
काठमाडौं। होटल मेरियटको कारोबार एकैवर्ष ७२ करोड ६० लाख रुपैयाँले बढेको छ। नक्सालमा रहेको पाँचतारे होटल मेरियटले २०२१/२२ मा १ अर्ब २ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ। अघिल्लो वर्ष २०२०/२१ मा २९ करोड ८० लाख रुपैयाँमा कम्पनीको कारोबार सीमित भएको थियो।
कम्पनीले रुम लजिङ र सेवाबाट ५२ प्रतिशत आर्जन गरेको छ। बाँकी ४१ प्रतिशत भने होटलले फुड र बेगरेज बिक्रीबाट आर्जन गरेको बताइएको छ। बैठक, कन्फ्रेन्स र एक्जिबिसनमा फुड र बेभरेजको बिक्री बढ्दा कम्पनीको व्यापारमा वृद्धि भएको केयर रेटिङ्स नेपालले जनाएको छ।
२०२२/२३ को पहिलो ६ महिनामा कम्पनीले ७४ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ। यो अवधिमा औसत अकुपेन्सी दर ६८ प्रतिशत पुगेको छ। २०२१/२२ मा औसत अकुपेन्सी दर ३६ प्रतिशत थियो। २०२१/२२ मा २४३ प्रतिशतले व्यापार बढ्दा होटलको अकुपेन्सी दर पनि ४९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष होटलको अकुपेन्सी दर जम्मा २० प्रतिशत थियो।
यस्तै, औसत कोठा दर (एभरेज रुम रेट) ९ हजार ५ सय रुपैयाँबाट बढेर १३ हजार १९० रुपैयाँ पुगेको छ।
२०१९/२० मा कम्पनीले ८३ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो। एभरेष्ट हस्पिटालिटी र होटल लिमिटेड रहेको कम्पनीको २०२२ जुन २९ तारिखमा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो। १०.७३ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा २१४ कोठा छन्। व्यवसायिकरुपमा कम्पनीले मेरियट नामबाट होटल संचालन गर्दै आएको छ।
कम्पनीले २ अर्ब ८२ करोड ३६ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। २ अर्ब ७२ करोड ३६ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी ट्रिपल बी माइनस र १० करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए थ्री रेटिङ पाएको छ।
एमएस ग्रुप अफ कम्पनिजको लगानी रहेको होटलको अध्यक्ष सुमितकुमार अग्रवाल हुन् भने गौरव अग्रवाल प्रबन्ध निर्देशक हुन्।