प्रभुका ४ वटा हेलिकोप्टर २६ करोड रुपैयाँमा बिक्री, बेलायती कम्पनीले किन्यो



२०७९ चैत्र १३ गते १८:३८
प्रभुका ४ वटा हेलिकोप्टर २६ करोड रुपैयाँमा बिक्री, बेलायती कम्पनीले किन्यो


काठमाडौं। प्रभु हलिकोप्टरले ४ वटा रोविन्सन हेलिकोप्टर २६ करोड ३३ लाख रुपैयाँमा बिक्री गरेको छ। प्रभुले बेलायतको हेलि सर्वलाई चार वटा हेलिकोप्टर बिक्री गरेको हो।

Tata
GBIME

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले ४ वटा हेलिकोप्टर बिक्री गरेको जानकारी दिए।

‘हामीले चारैवटा हेलिकोप्टर बेलायतको कम्पनीलाई विक्री गरेका हौं। करिब करिब सबै प्रक्रिया सकिएको छ। यी हेलिकोप्टर भोलि नै रिलिज हुनेछन्,’ अध्यक्ष भट्टचनले भने,’यो हेलिकोप्टर २० लाख अमेरिकी डलरमा विक्री गरेका हौं।’

कम्पनीले विक्री गरेको चार मध्ये तीनवटा हेलिकोप्टर ब्राण्ड न्यू खरिद गर्दा ९८ हजार डलरमा खरीद गरेको थियो। हाइ अल्टिच्युड उडानमा क्षमता कम रहेका कारण कम्पनीले यी हेलिकोप्टर विक्री गरेर एयरबस ल्याउन लागेको छ।

उनका अनुसार रोविन्सनले १२ हजार फीट भन्दा कम उचाईमा मात्र उडान गर्दै आएको थियो।

कम्पनीले निकट भविष्यमा एयरबस एएस ३५०-बी थ्री इ सिरिजका दुई वटा हेलिकोप्टर किन्ने योजना बनाएको छ। ६ महिनाभित्रै कम्पनीले एउटा एयरबस हेलिकोप्टर किन्नेछ।

रोविन्सन कम्पनीका चार सीट (तीन यात्रु र एक क्याप्टेन) क्षमताको आर-४४ सिरिजको हेलिकोप्टरको उचाइ क्षमता आठ हजार मिटर मात्र रहेको छ। चारवटा बिक्री भएपछि कम्पनीसँग एउटा एयरबस र एउटा रोविन्सन आर-६६ सिरिजको हेलिकोप्टर बाँकी हुनेछ।

मुक्तिनाथ हेलकोप्टर खरिद गरेर सन् २०१५ मा स्थापना भएको कम्पनीसँग सुरुमा एउटा रोविन्सन हेलिकोप्टर थियो। कम्पनीले सन् २०१६, २०१७ र २०१८ मा क्रमशः १,१ र २ वटा गरी चारवटा रोविन्सन खरिद गरी हेलिकोप्टर संख्या पाँच पुर्‍याएको थियो।

पाँचमध्ये कम्पनीले हालका लागि सन् २०१८ मा  किनेको एउटा रोविन्सन हेलिकोप्टर भने चलाउने योजना बनाएको छ।