ट्‍वीटरका प्रयोगकर्तालाई मस्कले दिए अनलाइन ट्रेडिङको अवसर, सेयर र क्रिप्टो किनबेच गर्न सकिने

बिजमाण्डू
२०८० बैशाख १ गते १०:३३ | Apr 14, 2023
ट्‍वीटरका प्रयोगकर्तालाई मस्कले दिए अनलाइन ट्रेडिङको अवसर, सेयर र क्रिप्टो किनबेच गर्न सकिने

काठमाडौं। ट्‍वीटरले आफ्ना प्रयोगकर्ताहरूलाई अनलाइन ट्रेडिङ कम्पनी इटोरोबाट सेयर, क्रिप्टोकरेन्सी लगायत अन्य वित्तीय सम्पत्तिहरू किनबेच गर्ने सुविधा दिने भएको छ। 

Tata
GBIME
Nepal Life

बिहीबारबाट ट्‍वीटर एपमा लञ्च गरिएको नयाँ फिचरमार्फत प्रयोगकर्ताले सेयर, क्रिप्टो लगायतका विभिन्न वित्तीय उपकरणको मार्केट चार्टहरू हेरेर सेयर तथा अन्य सम्पत्तिहरू किनबेच गर्न सक्नेछन्।

हालसम्म ट्‍वीटरमा एसएण्डपी ५०० जस्ता एन्डेक्स फण्ड र टेस्ला जस्ता कम्पनीहरूको सेयरहरूको रियल टाइम ट्रेडिङ डाटा ट्रेडिङ भ्युबाट हेर्न मिल्छ। ट्‍वीटरको ‘क्यासट्याग्स’ फिचरमार्फत प्रयोगकर्ताहरूले यो सुविधा प्रयोग गर्न सक्छन्।

एपमा टिकर सिम्बोल सर्च गरेर त्यसको अगाडि डलरको चिन्ह राखेपछि एपले एपीआई (एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) प्रयोग गरेर  ट्रेडिङ भ्युबाट सेयरका मूल्यहरू देखाउँछ।

इटोरोसँगको साझेदारीपछि, ट्‍वीटर क्यासट्यागहरूले अब अझ धेरै स्टक, क्रिप्टो लगायतका विभिन्न वित्तीय उपकरण तथा सम्पत्तिका अन्य क्षेत्रहरुको कारोबारलाई समेट्नेछ। ट्‍वीटर प्रयोगकर्ताले अब सिधै ‘भ्यु अन इटोरो’ नामक बटनमा क्लिक गरेर इटोरोको साइटमा गई सेयर खरिदबिक्री गर्नसक्छन्। 

इलन मस्कले गत वर्ष ४४ अर्ब डलरमा यो प्लाटफर्म खरिद गरेपछि गरेको निर्णयहरूमध्ये यो साझेदारी ट्‍वीटरका लागि दुर्लभ सम्झौता हो।

मस्कले ट्‍वीटरलाई एक ‘सुपर एप’ मा परिणत गर्नुलाई आफ्नो मिसन बनाएका छन्, जसले प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जालको फिचरसँगै वित्तीय सेवाहरू पनि प्रदान गर्ने योजना छ। 

इटोरो इजरायलमा सन् २००७ मा स्थापित भएको एक अनलाइन ब्रोकरेज सर्भिस हो जसमार्फत प्रयोगकर्ताहरूले स्टक, क्रिप्टोकरेन्सी र इन्डेक्स फण्डहरू खरिदबिक्री गर्न सक्छन् ।

कम्पनीको युरोप, एसिया र अमेरिकामा ३ करोड २० लाखभन्दा बढी आधिकारिकरूपमा दर्ता भएका प्रयोगकर्ताहरू छन्। (एजेन्सीको सहयोगमा)