पवन गोल्याणको सिटी होटलले एक वर्षपछि पायो आइपीओ अनुमति, जतिसक्दो छिटो सेयर आउने

अन्जना सुवेदी
२०७९ चैत्र ७ गते १७:२४ | Mar 21, 2023
पवन गोल्याणको सिटी होटलले एक वर्षपछि पायो आइपीओ अनुमति, जतिसक्दो छिटो सेयर आउने

काठमाडौं। नेपाल धितोपत्र बोर्डले आवेदन दिएको एक वर्षपछि सिटी होटलले साधारण सेयर निष्कासनको अनुमति पाएको छ।

Tata
GBIME
Nepal Life

बोर्ड अध्यक्ष रमेशकुमार हमालले विभिन्न बहाना बनाउँदै सिटी होटलको आइपीओ रोकेका थिए। हमालले सिटीलगायत एक दर्जन कम्पनीको आइपीओ रोकेर बिचौलिया प्रयोग गर्दै पैसा मागेको सार्वजनिक भएको थियो। त्यो सार्वजनिक भएको झण्डै दुई महिनापछि बोर्डले सिटी होटलको आइपीओ स्वीकृत गरेको हो।

होटलले सेयर निष्कासन तथा बिक्रीको अनुमति माग गर्दै गत वर्षको चैत ३० गते बोर्डमा आवेदन दिएको थियो। कम्पनीले आइतबार आइपीओ स्वीकृत गर्‍यो। बोर्ड अध्यक्ष हमालले वित्तीय विवरणमा समस्या रहेकाले पत्र काटेर प्रष्टीकरण सोधिएको र त्यसको जवाफ आएपछि आइपीओ स्वीकृति दिएको जिकिर गरे।

‘हामीले कम्पनीलाई पत्र पठाएपछि केही महिनाअघि परिमार्जित वित्तीय विवरण पठाएको थियो। त्यही विवरणका आधारमा बोर्डले आइपीओ स्वीकृत गरेका हौं,’ हमालले भने, ‘लगानीकर्तालाई गुमराहमा पार्ने विवरणहरु दिए। जनतालाई झुक्याउन हुन्न र वित्तीय विवरण पारदर्शी बनाउँदा ढिला भएको हो।’

सिटी होटल अन्तर्गत सोल्टीमोडमा हायात प्लेस छ। यो व्यापारिक घराना गोल्याण समूहको हो। यो समूहका अध्यक्ष पवन गोल्याण हुन्। यो होटलले १६ करोड ७४ लाख बराबरको १६ लाख ७४ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजीको १० प्रतिशत सेयर जारी गर्नेछ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा नै बिक्री गर्ने छ। यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ।

कम्पनीका अध्यक्ष गोल्याणले सबै प्रक्रिया पूरा गरेर छिटोभन्दा छिटो सर्वसाधारणमा सेयर जारी गर्ने बताए। ‘बोर्डले आइपीओ स्वीकृत गरेको छ। हामीले सबै प्रक्रिया पूरा गरेर चाँडै नै आइपीओ निष्कासन गर्नेछौं,’ उनले बिजमाण्डूसँग भने, ‘बोर्ड अध्यक्ष र कर्मचारीको सक्रियताले हामी आइपीओ निष्कासन गर्ने अवस्थामा पुगेका छौं।’

५ अर्ब लगानी भएको होटलमा ४ तल्ले भवन संरचनामा १ सय ५३ कोठा छ। दोस्रो तल्लाबाट रुम सेवा सुरु हुने होटलको हरेक तल्लामा एउटा कनेक्टिङ रुम राखिएको छ। होटलमा तीन सुइट, सातवटा टेरियस र बाँकी स्टाण्डर्ड गरी तीन किसिमको रुम छ। लामो समयका लागि भ्रमणमा आउने पर्यटकलाई लक्षित गर्दै होटलमा चारवटा अपार्टमेन्ट पनि समावेश गरिएको छ।

होटलमा ब्रेकफास्ट बार, दक्षिण पूर्वीय एसियाली परिकारका लागि जिङ वर्ल्ड अफ फ्लेभर्स, बार, फिटनेस सेन्टर, स्वीमिङ पुल लगायतको सुविधा छ। होटलको ग्राउण्ड फ्लोरमा रहेको अलफ्रेस्को रेष्टुरेण्टमा भित्र र बाहिर गरी १ सय ८० जनाले एकैपटक सेवा लिन सक्नेछन्।

इभेन्टका लागि होटलमा ५ सय वर्गमिटरको हल छ। होटलको हरेक कोठामा नेपाली परम्परा झल्कने कला समावेश गरिएको छ । हरेक कोठामा प्रयोग हुने साँचो काठको प्रयोग गरिएको छ। फरक क्षमताका ग्राहकहरुलाई मध्यनजर गर्दै होटलका हरेक कोठा नम्बरमा ‘ब्रेल लिपी’ समावेश गरिएको छ।

होटलमा रहेका हरेक धारा (वाटर ट्याप) बाट सिधै पिउने मिल्ने पानीको सुविधाका लागि प्रविधि प्रयोग गरिएको छ। वातावरण प्रदूषण न्यूनीकरणलाई मध्यनजर गर्दै होटलमा प्रयोग गरिने सबै वाटर बोटल काठको प्रयोग गरिएको छ।

कसरी मिल्यो विवाद ?

