ब्याजदर कटौती हुने भएपछि लगानीकर्ता बजारमा निर्धक्क छिरे, असारपछिकै ठूलो फड्को

बिजमाण्डू
२०७९ चैत्र २९ गते १५:२० | Apr 12, 2023
ब्याजदर कटौती हुने भएपछि लगानीकर्ता बजारमा निर्धक्क  छिरे, असारपछिकै ठूलो फड्को


काठमाडौं। बैंकहरुले वैशाखमा पुनः ब्याजदर कटौती गर्ने भएपछि चैत मसान्तको चापलाई पनि उछिनेर सेयर बजारले फराकिलो फड्को मारेको छ। बुधबार बैंकर्स संघले नयाँ वर्षबाट निक्षेपको ब्याजदर घटाउने निर्णय गर्‍यो।

Tata
GBIME
Nepal Life

बैंकर बैठककै चरणमा हुँदा बजार बढ्न सुरु गरिसकेको थियो। निर्णय सार्वजनिक भएपछि बजारको वृद्ध झनै तीव्र रह्यो। जानकारहरु पनि बजार माथि धकेलिनुमा ब्याजदरले प्रमुख भूमिका खेलेको बताउँछन्। 

बैंकरले मुद्दतीको मात्रै नभएर बचत, कल खाता र संस्थागत निक्षेपको पनि ब्याजदर घटाएका हुन्। मुद्दती ९.९९ मा झरेको छ। यसले बैंकहरुको लागत सस्तिएर कर्जाको ब्याज पनि घट्छ।

बुधबार सेयर बजारले ९२.२२ अंकले बढेर १९६३.५५ को विन्दुमा उक्लिएको छ। गत असार १२ यता यति फराकिलो अन्तरले बजार बढेको थिएन। सूचक अप्रिल सुरु भएयताकै उच्चतम विन्दुमा कायम छ। नभए अप्रिल लागेपछि बजार १९ सयभन्दा तल नै खेलिरहेको थियो। तेस्रो त्रैमास पनि नजिँकिदा बजारमा ब्याज भुक्तानी लगायतले दबाब बनाइरहेको थियो।

तर, सोमबारदेखि भने बजारले हरियाली कायम गरिरहेको छ। निजी क्षेत्रलाई आश्वासन दिँदै प्रधानमन्त्री र अर्थमन्त्रीले ब्याजदर निश्चित रुपमा घटाउने भनेपछि सेयर लगानीकर्ताको मनोबल उचालिएको थियो। न्यूनतम साझा कार्यक्रममा पनि सरकारले ब्याजदर बारे गम्भीर टिप्पणी गरेको हो।

त्यसअघि भने नयाँ अर्थमन्त्रीका रुपमा डा. प्रकाशशरण महतले उद्यमी, व्यवसायी, लगानीकर्ता, नियामक लगायतसँग भेटेर मनोबल बढाउन खोजे पनि त्यसलाई नपत्याइँदा बजार ओरालो लागिरहेको थियो। अर्थमन्त्रीबाट विष्णुप्रसाद पौडेल बाहिएर पछि बजार निरन्तर घट्दो छ।

तर ब्याजदर घटाउन प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरको संयुक्त पहल अघि बढेपछि बजार बढ्न थालेको हो। पौडेल बाहिरिएपछि अर्थमन्त्रालय र राष्ट्र बैंकको सम्बन्धमा लगानीकर्ताको संशय बढ्दा मनोबल खुम्चिएको थियो। 

तर, सोमबार निजी क्षेत्र, प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसँगै एकै बैठकमा थिए। जहाँ ब्याजदर घटाउने विषयमा सबैले पहल गरेका हुन्। र गभर्नर पनि यसका सकारात्मक थिए। जस लगत्तै बजारमा वृद्धि अनुभव गरिएको थियो।

त्यसैलाई पछ्याउँदै मंगलबार बजार दोहोरो अंकले उक्लियो। सँगै बाह्य क्षेत्रको सन्तोषजनक सुधारमा प्रतिक्रिया सकारात्मक रह्यो। बजार बुधबारसम्म १२४.५१ ले अंक उक्लिसकेको छ। राष्ट्र बैंकका अनुसार महंगी दर घट्दो छ भने शोधानान्तर बचत झन्डै डेढ खर्ब पुगेको छ। रेमिट्यान्स खर्ब अधिक भित्रिने क्रम जारी छ भने विदेशी विनिमय सञ्चितिले साढे ९ महिनाको आयात धान्न सक्छ।

समष्टिगत सूचकांकहरुको उत्साहप्रद तथ्यांकले सेयर लगानीलाई प्रोत्साहन गरेको समीक्षकहरुको धारणा छ। ‘आन्तरिक व्यवस्थापन कमजोर देखिए पनि बाह्य क्षेत्रको सुधार आशावादी देखिन्छ,’ ती जानकारले भने,’ निजी क्षेत्र र सेयर बजारको टाउको दुखाइरहेको ब्याजदर पनि घट्ने भएपछि अब राहत छ।’ 

हिजै पत्रकारहरुको सम्मेलनमा राष्ट्र बैंकका गभर्नरले पनि अर्थतन्त्रको सुधार सन्तोषजनक रहेको बताएका हुन्। उनले अनुकूल अवस्थामा रहेको बाह्य क्षेत्रलाई क्रमशः महसुस हुँदै पनि जाने टिप्पणी गरेका थिए।

अर्कोपट्टि न्यूनतम साझा कार्यक्रममा पनि अर्थतन्त्रको सुधारलाई प्राथमिकता दिइने भनिएको छ। सरकारले पुँजीगत खर्चलाई पनि बढाउने चाहना जाहेर गरेको हो। यसै दौरान निर्माणव्यवसायीलाई दिन बाँकी रकम पनि भुक्तानी गर्ने लक्ष्य सरकारले लिएको छ। जसले अर्थतन्त्र चलायमान हुनुका साथै बजारमा पनि थप पैसा भित्रिन्छ। तरलतामा सुधार हुन्छ। 

बजारको तीव्र वृद्धिपछि लगानीकर्ताको सक्रियता पनि ह्‍वात्तै बढेको छ। अन्योल हुँदा बजारमा कारोबारै हुन छाडेको थियो। ७० करोडसम्म झरिसकेको कारोबार रकम बुधबार १ अर्ब ९७ करोड नाघेको छ।