खुल्यो जग्गाको कित्ताकाट, जग्‍गा वर्गीकरण गर्न स्थानीय तहलाई समय थप, यस्ता छन् अन्य परिमार्जन

बिजमाण्डू
२०८० बैशाख ५ गते २०:०० | Apr 18, 2023
खुल्यो जग्गाको कित्ताकाट, जग्‍गा वर्गीकरण गर्न स्थानीय तहलाई समय थप, यस्ता छन् अन्य परिमार्जन


काठमाडौं। सरकारले विभिन्न कारणले रोकिएको कित्ताकाटलाई खुला गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कित्ताकाट खुला गर्ने निर्णय गरेको हो।

Tata
GBIME
NLIC

तालुकदार भूमि व्‍यवस्था मन्त्रालयको प्रस्‍तावमा क्याबिनेटले कित्ताकाट खोलेर घरजग्गा कारोबार सहज बनाउने निर्णय गरेको पर्यटनमन्त्री सुदन किरातीले जानकारी दिए।

जग्गा वर्गीकरण र यसले निर्देश गरेका प्रावधानहरुलाई सरलीकरण गरिएको र स्थानीय तहहरुलाई जग्गा वर्गीकरण गर्न समयसमेत थप गर्ने निर्णय सरकारले गरेको छ। भूमि व्यवस्था मन्त्रालयले प्रस्ताव गरेको भू-उपयोग नियमावली पहिलो संशोधन प्रस्ताव क्याबिनेटबाट स्वीकृत भएको हो।

मन्त्रालयले कित्ताकाट खोल्ने विषयमा आवश्यक गृहकार्य गरेर प्रधानमन्त्री कार्यालयमा प्रस्ताव गरेको थियो। सोही प्रस्तावलाई सरकारले स्वीकार गर्दै निर्णय गरेको मन्त्रालयले जनाएको छ।

व्यवसायिक प्रयोजनका लागि कति कित्ताकाट गर्ने भन्ने विषय थिएन। आवास र कृषि क्षेत्रमा भने कति मात्रामा कित्ताकाट गर्न पाइन्छ भन्ने भू-उपयोग नियमावलीमा उल्लेख थियो। नियमावली आएपछि स्थानीय तहहरुले व्यवसायिक क्षेत्र भनेर जग्गाहरु वर्गीकरण गरेका छन्।

यिनै व्यवसायिक क्षेत्रमा कित्ताकाट कति गर्न पाउने भन्ने निर्णय क्याबिनेटले गरेको छ। सरकारले व्यवसायिक क्षेत्रका जग्गाहरुमा पनि आवास क्षेत्रकै जति कित्ताकाट गर्न पाउने निर्णय गरेको छ।

सरकारले भू-उपयोग नियमावली लागू गर्दै काठमाडौं उपत्यकामा आवासीय क्षेत्रमा वर्गीकरण गरिएको जग्गालाई न्यूनतम ४ आना १ दाम (१३० वर्गमिटर) भन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न रोक लगाएको छ। १५ आना २ पैसा ३ दाम (पाँच सय वर्गमिटर) भन्दा सानो कित्ताको हकमा चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुने गरी कित्ताकाट गर्न नपाइने व्यवस्था गरेको छ।

अर्को विषय हो अंशबण्डा। अंक भर्पाइमा बाँड्ने त्यही सम्पत्ति हुन्छ। अधिकांश मान्छेहरुसँग मुख्य गरी सहरी क्षेत्रमा धेरै सम्पत्ति नहुने व्यवहारिक पक्षलाई ध्यानमा राख्दै सरकारले अंशबण्डा गर्दा १३० वर्गमिटर (आवासीय क्षेत्र) त्यसको सट्टा ८० वर्गमिटर (साढे २ आना) मै कित्ताकाट गर्न पाउने निर्णय गरेको छ। भूउपयोग नियमावली कार्यान्यन हुनुअघि कित्ताकाट गर्न जग्गाको न्यूनतम आकार साढे २ आना नै थियो।

त्यसैगरी मोही र जग्गाधनीबीच हुने जग्गा बाँडफाँट (दोहोरो स्वामित्व अन्त्य) बारे पनि सरकारले निर्णय गरेको छ। एउटै जग्गा मोहीले पनि लिनुपर्ने र जग्गाधनीले लिनुपर्ने भएकाले कित्ताकाट साढे २ साढे २ आना नै कायम हुने भएको छ।

यसबाहेक स्थानीय तहहरुले विभिन्न कारणले जग्गा वर्गीकरण गर्न नसकेको भन्दै सरकारले त्यसका लागि समय थप गर्ने निर्णय समेत गरेको छ।

भूमि व्यवस्था मन्त्रालयले स्थानीय तहहरुलाई आफ्नो कार्यक्षेत्र भित्रको जग्गालाई कृषि क्षेत्र र गैरकृषि क्षेत्रमा छुट्याउन गत मंसिर २३ को समयसीमा तोकेर साउन ३१ गते पत्राचार गरेको थियो। तर तोकिएको अवधिसम्म धेरै स्थानीय तहहरुले जग्गा वर्गीकरण गर्न सकेका छैनन्।

करिब १६० हाराहारी स्थानीय तहहरुले पूर्ण वा आंशिक रुपमा मात्रै जग्‍गा वर्गीकरण गरेका छन्।

सरकारले समयवृद्धि गर्ने निर्णयसँगै समय बढी लागेपनि अहिले तत्काललाई सुरु नापी हुँदा वा पुन: नापी हुँदा खेततर्फ अब्बल, दोयम, सिम र चाहार छ भने कृषि क्षेत्रको मान्यता दिँदै वर्गीकरण गर्ने निर्णय गरेको छ। यस्तै पाखो तर्फको सिम र चाहार जग्गा खेती नहुने भएकाले यस्ता जग्गालाई आवास क्षेत्र मानेर सोही अनुसार कित्ताकाट गर्न पाउने निर्णय गरेको छ।

पछिल्लो समय नापी हुँदा सहरी र कृषि क्षेत्र अनुसार भएको भन्दै सरकारले सहरी क्षेत्र अनुसार नापी भएकोलाई आवास क्षेत्र मान्ने निर्णय गरेको छ। तर, यो व्यवस्था वर्गीकरण नहुँदासम्मका लागि दिइने छ। कृषि क्षेत्रको हकमा भने कृषि क्षेत्रकै रुपमा वर्गीकरण गर्ने सरकारको निर्णय छ।

सरकारले जग्गा वर्गीकरण गर्न स्थानीय तहहरुलाई लामो समय दिँदा वर्गीकरण नहुने हो कि भन्ने चिन्ता रहेको भन्दै नियमावली संशोधन भएको मितिले १ वर्ष हाराहारी म्याद थपिएको बुझिएको छ।

चैत २७ गते पोखराका व्यवसायीहरुसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जग्गा वर्गीकरण सम्बन्धी नियम व्यवहारिक नभएको भन्दै कित्ताकाट खुलाउने विषयमा सरकारले सोचिरहेको बताएका थिए।

घरजग्गामा ठूलो धनराशि फसेको भन्दै प्रधानमन्त्री प्रचण्डले घरजग्गा कारोबारलाई सहज बनाउन आवश्यक निर्णय लिने व्यवसायीसँग वाचा गरेका थिए। प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्‍बाट यसबारे छिटो आवश्यक निर्णय लिने प्रतिबद्धताअनुसार मंगलबारको क्याबिनेटबाट कित्ताकाट सरलीकरण गरेका हुन्।