैंकको सेयर मूल्य भने एक्कासी बढेको थियो। तर वृद्धि धेरै बेर टिकेन। बजार बन्द हुँदा बैंकको सेयर मूल्यमा ०.६४ प्रतिशतको बढोत्तरी मात्रै देखिन्छ।
हिमालयन मात्रै नभएर एभरेष्ट बैंकमा पनि त्यस्तै प्रवृति देखिन्छ। एभरेष्ट बैंकको सेयर पनि दिनभर ३९ रुपैयाँले घटबढ भइरह्यो।
बिहीबार प्रभावशाली वाणिज्य बैंकहरुको सेयर मूल्यमा अत्याधिक उतार चढाव देखिएको छ। प्रतिनिधि उपसूचक समेत १५ अंकले घटबढ भयो। ०.२४ अंक बढेर बन्द भएको छ। सँगै बैंकहरुको सेयर मूल्य पनि उल्लेख्य रुपमा घटबढ भए।
१२ वटा वाणिज्य बैंकहरुको सेयर मूल्य बढेको छ भने ६ वटा सेयर घटेका छन्। दुईवटाको मूल्य स्थिर छ।
आज बजार घटेपनि कारोबार निकै सुस्त छ। बिहीबार जम्मा ७३ करोड ९६ लाख रुपैयाँका सेयर किनबेच भए। कम कारोबारमा पनि एभरेष्ट बैंकको सेयरको कारोबार भने सबैभन्दा बढी भएको हो।
एभरेष्ट बैंकको मात्रै ३ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भयो। मूल्य भने ९.१० रुपैयाँ बढेको छ। तेस्रो त्रैमासमा सबैभन्दा फराकिलो दरले नाफा बढाएको एभरेष्ट बैंक थियो। नेप्से परिसूचक भने २.२७ अंकले घटेको छ।