
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले तीन जना वरिष्ठ उपाध्यक्षका उम्मेद्वार समेट्ने खाकासहित सर्वसम्मत बनाउन गरिएको प्रयास विफल भएको छ।
ढकालले वरिष्ठ उपाध्यक्षका उम्मेद्वार अन्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठलाई आफ्नै होटल ले हिमालयमा बोलाएर ६ वर्षको अवधिमा तीनै जना वरिष्ठ उपाध्यक्ष बनाउने गरि सहमति तयार पार्ने प्रस्ताव गरेका थिए।
उनले महासंघ अध्यक्षको तीन वर्षको कार्यकाल दुई वर्षमा झार्ने र ६ वर्षको अवधिमा तीनै जनालाई अध्यक्ष बनाउने सहमतिको प्रयास गर्ने भन्दै सर्वसम्मत नेतृत्वका लागि प्रस्ताव गरेका थिए।
‘अहिले आर्थिक मन्दीमा गुज्रिरहेका बेला हामीले सर्वसम्मत नेतृत्व चयन गरेर अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ यो प्रस्ताव गरेका थिए,’ उनले बिजमाण्डूसँग भने, ‘अहिले हामी लड्ने भन्दा पनि मिलेर समस्या समाधानका लागि क्रियाशील हुने बेला हो। सर्वसम्मत भएमा राम्रो सन्देश पनि जाने देखेर यो प्रस्ताव गरेको हो।’
उनका अनुसार अहिले नेतृत्व लिने तीनै जना महासंघका लागि आवश्यक भएकाले समेत यो प्रस्ताव गरेको हो। ‘वरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेद्वारको महासंघमा ठूलो योगदान छ। चुनावमा जाँदा एक जना जित्ने र दुई जना वाहिरिने अवस्था आउँछ,’ ढकालले भने, ‘महासंघलाई चाहिने व्यक्ति वाहिर जानु हुँदैन भनेर पनि यो पहल गरेको हो।’
यो प्रस्तावप्रति तीनै जना उम्मेद्वारले सहमति जनाएपनि पहिलो वरिष्ठ उपाध्यक्ष भने आफू हुनुपर्ने दाबी गरेका थिए। तीनै जनाले पहिलो दाबी गरेका कारण सहमति हुन नसकेको हो। तर ढकाल पहिलो बैठकमा सहमति नभएपनि आशावादी छन्। ‘पहिलो बैठकमा तीनै जना उम्मेद्वार बैठकमा बस्नुभयो। चैत २७ गतेसम्म उम्मेद्वार फिर्ता लिनसक्ने अवस्था छ,’ उनले भने, ‘त्यो बेलासम्म सहमति हुनेमा म धेरै नै आशावादी छु।’
पौने दुई घण्टा भएको छलफल सौहार्दपूर्ण रहेको थियो। महासंघको वरिष्ठ उपाध्यक्षका लागि अन्जन, रामचन्द्र र उमेशलालले छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा होमिएका छन्।