
काठमाडौं। नेपाल राष्ट्र बैंकले लघुवित्तहरुमा सेयर खेलाडीहरुको रजाइँ रहेको सार्वजनिक वक्तव्य दिएको छ। तर, साना तथा मझौला कम्पनीहरुमा हुने सट्टेबाजी कम गर्न बनाउने भनिएको एसएमइज प्लाटफर्मबारे धितोपत्र बोर्ड (सेबोन) निष्क्रिय बसेको देखिन्छ।
बोर्डका अध्यक्ष रमेशकुमार हमालले आफ्नो कार्यकालको गौरवशाली योजना अघि सारेको एसएमइज प्लाटफर्मको नियमावली अझै तयार हुन सकेको छैन। माघ २३ गतेको पत्रकार सम्मेलनमा हमालले आउँदो ६ देखि ८ साताभित्र नियमावली पुरै तयार गरेर अर्थ मन्त्रालय स्वीकृतिलाई पठाउने बताएका थिए। तर, झन्डै ७ साता बितिसकेको छ।
यद्यपि नियमावलीले अझै अन्तिम रुप पाउन सकेको छैन। सेबोन प्रवक्ता एवम् कार्यकारी निर्देशक मुक्त्तिनाथ श्रेष्ठका अनुसार नियमावली मस्यौदाको अन्तिम चरणमा छ। ‘कानुन विभागले कानुन महाशाखा र अनुसन्धान विभागको सहकार्यमा नियमावली तयार गरेको थियो। अब सञ्चालक समितिमा पेस हुन बाँकी हो,’ श्रेष्ठले भने, ‘ठ्याक्कै यतिबेला सकिएला भनेर निश्चित भन्न सकिँदैन। सर्वसाधारणको राय सुझावका लागि भने सार्वजनिक गरिनेछ। त्यसपछि बल्ल अन्तिम खाका तयार हुनेछ।’
बोर्ड प्रतिक्रियाहीन भए पनि राष्ट्र बैंकले भने लघुवित्तहरुलाई लगाम लगाउन सुरु गरिसकेको छ। उनीहरुले वितरण गर्ने लाभांशदेखि कर्जा परिचालनमा सीमा तोकेको छ। विद्यमान लघुवित्तका व्यवस्थाहरु कडाइका साथ परिमार्जन गरेको हो। जसबारे धितोपत्र बोर्डको औपचारिक प्रतिक्रिया आएको छैन।
निम्न वर्गलाई उकास्ने प्रमुख उद्देश्य छाडेर लघुवित्तहरु सेयर मूल्य उकास्न लागेको राष्ट्र बैंकका अधिकारीहरुको बुझाइ छ। निश्चित एजेण्डासहित सेयर खेलाडीहरु लघुवित्तको सञ्चालक बनेर प्रवेश गरेको राष्ट्र बैंकको ठम्याइ हो। जुन विषयमा बोर्डले तमासे बन्नुको साटो सोझै हस्तक्षेप गर्न सक्थ्यो।
अध्यक्ष हमाल स्वयमले पनि लघुवित्त जस्ता कम कारोबारयोग्य सेयरको मूल्यमा उल्लेख्य उतारचढाव ज्यादै हुने गरेको बताउँदै एसएमइज प्लाटफर्म अपरिहार्य बताएका थिए। तर, योजना अझै सार्थक नहुँदा बोर्ड आफ्नो औचित्यबाट भडकिन थालेको समीक्षकहरु गुनासो गर्न थालेका छन्।
हमालले प्रत्येक समारोहमा ९० प्रतिशत काम सकिएको समेत बताउँदै आएका छन्। तर, प्रतिबद्धताविपरीत असलमा नियमावलीको मस्यौदाले अन्तिम रुप पाएको छैन। ‘बोर्डले बेलैमा यसबारे विचार पुर्याउनुपर्ने थियो। आन्तरिक असमझदारीमा जेलिएको धितोपत्र बोर्डको असक्षमता अहिले राष्ट्र बैंकले औल्याएको छ,’ एक जानकारले बिजमाण्डूसँग भने।
एक समय नेप्सेसँगको मनमुटावका कारण अघि बढ्न नसकेको एसएमइज प्लाटफर्मलाई पछि बोर्डले नै नियम बनाएर लागू गराउने बताएको थियो। स्रोतका अनुसार सेबोनले एक्सचेन्जलाई मेन र एसएमईज बोर्डमा दुई भाग लगाउन थालेको छ। बोर्डले औद्योगिक ऐनलाई समातेर कम्पनीहरुलाई वर्गीकरण गर्ने योजना बनाएको हो। कम्पनीहरुको चुक्ता पुँजी त्यसैले तय गर्नेछ।
‘हाल कारोबार भइरहेका कम्पनीहरुलाई भने नियमावलीले छुँदैन। नियम लागू भएपछि प्राथमिक सेयर निष्कासन गर्ने कम्पनीहरुलाई एसएमइज प्लाटफर्ममा सूचीकृत हुने विकल्प दिने हो,’ स्रोतले भन्यो,’पछि कम्पनीले चाहेको खण्डमा बोर्डमा पनि स्थानान्तरण गर्न सकिनेछ।’
स्रोतका अनुसार यस्ता कम्पनीका संस्थापकदेखि सर्वसाधारणको संलग्नता बारे पनि विशेष व्यवस्था तय हुँदैछ। ड्राफ्ट सकिए लगत्तै बोर्डले नियमावलीमा लगानीकर्ताको परामर्श पनि लिने भएको छ।