एक वर्षमा ७ अर्ब डलरभन्दा बढीको आईफोन एसेम्बल गर्दै भारत, उत्पादन तीन गुनाले बढ्यो

बिजमाण्डू
२०८० बैशाख १ गते ०९:५३ | Apr 14, 2023
एक वर्षमा ७ अर्ब डलरभन्दा बढीको आईफोन एसेम्बल गर्दै भारत, उत्पादन तीन गुनाले बढ्यो

काठमाडौं। एप्पलले भारतमा गत वर्ष मार्चदेखि यस वर्षको मार्च महिनासम्म सात अर्ब अमेरिकी डलर भन्दा बढी बराबरको आईफोन एसेम्बल गरेको छ। ब्लूमबर्गको रिपोर्ट अनुसार कम्पनीले यस अवधिमा भारतमा आफ्नो उत्पादन तीन गुना बढाउन सफल भएको छ। 

Tata
GBIME
Nepal Life

एप्पलले अहिले फक्सकन टेक्नोलोजी ग्रुपदेखि पेगाट्रोन कर्पोरेसनका साझेदारहरूमार्फत कुल आईफोन उत्पादनको लगभग सात प्रतिशत भारतमा उत्पादन गर्छ। यो भारतको लागि महत्त्वपूर्ण छलांग हो। दुई वर्ष अघिसम्म एप्पलले भारतमा केबल एक प्रतिशत आईफोन मात्रै उत्पादन गर्थ्यो।

वासिङ्टन र बेइजिङबीचको तनाव बढ्दै गएपछि एप्पलले चीनमाथिको आफ्नो निर्भरता घटाउने उपायहरू खोजिरहेको छ। अझ गत वर्ष लकडाउनका कारण चीनको जेन्जाउमास्थित फक्सकन प्लान्टमा कामदारको हडतालका कारण एप्पलको आपूर्ति श्रृंखला प्रभावित भएको थियो। 

विश्वको सबैभन्दा ठूलो आइफोन सप्लायर फक्सकनले गत वर्षमा द्रुत गतिमा एसेम्बली लाइनहरू चीन बाहिर विस्तार गर्दै आएको छ।

यसै समयमा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न इन्सेन्टिभस घोषणा गरे। जसले अन्ततः भारतमा नयाँ म्यानुफ्याचरिङ इकाईहरू स्थापना गर्ने कम्पनीहरूको लागि  उत्पादन लागत घटाउँछ। मोदीको यस कदमले पनि धेरै बहुराष्ट्रिय कम्पनीहरूलाई भारततर्फ आकर्षित गरेको हो।

कुल उत्पादन मध्ये, एप्पलले यस मार्चसम्म पाँच अर्ब अमेरिकी डलर बराबरको आईफोन निर्यात गरेको छ। यो अघिल्लो अवधिको तुलनामा झन्डै चार गुना बढी हो। 

एप्पलले अबको आईफोन उत्पादन चीन र भारतमा रहेको प्लान्टमा एकैसाथ सुरू गर्न सक्ने भनिएको छ। यदि त्यसो हुने हो भने दुई देशमा एकैसाथ आईफोन एसेम्बली सुरु भएको यो पहिलो पटक हुनेछ। 

र यदि एप्पलले आफ्नो आक्रामक विस्तार जारी राख्यो भने एप्पलले सन् २०२५ सम्म भारतमा कुल आईफोन उत्पादनको एक चौथाई उत्पादन गर्न सक्छ। 

गत वर्षको ‘आईफोन सिटी’मा भएको दङ्गा अघि पनि, एप्पलले यसको आपूर्ति श्रृंखला विविधीकरण गर्ने आवश्यकता महसूस गरेको थियो। सोही अनुसार एप्पलले फक्सकन टेक्नोलोजी ग्रुप, पेगाट्रोन कर्पोरेसन तथा विसट्रन कर्पोरेसनलाई भारतमा उत्पादन सुरू गर्न लगायो।

एप्पलका यी तिनै सप्लायरहरूले भारतमा करिब ६० हजार कामदारहरू मिलेरआइफोन ११ देखि नयाँ आइफोन १४ सम्मका मोडलहरू उत्पादन गर्दै आएका छन्।

चीनबाट भारतमा विस्तार भएको आईफोन उत्पादनले भारतको लागि आर्थिक विजयलाई प्रतिनिधित्व गर्दछ।

एप्पलले आगामी हप्ता भारतको मुम्बई तथा राजधानी नयाँ दिल्लीमा आफ्नो पहिलो दुई रिटेल स्टोर खोल्नेछ। उक्त स्टोरहरूको उद्घाटन गर्न एप्पलका प्रमुख कार्यकारी टिम कुक नै भारत आउनेछन्। (एजेन्सीको सहयोग)