बजारमा फराकिलो गिरावट: अर्थमन्त्रीको हातमा छैन समाधान, गभर्नरले नचाहेसम्म मनोबल कमजोर

अन्जना सुवेदी
२०७९ चैत्र २६ गते १५:३३ | Apr 9, 2023
बजारमा फराकिलो गिरावट: अर्थमन्त्रीको हातमा छैन समाधान, गभर्नरले नचाहेसम्म मनोबल कमजोर

काठमाडौं। चैत मसान्तको ब्याजको दबाब र कर तिर्नुपर्ने बाध्यताको असर सेयर बजारमा पर्न थालेको छ। नयाँ अर्थमन्त्री आएदेखि नै नकारात्मक देखिएको बजारलाई चैत मसान्तले थप तल झारेको हो।

Tata
GBIME
Nepal Life

साताको पहिलो दिन बजार २८.३१ अंकले घटेर १८३८.४८ अंकमा सीमित भएको छ। आइतबार बजार खुलेदेखि नै सूचक ओरालो लागेको थियो। गत असोज ११ गतेयताकै सबैभन्दा कमजोर बिन्दुमा बजार आइपुगेको हो।

लगानीकर्ताका अनुसार, सेयर बजार निरन्तर रातो हुनुको प्रमुख कारण तरलता र ब्याज दर नै हो। नयाँ अर्थमन्त्रीका रुपमा कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले उद्यमी, व्यवसायी, लगानीकर्ता, नियामक लगायतसँग भेटेर मनोबल बढाउन खोजे पनि त्यसलाई नपत्याइँदा बजार ओरालो लागेको हो।

‘अब म यस्तो गर्छु र उस्तो गर्छु भनेर हुनेवाला केही छैन। मुख्य कुरो भनेको अहिलेसम्म बोलेको कुरा गरेर देखाउनु पर्छ,’ ती लगानीकर्ताले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो क्याबिनेटबाट गरेको निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन। अनि किन पत्याउँछ कसैले?’

गत पुस २६ गते २२७७ बिन्दुबाट घट्न सुरु गरेको बजार हालसम्म सकारात्मक हुन सकेको छैन। विष्णु पौडेल अर्थमन्त्री हुँदा सुरुवाती दिनमा बजार बढेको थियो, राष्ट्रपति निर्वाचनमा माओवादी-एमालेबीचको लफडाले सरकार संकटमा पर्छ भन्ने सन्देश गएपछि बजार ओरालो लाग्न थालेको थियो।

लगानीकर्ताका अनुसार, सेयर बजारको मनोबल उच्च पार्ने एउटै मात्र उपाय छ- ब्याज दरमा कटौती।

ब्याज दर कटौती गर्ने दुई वटा उपाय छन्- एउटा सरकारले खर्च बढाएर, अर्को नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु घटाएर।

सरकार आफैं ऋण लिएर कर्मचारी पाल्न बाध्य छ, त्यसैले उसले विकास निर्माण लगायतका क्षेत्रमा खर्च गर्ने अवस्था छैन, जसले गर्दा सरकारी पक्षबाट ब्याज घटाउन गाह्रो छ।

राष्ट्र बैंकले पनि तत्कालै ब्याज घटाउन सक्छ। उसले माथि रहेको नीतिगत दरहरु तल झार्ने र तरलतासँग सम्बन्धित केही मौद्रिक औजारहरु खुला गर्ने हो भने ब्याज घट्छ।

फरक दल र आस्था भएका कारण गभर्नर महाप्रसाद अधिकारीले सरकारलाई सहयोग गरिरहेका छैनन्। यसअघि अर्थमन्त्री भएका विष्णु पौडेल समान आस्था भएको र एउटै दल भएका कारण अधिकारीले सघाएका थिए। पौडेल आउँदा बजार बढेको थियो।

महत कांग्रेसको, सरकारको नेतृत्व माओवादीको छ। अधिकारीलाई एमालेले गभर्नर बनाएको हो। त्यसो हुँदा ब्याज दर घटाएर सरकारलाई सहयोग गर्ने पक्षमा उनी छैनन् भन्ने विश्लेषण बलियो हुँदा सेयर बजारको मनोबल कमजोर भएर गएको ती लगानीकर्ता बताउँछन्।

बजार फराकिलो अंकले घट्नुको अर्को कारण उयद्यमी व्यवसायीलाई चुनाव लागेको छ। नेपाल उद्योग वाणिज्य महासंघको चुनावी अधिवेशन चैत २९ देखि काठमाडौंमा हुँदैछ। सबै जिल्ला र नगरका उद्यमी व्यवसायी अहिले काठमाडौंमा छन्। उनीहरुको ध्यान अहिले चुनावी रणनीतिमा छ। यसले पुँजी बजार प्राथमिकताबाट टाढा पुगेको छ।

अर्को भनेको चैतमा बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने ब्याज र सरकारलाई बुझाउनु पर्ने करको दबाब हो।

बैंक तथा वित्तीय संस्थाले मसान्त नजिकिँदै गर्दा ऋणीलाई पैसा तिर्न दबाब दिइरहेका छन्। बैंकको ऋण तिर्ने दबाबमा लगानीकर्ताहरु सेयर घटेर बिक्री गरिरहेका छन्। सरकारलाई राजस्व तिर्न पनि सेयर बिक्री गर्नु परिरहेको छ। दोहोरो चेपुवामा परेर सेयर बेच्दा पनि सूचक ओरालो लागेको हो।

साताको पहिलो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूहमा बिक्रीको दबाब उच्च थियो। लामो समयसम्म पनि बजार सुधार नहुने संकेत देखिएपछि निरास बनेका लगानीकर्ता बिक्रीमा सक्रीय देखिएका हुन्।

आज सबैभन्दा बढी प्रभावित हाइड्रोपावर उपसमूह हो। सूचक २.३५ प्रतिशत घटेको छ।

वाणिज्य बैंक उपसमूह १.२६ प्रतिशत, विकास बैंक १.८० प्रतिशत, फाइनान्स १.७६ प्रतिशत तथा माइक्रोफाइनान्स १.३२ प्रतिशतले घटेका छन्। सबैजसो उपसमूह रातो भएका छन्।

सस्तो मूल्यमा सेयर बिक्री गर्ने बढेका कारण पछिल्लो ४ कारोबार दिनयताकै कारोबार रकम बढी छ। आज दिनभरीमा १ अर्ब १५ करोडको किनबेच भएको छ।

कारोबारका आधारमा नबिल बैंक र शिवम् सिमेन्ट अग्रस्थानमा छन्। यी कम्पनीको आज ५ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कारोबार बढे पनि मूल्य घटेको छ।