सिटी होटलले आइपीओ आवेदन दिएको लामो समयसम्म पनि स्वीकृति पाएन। आइपीओ स्वीकृति नभएपछि गोल्याण समूहका अध्यक्ष पवन आक्रोशित बने।

सर्वसाधारणलाई सेयर बेच्नका लागि स्वीकृति माग्दा पनि नदिने भन्दै असन्तुष्टिसमेत बाहिरियो। यो असन्तुष्टिहरु राजनीतिक वृत्तमा समेत पुगे। तर, पनि बोर्ड अध्यक्ष हमाल टसमस भएनन्।

गोल्याणको सिटी होटल मात्रै होइन अरु एक दर्जन कम्पनीले पनि स्वीकृति पाएनन्। उल्टै आइपीओ निकाल्नका लागि ठूलै रकम बार्गेनिङ भएको सूचना बाहिरियो। यो सूचना बाहिरिएपछि बोर्ड अध्यक्ष हमालले आफूले कसैसँग पैसा नमागेको भन्दै टकटकिए।

तर, उनको कम्पनीमा काम गर्ने कर्मचारी मुछिएपछि विष्णु पौडेलको निर्देशनमा अर्थसचिव तोयम रायाले मौखिक स्पष्टीकरण लिए। यो सबै विवादपछि हमाललाई ब्याकअप गर्ने समूह र गोल्याणबीच ठूलै विवादको रुप पनि लियो। गोल्याण माथि केही धाकधम्की पनि नआएका होइनन्।

तर, गोल्याण पनि राजनीतिक ब्याकअप राम्रै रहेको र अरु व्यापारिक घरानाको पनि साथ रहेकाले टसमस भएनन्। यो विवाद बढ्दै जाँदा समस्या हुने देखेपछि गोल्याणका व्यापारिक साझेदार र हमालबीच सहमतिको वातावरण तयार भयो। त्यसपछि यो होटलले आइपीओ निष्कासनको अनुमति पाएको हो।

सेयर बजारमा अरु होटलको अवस्था कस्तो छ ?

कारोबारमा आएका तारे होटलहरुलाई हेर्दा लगानीको प्रतिफल र चुनौती दुवै देखिन्छ। हालसम्म नेप्सेमा धितोपत्र दोस्रो बजारमा तीनवटा तारे होटल कम्पनी सूचीकृत भएका छन्। सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल लिमिटेड (हायात) र ओरियन्टल होटल लिमिटेड (र्‍याडिसन) होटल सूचीकृत छन्।

यी होटलमध्ये सोल्टी होटलले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २५ करोड १४ लाख नाफा कमाएको छ। सो समयसम्म कम्पनीको प्रति सेयर आम्दानी २.९८ रुपैयाँ छ भने दोस्रो बजारमा प्रति कित्ता २२६ रुपैयाँका दरले कारोबार भइरहेको छ। यो कम्पनीले पछिल्लो १० आर्थिक वर्षयता लगानीकर्ताहरुलाई २१ देखि ५७ प्रतिशतसम्म लाभांश वितरण गर्दै आएको छ।

तारागाउँ रिजेन्सीको चालु आर्थिक वर्षको पुस मसान्तसम्म १० करोडमाथि नाफा कमाएको छ। पुस मसान्तको तथ्यांकअनुसार प्रति सेयर आम्दानी ५.६६ रुपैयाँ र प्रति सेयर नेटवर्थ १३३.०८ रुपैयाँ छ। यो कम्पनीको कारोबार प्रति कित्ता ४ सय ७६ रुपैयाँमा भइरहेको छ। कम्पनीले पछिल्लो पाँच आर्थिक वर्षमा लगानीकर्ताहरुलाई ७ प्रतिशतदेखि १२ प्रतिशतसम्म लाभांश वितरण गरेको छ।

केही समय अघिसम्म राम्रो प्रतिफल दिने ओरियन्टल होटल यतिबेला सुस्त छ। यो कम्पनीले आर्थिक वर्ष २०७५/७६ यता लगानीकर्तालाई कुनै पनि प्रतिफल दिएको छैन। गत आर्थिक वर्षको पुस मसान्तसम्म होटल ८ करोडमाथि नोक्सानीमा थियो। तर, होटलले चालु वर्षको पुस मसान्तसम्म ३ करोड ६५ लाख खुद नाफा कमाएको छ।

यो अवधिसम्म कम्पनीको प्रति सेयर आम्दानी ३.२४ रुपैयाँ छ भने नेटवर्थ १८० रुपैयाँ छ। होटलले आर्थिक वर्ष २०७५/७५ अघिको ६ वटा आर्थिक वर्षमा लगानीकर्ताहरुलाई १० देखि २६ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो।