
काठमाडौं। अटो व्यवसायीहरुले सवारीसाधनको स्पेयर पार्ट्सको चोरीपैठारी निकै बढेको भन्दै त्यसलाई रोक्न सरकारसँग माग गरेका छन्।
अटोमोबाइल क्षेत्रमा देखिएका समस्याको विषयमा अटो व्यवसायीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरेर छलफल गरेका हुन्। नाडाका अनुसार अर्थमन्त्री महतले आफू अप्ठेरो परिस्थितिमा आएको बताउँदै अटोमोबाइल व्यवसायीहरुको समस्याको सम्बोधन गर्ने बताए। उनले नेपाल राष्ट्र बैंकसंग सल्लाह गर्ने बताए।
साथै, कुन कुन विषयहरुमा अटोमोबाइल व्यवसायीहरुलाई समस्या परेको छ त्यसबारे आउँदो बजेट सुझावमा समावेश हुनेगरी पठाइ दिन आग्रह गर्दे अर्थमन्त्री महतले त्यसको समाधानका लागि प्रयास गरिने आश्वासन दिएका छन्।
अर्थमन्त्री महतले अटोमोबाइल व्यवसायीहरुले विद्युतीय सवारीसाधनको उत्पादन र बिक्रीमा यथोचित ध्यान दिनका लागि आग्रह समेत गरेको नाडाले जनाएको छ।
यसैगरी, नाडाका अध्यक्ष ध्रुव थापाले विद्युतीय सवारीसाधनहरुको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन अनुरोध गरेका छन्।
अध्यक्ष थापाले सवारीसाधनहरुलाई सरकारले विलाशीताको वस्तुमा वर्गीकरण गरी सोही अनुरुप नीतिहरुको निर्माण भइरहेको गुनासो गर्दे सो वर्गीकरणबाट हटाउन समेत आग्रह गरेका छन्। अध्यक्ष थापाले अटो लोन-हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने बताए। यसअघि भएको ७५ प्रतिशत नै कायम गरिनुपर्ने उनको भनाइ छ।
उनले भाडामा चल्ने सार्वजनिक महत्वका सवारीसाधनहरु सर्वसाधरणले प्रयोग गर्ने र त्यसले उनीहरुको दैनिक जीवनमा समेत प्रभाव पार्ने भएकोले त्यस किसिमका भाडामा चल्ने सार्वजनिक महत्वका सवारीसाधनहरुमा लाग्ने भन्सार तथा अन्तःशुल्क महसुल घटाउन आग्रह गरे।
छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सार्वजनिक महत्वका सवारी तथा ढुवानीका सवारीसाधनहरु डिजलबाट चल्ने र हाल डिजलको भाउ उच्च विन्दुमा पुगेको कारण त्यसको नकारात्मक प्रभाव बजारमा परेको बताए। उनले डिजलबाट चल्ने सवारी तथा ढुवानीका साधनहरुमा लाग्ने महसुल घटाउन समेत आग्रह गरेका छन्।